धरान /एकाबिहानै सङ्खुवासभा मकालु गाउँपालिका ५ नुमका सूर्यबहादुर पोखरेल बूढासुब्बा मन्दिरमा शतबीज छरेर निस्किए । त्यहाँबाट उनको टोली दन्तकालीतर्फ मोडिँदै थियो । एक हातमा शतबीज र अर्को हातले छर्दै हिँड्दा कमिलाको ताँती झैँ देखिन्थे ।
मार्गशीर्ष अर्थात् मङ्सिर कृष्ण चतुर्दशीमा शतबीज छर्ने पुरानै परम्परा हो । विशेषगरी शिवालय मन्दिरहरूमा शतबीज छरी पितृ उद्धार हुने विश्वास गरिन्छ । पितृको नामको शतबीज छर्ने परम्परालाई धान्न ६० वर्षीय पोखरेलसहित पाँचजनाको टोली विजयपुर क्षेत्रमा ‘शतबीज सर्किट’ लगाइरहेका थिए । शतबीज छरिरहँदा उनीहरूलाई कुनै हतारो थिएन । हाल सुनसरीको इटहरी २० मा बस्दै आएका पोखरेलसहितको टोली प्रातःकालमै उठेर यता आइपुगेको हो ।
पिण्डेश्वर, दन्तकाली, गणेश भीमसेन, बूढासुब्बा, कृष्ण मन्दिर, पञ्चकन्या र नागार्जुन मन्दिरसम्म पुग्दा चारधाम पूरा हुन्छ । यो सर्किटलाई ‘शतबीज सर्किट’को रूपमा विस्तार गरे धरान तीर्थयात्रीका लागि नयाँ धार्मिक गन्तब्य बन्न सक्छ ।
बूढासुब्बा मन्दिरको गेटमा भेटिएका उनले भने, ‘यहाँ त पहिलो पटक आएको हुँ, पहिला पहिला उतैतिर (सङ्खुवासभा) छरिन्थ्यो ।’ उनका अनुसार सुरुमा पिण्डेश्वर, बूढासुब्बा मन्दिर हुँदै दन्तकालीलगायतका मन्दिर पुगेर शतबीज छरी घर फर्किने तयारी गरेका छौँ । बूढासुब्बा मन्दिरको इतिहास त किरात इतिहाससँग जोडिएको छ नि भन्ने प्रश्नमा उनले रमाइलो जवाफ दिँदै भने, ‘भगवान् त सबैको एउटै होलान् नि । सृष्टिकर्ता फाल्टुफाल्टु त छैन नि ?’
पिण्डेश्वर, बूढासुब्बा सर्किटमा तेस्रो पल्ट शतबीज छर्न आइपुगेकी सुनसरी इटहरी ५ पचरुखीकी गीता पराजुलीले भनिन्, ‘हामीले त सबै भगवान्लाई उस्तै मान्छौँ । सधैँ नै यता पनि आएर शतबीज छरेरै जान्छाँै । पिण्डेश्वरबाट सधैँ वर्ष यता घुमिरहेका छौँ ।’ उनका अनुसार पितृको उद्धार हुन्छ भन्ने आशामा आफूहरू आउने गरेका छाँै । ‘पितृको उद्धार हुन्छ भन्ने मान्यता छ । मनमा सन्तोक मात्रै हो । भगवान्को आस्था हो । यसै गरी सधैँ आइरहनु पाऊँ ।’
शतबीज सर्किट उहिलेदेखि नै जारी छ । विजयपुरबासीहरूका अनुसार विजयपुरका सबैजसो मन्दिरमा पुगेर भक्तालुहरूले शतबीज छर्ने गरेका छन् । सुरुमा पिण्डेश्वर मन्दिरमा छरिसकेपछि आआफ्नो टोली अन्य मन्दिरहरूमा पुग्ने गरेका छन् । शतबीज छर्दै गर्दा बाटोमा भेटिएका धरान–१४ बासी खिलानाथ खतिवडाले विजयपुरमा रहेका मन्दिरहरूलाई चारधामको रूपमा लिई उहिलेदेखि नै सबै मन्दिरमा शतबीज छर्ने गरेको बताए । ‘यो अहिलेको चलन होइन । उहिलेदेखि नै यहाँका सबै मन्दिरहरूमा शतबीज छर्ने चलन छ’ उनले भेटमा भने । उनका अनुसार सबैभन्दा सुरुमा पिण्डेश्वर, अनि दन्तकाली, गणेश भीमसेन, बूढासुब्बा, कृष्ण मन्दिर, पञ्चकन्या र नागार्जुन मन्दिरसम्म पुग्दा चारधाम पूरा हुन्छ ।
शतबीज छर्ने भक्तालुहरूले विजयपुर क्षेत्रका मन्दिरहरूमा एउटा सर्किट पूरा गर्छन् । तर, नयाँ आउनेहरू भने पिण्डेश्वर मन्दिरमा मात्रै शतबीज छरेर फर्किने गरेका छन् । कतिपय श्राद्ध गर्न आउनेहरू पनि पिण्डेश्वर मन्दिरमा मात्रै श्राद्ध गरी फर्कने गरेका छन् । पिण्डेश्वर शिवालय मन्दिर भएकाले पनि शिवालय मन्दिरहरूमा शतबीज छरे पितृको उद्धार हुने विश्वास गरिन्छ । उम्रिन योग्य बीजहरूलाई छर्ने गरिन्छ । धरान १४ हात्तीसारकी दिलमाया श्रेष्ठका अनुसार घरमा भएको तुलसीको मोठदेखि शतबीज छर्न सुरु भई सबैभन्दा सुरुमा पिण्डेश्वर हुँदै अन्य मन्दिरहरूमा जाने गरेका छौँ । ‘घरको तुलसीको मोठबाट सुरु गर्छौं, अनि पिण्डेश्वर जान्छौँ, घुम्दै बूढासुब्बा, गणेश भीमसेन, कृष्ण मन्दिरलगायतमा पुगेर अन्त्य गर्ने गर्छौ’ उनले भनिन् ।
२०२६ सालदेखि शतबीज छर्दै आएको अवकाशप्राप्त शिक्षकसमेत रहेका खिलानाथ खतिवडाले बताए । ‘सबैभन्दा सुरुमा पिण्डेश्वरमा छर्छौ । शिवालय हो । पितृहरूको उद्धारको लागि शिवजी नै आशुतोस हुनुभएको भन्ने शास्त्रहरूमा छ’ उनले भने, ‘शतबीजमा उम्रिने चिजलाई मात्रै छरिन्छ । पितृ तथा देवताहरूका लागि गरिएको हो ।’ उनका अनुसार पिण्डेश्वर, दन्तकाली, बूढासुब्बा, गणेशभीमसेन, कृष्ण मन्दिर, बालम्बा मन्दिर, पञ्चकन्या मन्दिर र नागार्जुन मन्दिरमा पुगी अन्त्य गर्दा एउटा सर्किट पूरा हुन्छ । ‘यसलाई चार धामकै रूपमा लिनुपर्छ’ उनी भन्छन् ।