धरान । धरानको रुद्राक्षारण्य क्षेत्र पिण्डेश्वर मन्दिरमा दिवङ्गत पितृको नाममा शतबीज छरिएको छ । मार्गशीर्ष अर्थात मङ्सिर कृष्ण चतुर्दशीका दिन पिण्डेश्वरमा पितृका नाममा शतबीज छरिँदै आएको छ ।
शतबीज छरे पितृहरूको उद्धार हुने विश्वास रहेको शतबीज छर्नका लागि भेटिएका भक्तजनले बताए । धरानको पिण्डेश्वरबाट शतबीज छर्न सुरु गरी दन्तकाली, बूढासुब्बा, पञ्चकन्यालगायतका मन्दिरमा छरिएको छ ।
शतबीज छर्नेहरूले धरानको पिण्डेश्वरदेखि पञ्चकन्या मन्दिरसम्मलाई चारधामको रूपमा लिने गरेका छन् । शतबीज छरे पुनः सृष्टिको उत्पत्ति हुने विश्वास गरिन्छ । पिण्डेश्वरमा आजैका दिन दिवङ्गत पितृको नाममा श्राद्ध लगाउने चलन पनि छ ।
यहाँ कोशी प्रदेशका विभिन्न जिल्लाबाट शतबीज छर्नका लागि आइपुग्छन् । यसका लागि पिण्डेश्वर बाबाधाम समितिले व्यवस्थापन गर्दै आएको छ । विशेषगरी शिवालय मन्दिरहरूमा शतबीज छर्ने प्रचलन पौराणिक कालदेखि हुँदै आएको छ ।
धरानको पिण्डेश्वर समुन्द्र मन्थनबाट उत्पत्ति भएको पिण्डबाट पिण्डेश्वर रहन गएको विश्वास गरिन्छ । यसलाई रुद्राक्षारण्य क्षेत्रका रूपमा पनि जानिन्छ । यहाँ साउनभरि बोलबम पनि लाग्ने गरेको छ ।
तस्बिरहरूः भोजराज श्रेष्ठ