सडक दुर्घटना संसारको पाँच मृत्युका कारकमध्ये एउटामा पर्छ । जसबाट बर्सेनि मानिसहरूले अनाहकमा ज्यान गुमाइरहेका छन् । दुर्घटना न्यूनिकरण गर्न सकिन्छ तर त्यसका लागि राज्य, नागरिक र राज्यका निकायहरू उत्तिकै भूमिकामा रहनु पर्छ । सबैभन्दा बढी जिम्मेवारी नागरिकको नै छ । नागरिक आफू सतर्क रहेर सवारी चलाउने हो भने धेरै हदसम्म दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ । सडक दुर्घटनाका विभिन्न कारणहरू छन् । ती कारणहरूमा सडकको अवस्था, गाडीको अवस्था, चालकको मनोविज्ञान, नागरिकहरूको मनोविज्ञानहरू जोडिएका छन् । यी अवयवकै कारण सडक दुर्घटना न्यूनीकरणको सट्टा बढिरहेको छ । नेपालको सडक दुर्घटनामा सबैभन्दा बढी भूमिका सडक, गाडीको अवस्था र चालकको मनोविज्ञानसँग जोडिएको छ । नागरिकहरूको लापरबाही पनि उस्तै गरी छ । नागरिक सतर्क भइदिने हो भने दुर्घटनालाई धेरै हदसम्म न्यूनीकरण गरेर मृत्यु हुनबाट जोगिन सकिन्छ ।
बर्सेनि हुने सडक दुर्घटनाको तथ्याङ्कले हाम्रो लापरबाहीको सीमा झनै बढेको सङ्केत गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा प्रदेश १ मा ३ सय ३२ जनाले अकालमै ज्यान गुमाएको तथ्याङ्क छ । अघिल्लो वर्ष पनि ३ सय ७३ जनाले दुर्घटनामा परेर ज्यान गुमाएको देखिन्छ । सामान्य कमी आएको देखिए पनि पूर्णतः सुधार भएको देखिँदैन । यो वर्ष चैत ११ देखि सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै लकडाउन गरेको थियो । जसमा झण्डै दुई महिनासम्म निजी सवारीहरू पनि सञ्चालन हुन पाएनन् । सार्वजनिक सवारी त हालै मात्र खुलेको छ तर पनि सडक दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्यामा कमी आएको देखिँदैन । लकडाउनको अवधिमा पनि कुनै न कुनै दुर्घटना भएको देखिन्छ । जसबाट मानवीय क्षति भएको छ । यो समयमा दुर्घटना नहुनु पर्ने हो तर कसरी भयो त ? भन्ने आम प्रश्न बनेको छ । विशेषगरी नागरिकले आफ्नै कमी कमजोरीका कारण अकालमै ज्यान गुमाउनु परेका कारणले लकडाउन भएको वर्षको तथ्याङ्क पनि विगतको तथ्याङ्कभन्दा फरक देखिएन । सबैभन्दा बढी दुर्घटना दुई पाङ्ग्रे सवारी मोटरसाइकल भएको देखिन्छ । यो दुर्घटनालाई विश्लेषण गर्ने हो भने मानवीय कमजोरी नै पहिलो दुर्घटनाको आधार हो । त्यसैले यस्तो दुर्घटना रोक्न स्वयम् आफूबाटै पहल थाल्नुपर्ने देखिएको छ ।
दुर्घटना नियन्त्रण गर्न राज्य मात्रै लागेर नपुग्ने रहेछ भन्ने यो पटकको उदाहरणले नै पुष्टि गरिसकेको छ । लकडाउनमा पनि थुप्रैले ज्यान गुमाउन पुग्नुले यसलाई पुष्टि गर्छ । त्यसैले नागरिक सचेत बन्ने हो भने सम्भावित दुर्घटनालाई रोक्न सकिन्छ । धेरै दुर्घटनाहरू मानवीय कमी कमजोरीले नै हुने गरेका छन् । जस्तोः मादक पदार्थ सेवन गरेर कुदाउने, नियन्त्रणभन्दा बाहिर रहने गरी कुदाउने (ओभर स्पिड), प्रतिस्पर्धा गर्नेलगायतका समस्या छन् । यस्ता विषयलाई नियन्त्रणमा लिनकै लागि सरकारले ट्राफिक प्रहरीलाई खटाएको छ । सडक व्यवस्थापनको लागि जिम्मेवारी पाएको ट्राफिक प्रहरीले जुन रूपमा काम गर्नुपर्ने हो, त्यो अनुरूप काम नभएको यथार्थ हो तर गर्दै नगरेको भन्नु पनि अत्युक्ति हुँदैन । चालक स्वयम् नै सजग हुनुपर्छ । किनकि ज्यानभन्दा ठूलो ओभरस्पिड, प्रतिस्पर्धा हुँदैन । चालकलाई मनोवैज्ञानिक रूपमा नै सचेत गराउनेतर्फ राज्य नलाग्ने हो भने भोलिका दिन दुर्घटना झनै भयावह हुन्छ । किनकि हरेक दिन सवारी बढेका बढ्यै छन् तर सडकको अवस्था बढ्न सकेको छैन । यस्ता विषयमा राज्य गम्भीर हुनु पर्ने देखिन्छ ।