- भूमिराज पराजुली
दमक /
अवस्था १
झापाको दमक–६ स्थित तरकारी बजार । व्यापारी र उपभोक्ताबीच तरकारी किनबेच भइरहेको छ । मोलमोलाइ चलिरहेको छ । तर यहाँ न व्यापारीले न्यूनतम् सुरक्षाका मापदण्ड अपनाएका छन्, न उपभोक्ताले नै ।
बजार खोल्नुपूर्व सरकारले सामाजिक दूरी कायम राख्ने, ग्राहक र व्यापारी दुवैपक्षले अनिवार्य मास्क प्रयोग गर्ने, व्यापारीले हातमा पञ्जा लगाउने, पसल छिर्नुभन्दा अघि अनिवार्य हात धुने व्यवस्था हुनुपर्ने वा स्यानिटाइजरको प्रयोग गराउनु पर्ने लगायतका सामान्य नियम पनि जारी गरेको थियो । तर यी नियम अधिकांश व्यापारी र उपभोक्ताले लागू गरेका छैनन् । केही पसलमा बाहेक झापाको दमकमा कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका लागि उपाय अपनाउन सकिएको छैन ।
अवस्था २
झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमा सर्वसाधारणको खचाखच थेगिनसक्नुको छ । हातमा आ–आफ्नो कागजपत्र बोकेर राजस्व तिर्ने पालो कुर्ने सर्वसाधारणको घुइँचो नै छ । त्यहाँ कर तिर्न आउनेको भीड देख्दा लाग्थ्यो, कोरोनाको भन्दा करको डर थियो सर्वसाधारणमा । लाइसेन्स नवीकरण, वार्षिक कर, ठूला सवारीको पास नवीकरणलगायतका काम गर्न पुगेका सेवाग्राहीको भीडले खचाखच छ यातायात कार्यालय । उहाँ पनि सीमित व्यक्तिहरूको मुखमा मास्क देखिन्छ भने निकै कमले मात्र हातमा स्यानिटाइजर लगाएको देख्न सकिन्छ । कार्यालय प्रवेश गर्ने ठाउँमा औपचारिकताका लागि हात धुने ठाउँ राखिएको छ । तर त्यहाँ न कसैले हात धुन्छन्, न त किन नधोएको भनेर सोध्ने र कडाइ गर्ने नै कोही छ ।
अवस्था ३
दमकस्थित मालपोत कार्यालयको राजस्व बुझाउने फाँट र ढड्डा हेर्ने फाँट । ठेलमठेलको अवस्था । सबैजना हतारमा छन् । अगाडि लाइनमा बस्नेलाई भन्दा पछाडि बस्नेलाई त्यहाँ काम गर्न हतार छ । त्यसैले कुन कुनाबाट आफ्नो फायल कर्मचारीको हातमा पु¥याउन सकिन्छ भन्ने ध्याउन्नमा सेवाग्राहीहरू छन् । कार्यालयको मूल गेटमा मास्क अनिवार्य लगाउनुहोला भन्ने सूचना लेखिएको छ । तर सूचनाको पालना अधिकांशले गरेका छैनन् । मास्क लगाए पनि कसैको मास्क चिउँडोभन्दा तल छ भने कसैको मास्क नाकभन्दा तल छ । अनि कसैले चाहिँ हातमा बोकेका छन् । यहाँ आउने सबैजना मास्क लगाउनु अनिवार्य हो भन्ने जानकार नै छन् । तर जानीजानी पनि प्रयोग गर्दैनन् । जसले गर्दा यहाँ कोरोनाको जोखिम मात्र होइन, अन्य रोगको सङ्क्रमण पनि हुन सक्ने सम्भावना प्रशस्तै छ ।
अवस्था ४
दमक–२ स्थित आम्दा अस्पताल । अस्पतालमा बिरामी र कुरुवाको भीड छ । सामाजिक दूरी कायमै नगरी आम नागरिकको चहल–पहल यथावत् छ । पहिले सामान्य अवस्थामा दैनिक १२ सयदेखि १५ सय सेवाग्राही स्वास्थ्य उपचारका लागि सो अस्पताल धाउने गरेका थिए । हाल सेवाग्राहीको उक्त ग्राफ घटेर ५ सयदेखि ६ सयमा झरेको छ । तुलनात्मक रूपले अस्पतालमा सेवाग्राहीहरूको चाप कम भए पनि भीड गर्ने प्रवृत्तिमा भने परिवर्तन आएको देखिँदैन । सामाजिक दूरी कायम गराउन साङ्केतिक घेरा कोरिएको छ । तर अटेर गर्नेका लागि त्यो घेरा केही पनि होइन । दमक अस्पताल प्रवेश गर्ने बित्तिकै ३ वटा धारामा हात धुने व्यवस्था मिलाइएको छ । तर त्यहाँ निकै कमले मात्र हात धोएर अस्पताल जाने गरेका छन् । मास्क पनि अस्पतालभित्र पस्न मात्र लगाइन्छ । अस्पताल प्रवेश गरिसकेपछि मास्क कि चिउँडोमुनी हुन्छ कि हातमा बडो शानका साथ भिरेको देख्न सकिन्छ ।
लकडाउन खुकुलो भएसँगै आम नागरिकले सामान्य सुरक्षा सतर्कताका विषयहरू पनि अवलम्बन गर्न छाडेका छन् । समय–समयमा २० सेकेण्डसम्म हात धुने, मास्क लगाउने, भीडभाड भएको ठाउँमा नजाने, हात नमिलाउने तथा सामाजिक दूरी कायम गर्ने जस्ता सामान्य सुरक्षा र सतर्कता अपनाए कोरोना सङ्क्रमणबाट बच्न सम्भव छ । तर यसो गर्न नसक्दा आम नागरिक हुँदै समुदायस्तरमा कोरोना फैलिने खतरा बढ्दै गएको छ ।
किन भयो यस्तो ?
सरकारले नागरिकको दैनिकी सहज होस् । काममा जान सबैले पाउन् र आर्थिक क्रियाकलापमा सबै पक्षलाई सहभागी गराउन लकडाउन खुल्ला गरेको हो । पछिल्लो समय विदेशबाट आउने नागरिकको सङ्ख्या उस्तै छ । भारतबाट आउनेको सङ्ख्यामा केही कमी आए पनि तेस्रो मुलुकबाट नियमित रूपमा नेपालीहरू आउने क्रम जारी नै छ । केही दिन क्वारेण्टिनमा बसेर वा कोरोनाको सङ्क्रमण नै देखिएर अस्पतालमा उपचार गराएर निको भएर फर्किनेहरू अहिले समुदायमा सक्रिय रूपमा हिँडडुल गरिरहेका छन् । ती वा तीसँग सम्बन्धित व्यक्तिहरूमा जोखिम कम भएको चाहिँ होइन ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य शाखा प्रमुख डा. सुरेश मेहताका अनुसार क्वारेण्टिनबाट र अस्पतालबाटै निको भएर घर फर्कनु कोरोनाको सबै जोखिम सकिनु नभएको बताउँछन् । तर नागरिकले यसको असर बुझ्न नसकेको कारणले गर्दा जोखिम झन् बढ्न सक्ने सम्भावना रहेको उनी बताउँछन् । आम नागरिकले पनि यो अवधिमा मास्क किन लगाउने, सामाजिक दूरी भनेको के हो, साबुन–पानीले किन हात धुने, कसरी धुने, हेण्ड सेनिटाइजर किन चाहिन्छ भन्ने कुरा मजाले बुझेका छन् । त्यसका लागि मन्त्रालयस्तरबाट पनि कयौं कार्यक्रम भएको र सचेतना जगाइएको डा. मेहताले बताए । तर नागरिकको अटेरिपन र हेल्चेक्र्याइँका कारण अहिले असुरक्षा बढेको हो कि भन्ने ठम्याइ मन्त्रालयको रहेको उनले बताए ।
यसो गरे बच्न सकिन्छ
दमक अस्पतालमा कार्यरत डा. सुरक्षा बास्कोटाले अहिलेको जोखिम न्यूनीकरण गर्न कसले के गर्ने र के नगर्ने भन्नेबारेमा फरक धारणा राखेकी छन् । उनका अनुसार उपभोक्ताले बजारमा किनमेल गर्न जाँदा घरबाटै योजना बनाएर मात्र निस्कनु पर्छ । आफूलाई चाहिने सामग्रीको सूची घरैमा बनाउने । बजार पुगेर जे पाउँछ, त्यो किन्छु भन्ने सोच राख्न नहुने उनी बताउँछिन् । किनकी बजारमा धेरैबेर अलमल गर्ने अवस्था नभएकोले आफूलाई आवश्यक सामान निश्चित पसल वा बजारमा गएर खरिद गरेर फर्किहाल्ने गर्नुपर्छ ।
बजार जाँदा अनिवार्य मास्क लगाउने । सकेसम्म क्यास लेस कारोबार गर्ने । प्रविधिको जमाना भएकोले अनलाइन पेमेण्टलाई बढी भन्दा बढी प्रयोगमा ल्याउने । सामान छान्दै नहिँड्ने । पसल पस्नुभन्दा अगाडि अनिवार्य रूपमा पसलअगाडि राखिएको हात धुने ठाउँमा हात धुने । हात धुने व्यवस्था छैन भने पसलेलाई स्यानिटाइजर माग्ने र लगाएर मात्र आफूलाई आवश्यक पर्ने सामानमा हात लगाउने । त्यसैगरी व्यापारीहरूले मास्क नलागाई आएका ग्राहकलाई पसलमा छिर्नै नदिने । किनकी थोरै पैसाको लोभले भोलि सङ्क्रमण देखाप¥यो भने अतुलनीय क्षति हुन सक्छ भन्ने कुराको हेक्का राख्ने । मास्क नलगाई आउनेलाई नफर्काउने हो भने अफैले मास्क दिने व्यवस्था गर्ने । पसलको अगाडि अनिवार्य साबुन–पानीले हात धुने व्यवस्था गर्ने । ग्राहकलाई आफ्नो पसलको सामान छुन दिनुभन्दा पहिले हात स्यानिटाइजर गराउने । त्यसको व्यवस्था स्वयम् व्यवसायीले गर्नु पर्छ ।