गत शुक्रबार सिके राउतको स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच एघार बुँदे सहमति भएको छ । कमलादीमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा राउतसँग सहमति भएको हो । सन् २००६ देखि मधेशलाई विखण्डन गर्नुपर्छ भन्दै विभिन्न गतिविधिहरू गर्दै आएको समूहसँग यस्तो राजनैतिक सहमति हुनु सुखद् विषय हो । यसरी मुलुक टुक्र्याउँछु भन्नेहरू वैधानिक मूलधारको राजनीतिमा आउनु अवश्य नै सकरात्मक परिघटना हो । कसैको इशारा र उक्साहट बिना हामीले अपनाएको बाटो गलत रहेछ भनेर आत्मसात गर्दै ठण्डा दिमाग लिएर यो निर्णयमा पुगेको हो भने यसमा कसैले पनि टाउको दुखाउनु आवश्यक छैन । अर्थात् यसलाई सरकारको सकारात्मक पहलकदमी र राउतको विगतप्रतिको गलत आत्मसातीकरणको रूपमा ग्रहण गर्नु पर्दछ । तब सहमतिबाट सकारात्मक परिणामको अपेक्षा गर्न सकिन्छ ।
पछिल्लो समय सरकार र राउतबीच भएको राजनीतिक सहमतिपछि राष्ट्रिय राजनीति निकै तरङ्गित बनेको छ । विभिन्न जोड, कोण र स्वार्थ अनुरूप व्याख्या र विश्लेषण भइरहेको छ । यसरी बेला–बेलामा चर्चामा आइरहने सिके राउत को हुन् ? पछिल्लो राजनीतिक घटनाक्रम र त्यसले पैदा गरेको संशयहरूका बीचमा यो प्रश्न पनि जबरजस्त रूपमा उठिरहेको छ । सिके राउत सप्तरीमा जन्मिएका हुन् । उनले पुल्चोकबाट इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातक, टोकियोबाट स्नातकोत्तर र वेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । त्यसपछि सन् २००९ मा उनी अमेरिका गए अनि न्युयोर्कको एक संस्थामा कम्प्युटरविज्ञको रूपमा काम शुरु गरे । यही सिलसिलामा उनले गैरआवासीय मधेशी सङ्गठन स्थापना गरे । यो अमेरिकास्थित पहिलो मधेशी गैरसरकारी संस्था थियो ।
पढाइको समाप्तिपछि सन् २००६ सालमा उनी नेपाल आए, जुन बेला मधेश आन्दोलन चर्किरहेको थियो । यही वस्तुगत सम्भावनालाई पक्रन उनले स्वतन्त्र मधेश गठबन्धन नामक संस्था खोले । यसको मूलनारा मधेशीमाथिको नेपाली औपनिवेशीकरण र जातीय विभेदको अन्त्य भन्ने थियो । यसको छुट्टै झण्डा, राष्ट्रिय गान, सिमाना र सेना हुनुपर्ने आधारभूत मान्यता थियो । यो गठबन्धनको स्थापनापछि उनी अमेरिकामा जागिर खान गएको हुँदा यसले धेरै गतिविधि गरेन । उनी सन् २०११ मा नेपाल फर्किएपछि सन् २०१२ मा एक घोषणा–पत्र जारी गर्दै छुट्टै स्वतन्त्र मधेश वा विखण्डनकारी अवधारणा अघि सारे । चरम राष्ट्रघाती र देशद्रोही शङ्कास्पद, विवादास्पद गतिविधि र भनाइहरूका बीच सिके राउत एकाएक चर्चामा आए । मधेशी अस्थिरता र आन्दोलनको कमलो परिवेशमा यसले आगोमा घ्यू थप्ने काम ग¥यो । मधेशमा बढिरहेको क्षेत्रीय भावनासँग मिल्दोजुल्दो एक अतिवादी चिन्तन प्रवृत्तिको रूपमा स्थापित भयो । उनी पश्चिमा शक्तिकेन्द्रहरूद्वारा परिचालित थिए भन्ने कुरा विभिन्न राजदूतहरू उनलाई भेट्न जेलमै पुगेबाट पनि सहजै अनुमान गर्न सकिन्छ ।
तर वस्तुतः माथि उल्लेखित परिघटनाहरू सिके राउतको रूपवादी वा आवरणीय स्केचहरू हुन् । रणनैतिक स्वार्थहरू धेरै भिन्न रहेको अड्कल गरिँदैछ । मूलतः विगतदेखि नै नेपालको राष्ट्रिय राजनीतिमा विदेशी शक्तिकेन्द्रहरूको स्वार्थ हाबी हुँदैआएको छ । यसमा पनि पश्चिम र दक्षिणको भूमिका हस्तक्षेपपूर्ण देखिन्छ । यसरी पश्चिम र दक्षिणको स्वार्थगत चलखेल बढिरहेको सन्दर्भमा उत्तर पनि कानमा तेल हालेर बस्ने अवस्था रहँदैन । वर्तमान अवस्थामा दक्षिण एशियाली रणनैतिक राजनीतिमा चीनको भूमिकालाई नजरअन्दाज गर्नु हुँदैन । हालसालै भारत पाकिस्तान मुठभेडको शान्तिपूर्ण समाधानमा पनि उसको महŒवपूर्ण भूमिका रहेको विश्लेषण छ । यसकारण पनि नेपाली राजनीति वैदेशिक रणनैतिक स्वार्थको गुरुत्वकेन्द्र वरिपरि घुमिरहेको छ भन्दा दुईमत हुँदैन । यस्तो वस्तुगत धरातलमा कुनै दल, संस्था, समूह, नेता र परिघटनाहरू पनि उक्त रणनैतिक स्वार्थबाट अछुत हुन सक्दैन । यस्तो वस्तुगत रणनैतिक धरातलमा सिके राउतको अवतरणभित्र पनि रहस्य लुकेको हुनसक्छ । यसमा आशङ्का गर्ने ठाउँ देखिन्छ ।
यता पछिल्लो राजनैतिक घटनाक्रमहरू अलि नाटकीयरूपमा विकास भइरहेको देखिन्छ । टीकापुर घटनामा दोषी करार गरिएका रेशम चौधरीलगायत एघार जनालाई बुधबार आजीवन कैद सजाय घोषणा गरी जेल चलान गरिएको छ । त्यसलगत्तै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुको साथै आन्दोलन गर्ने उद्घोष गरेको छ । उता विखण्डन र देशद्रोहको मुद्दा खेपिरहेका सिके राउतलाई बिहीबार अदालतले रिहा ग¥यो । यसको ठीक भोलिपल्टै अर्थात् शुक्रबार नै व्यापक तयारी र तामझामसहित सरकारसँग एघार बुँदे सम्झौतामा हस्ताक्षर भयो । सरकार–राउत सहमतिको सन्दर्भमा विभिन्न जोड, कोण र स्वार्थजन्य टिकाटिप्पणीहरू भइरहेका छन् । स्वयम् सत्तारुढ दलमा पनि एकरूपता देखिएको छैन । यो कानूनी दायरा र राजनैतिक सुझबुझ अनुरूप नै भएको हो भने कसैले आपत्ति मान्नु पर्दैन । तर विदेशी शक्तिकेन्द्रहरूको रणनैतिक स्वार्थ र योजनामा गरिएको हो भने त्यो तत्काल सामान्य भए पनि भाविष्यमा जटिल हुने खतरा देखिन्छ । किनकी हाम्रो चिन्ता र चासो मूलतः राष्ट्र, राष्ट्रियता र अखण्डताप्रति हो । यो अरु कसैप्रतिको आग्रह पूर्वाग्रह पटक्कै होइन ।
वस्तुतः पश्चिम र दक्षिणले नेपालमा अस्थिरता चाहेकोमा दुईमत छैन । यो हाम्रो लागि नयाँ र अनौठो विषय हुँदै होइन । यही अस्थिरताको पृष्ठभूमिमा उनीहरूले आफ्नो स्वार्थ सिद्धिको गेम जित्दै आएको देखिन्छ । यस्तो तीतो तर यथार्थ धरातल अन्तर्गत हाल नेपालमा भइरहेको पछिल्लो विकसित राजनैतिक घटनाक्रमहरूलाई नजिकबाट नियाल्दा धेरै आशङ्का गर्ने ठाउँ रहेको छ । फेरि अर्कोतिर हामीले भुल्नै नहुने सच्चाइ के हो भने पश्चिम र दक्षिण दृष्टि नेपालको सन्दर्भमा कतिपय अवस्थामा समान देखिन्छ भने कतिपय सवालमा अन्तरविरोधपूर्ण रहेको छ । यसले को कसको समर्थन र विरोधमा रहेको छ छुट्याउन मुस्किल हुने गर्दछ । किनकी स्वयम् साम्राज्यवादीहरूबीचमा पनि स्वार्थगत अन्तरविरोधहरू टकराउने गर्दछ । यो नियम हो । यद्यपि उनीहरूको एकल मिशन भनेको राजनैतिक अस्थिरता नै हो, जुन उनीहरूको रणनैतिक स्वार्थ सिद्धिको बहाना बन्दै आएको छ ।
यता नेपाली राष्ट्रिय राजनीतिमा पश्चिम, दक्षिण र उत्तरको भूमिका निर्णायक रहेको छ । यसमा पश्चिम र दक्षिणले सनातनी हस्तक्षेपको नीतिअनुरूप आफ्नो रणनैतिक अस्त्रहरू प्रयोग गरिरहेको छ । उता चीनले भने पश्चिम र दक्षिणको चलखेल र षड्यन्त्रको पारो अनुरूप आफ्नो उपस्थितिलाई बढाइरहेको अनुभूति गर्न सकिन्छ । यस्तो त्रिकोणात्मक अन्तरविरोध जताबाट नापे, तौले पनि नेपाल र नेपालीको लागि पटक्कै हितकर हुँदैन । पश्चिम र दक्षिणका धेरै मुद्दाहरूमा समानता भए पनि मधेशमा पकड जमाउने सन्दर्भमा केही अन्तरविरोधहरू जीवित देखिन्छ । यही मेसोमा राजपालगायतका मधेशवादी दलहरू दक्षिणद्वारा परिचालित भएको दाबी गरिएको छ । उता सिके राउतलाई पश्चिमाहरूले मधेशवादी दलहरूको अर्को विकल्पको रूपमा पेश गर्न खोजिएको विश्लेषण पनि गरिँदै छ । तामझाम र हल्लाखल्ला हेर्दा यो विश्लेषणमा सत्यता छैन भन्न सकिन्न । यद्यपि सत्यतथ्य के हो भविष्यले नै बताउनेछ वा पुष्टि गर्नेछ ।
यसकारण सिके राउत र सरकारबीच भएको समझदारीको सन्दर्भमा विभिन्न स्वार्थगत आयामहरू टकराएको देखिन्छ । यसमा पहिलो सिके राउतलाई समर्थन गर्नु भनेको पश्चिमा लाइनको पक्षपोषणको रूपमा अथ्र्याइँदै छ । दोस्रो, सिके राउतको विरोध र मधेशवादी दलहरूको समर्थन भनेको दक्षिण ब्लकको स्वार्थमा आधारित रहेको छ । उता समग्र नेपाल, नेपाली र राष्ट्रिय स्वाभिमानको कोणबाट चिन्ता गर्ने तेस्रो आयाम रहेको छ । यो सही र सकारात्मक आयाम हो । नेपाल र नेपालीहरू विरुद्ध कोही कसैद्वारा परिचालित र सञ्चालित हुनुहुँदैन भन्ने बुझाइ सही हो । राष्ट्रहित विपरीत कोही कसैको स्वार्थमा परिचालित र सङ्गठित हुनु आफैमा जघन्य राष्ट्रिय अपराधबाहेक अरु केही हुँदैन । यसले के कुरालाई स्पष्ट गर्दछ भने पछिल्लो राजनैतिक घटनाक्रमहरूप्रति कसैले अन्धाधुन्ध समर्थन र विरोध गर्नुको पछाडि राष्ट्रिय हितभन्दा पनि विदेशी शक्तिकेन्द्रहरूको स्वार्थगत पक्षधरताको कडी जोडिएको नहोला भन्न सकिन्न । यसमा कसैले पनि पानीमा चोबलिएर ओभानो रहेको ढोङ्ग गर्न जरुरी छैन ।
त्यसैले हामी अपेक्षा गरौं कि रेशम चौधरीको जेलचलान र सिके राउतको बहिर्गमनसँगैको राजनैतिक सहमति नेपाल र नेपालीको हित र स्वार्थमै भएको हो । कसैले वढी आशङ्का गर्नु व्यर्थ हो । यद्यपि पछिल्लो राजनैतिक परिघटनाहरूले सकारात्मक दिशा पक्रन सकोस् । घटना घट्नेबित्तिकै एक्कासि तरङ्गित भएर नकारात्मक धारणा निर्माण गर्नु भन्दा गम्भीर भएर चिन्तन् मनन्को सँस्कृति विकास गरौं । यसको मतलव सबै घटना प्रक्रियाहरूमा आँखा चिम्लिनु पर्छ भनेको होइन । हरेक वस्तु, सत्ता र घटनाहरूप्रति आलोचनात्मक दृष्टिकोण राख्नु पर्दछ । भ्रम र वास्तविकता खुट्याउनु पर्दछ । आलोचनात्मक चेत बिना सत्य र तथ्य पहिचना गर्न सकिन्न । हल्लाको पछि लागेर सत्य पहिल्याउन सकिँदैन । सचेत भएर चिन्तन् र मनन् गर्नुपर्दछ । त्यसमा पनि सिके राउतको सन्दर्भमा शक्तिकेन्द्रहरू जोडिएको आशङ्का गरिएको छ । आज यति सानो विषयमा आवश्यकता भन्दा असाध्यै बढी चर्चा परिचर्चा र समय बर्बादी यसैको उपज नहोला भन्न सकिन्न ।
तसर्थ, सरकार र सिके राउतबीचको एघार बुँदे सहमति कसैको रणनैतिक स्वार्थ सिद्धिको भ¥याङ नबनोस् । यो रणनैतिक चलखेलभन्दा राजनैतिक समस्या समाधनको आयामद्वारा निर्देशित होस् । हाम्रो चाहना भनेको हरेक घटना प्रक्रियाहरूले सकारात्मक र गुणात्मक परिणाम दिन सफल होस् भन्ने हो । तर जब यो वैदेशिक शक्तिकेन्द्रहरूको रणनैतिक स्वार्थमा आधारित सुनियोजित नाटक मञ्चन बन्दछ भने त्यो नेपाल र नेपालीहरूको लागि दुर्भाग्य सिद्ध हुनेछ । यसले अर्को अस्थिर तथा जटिल राजनीतिक कोर्ष आरम्भ हुने खतरालाई पनि इङ्गित गर्दछ । त्यसैले जेलबाट छुटेको उपलक्ष्यमा प्रधानमन्त्रीको उपस्थितिमा गरिएको कार्यक्रमबाट सिङ्गो मुलुक तरङ्गित हुनु बेकार छ । धेरै मिडियाबाजी गर्नु धिक्कार छ । सनसनी फैलाउनु लाजमर्दो छ । एकजना सिके राउत आउँछ, जान्छ । यो कति पनि ठूलो मुद्दा होइन । यद्यपि शक्तिकेन्द्रहरूको दाउपेचमा भने सचेत र गम्भीर बन्नै पर्दछ । किनकी बन्दकोठाको षड्यन्त्रहरूले हामीलाई न्याय, समानता र समृद्धितर्फ दिशानिर्देश गर्न सक्दैन ।