पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको चार महिनामा मेची भन्सार कार्यालयले ४८ करोड ७८ लाख ५७ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ । कार्यालयले दुई लाख ४३ हजार ६ सय ९३ किलो छुर्पी निर्यात भएको जनाएको छ ।
छुर्पीको निर्यात अघिल्लो आर्थिक वर्ष २०७९-०८० को चारमहिनाको तुलनामा चालु आर्थिक वर्ष २०८०-०८१ को सोही अवधिमा ३ सय ५० दशमलव ४९ प्रतिशतले निर्यात बढेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । काँकडभिट्टानाका भएर निर्यात हुने मुख्यः दशवस्तुमध्ये कुकुर वा बिरालोको खाना छुर्पी पाँचौँ स्थानमा रहेको उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ८२ लाख ९४ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको कार्यालयका सूचना अधिकारी गणपति कँडेलले बताए ।
गत आर्थिक वर्ष साउनदेखि कात्तिक महिनासम्म ६० हजार ७ सय ६५ किलो छुर्पी विदेश निर्यात भएको उनले जनाए । अघिल्लो आर्थिक वर्ष २०७९-०८० को चार महिना र चालु आर्थिक वर्ष २०८०-०८१ को सोही अवधिको तुलनामा ३७ करोड ९५ लाख ६३ हजार ४ सय रुपैयाँ बढीको छुर्पी विभिन्न देशमा निर्यात भएको भन्सार अधिकृतसमेत रहेका कँडेलले जानकारी दिए ।
हिमाली तथा पहाडी जिल्लामा पशुपालनबाट उत्पादित छुर्पीको विदेश निर्यात बढेसँगै विदेशी मुद्रा आर्जनमा राज्यलाई टेवा पुगेको छ । कोसेलीको रूपमा मानिसले चपाउने छुर्पी पछिल्लो समय विदेशी बजारमा कुकुरको आहारा बनेको छ । पूर्वी नेपालमा उत्पादित छुर्पीको निर्यात बर्सेनि बढ्न थालेको छ । पछिल्लो तथ्याङ्कअनुसार फिनल्यान्ड, फ्रान्स, अमेरिका, क्यानडालगायत १९ वटा देशमा नेपाली छुर्पी पुगेको छ । नेपाली छुर्पीको मुख्य आयातकर्ता अमेरिका र क्यानडा रहेका छन् ।
अन्य देशको तुलनामा यी देशमा सबैभन्दा बढी छुर्पी निर्यात हुने गरेको उल्लेख छ । सबैभन्दा कम छुर्पी इजरायल पुग्ने गरेको छ । त्यहाँ रहेका नेपालीले कोसेलीको रूपमा लैजाने गरेको अनुमान छ । पूर्वी नाकाबाट निर्यात हुने छुर्पीबाट नेपालले करोडौं रुपैयाँ आम्दानी गरेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।
हङ्कङ, इजरायल, जापान, कोरिया, मलेसिया, सिङ्गापुर, ताइवान, थाइल्यान्ड, युएई, भारत, क्यानडा, अमेरिका, जर्मन, बेलायत र रसियालगायतका देशमा कुकुरलाई खुवाउन थालिएपछि नेपालमा उत्पादित छुुर्पीको माग बढेसँगै निर्यात पनि बढेको उनले बताए । जसले गर्दा विदेशी मुद्रा आर्जनमा राज्यलाई टेवा पुगेको उनको भनाइ छ ।
कुकुरको खानाका लागि नेपालबाट छुर्पी नै धेरै निर्यात हुने गरेको छ । छुर्पी उत्पादकका अनुसार कुकुर र मान्छेले खानेमा केही फरक छ । कुकुरले खानेमा घिउको मात्रा हुनु हुँदैन भने मान्छेले खानेमा केही भए पनि हुन्छ । तर, छुर्पी बनाउने किसानले घिउको मात्रा भने पूरै निकालेर बनाउने गरेको व्यवसायी आले तामाङको भनाइ छ ।
चौंरी वा गाई दुहेपछि त्यसलाई चिसो पानी वा चिस्यान गर्ने ठाउँमा राखिन्छ । जमेपछि त्यसको घिउको मात्रा निकालेर त्यसपछि दूधलाई फटाएर छुर्पी बनाइन्छ । यसलाई अगेनाको भारमा आगोको रापले सेकाउने गरिएको इलामका छुर्पी व्यवसायीको भनाइ छ । छुर्पीको मूल्य भने ठाउँअनुसार फरक रहेको छ ।