विराटनगर । मोरङ सुनवर्षी नगरपालिका–९ साहु टोलमा स्वदेशी धानलाई विदेशी भन्दै कृषक ठगी गरेको आरोपमा स्थानीय एक व्यापारी पक्राउ परेका छन् ।

सुनवर्षी नगरपालिका–९ का रविनकुमार साह धानको बिउ बिक्रीमा कृषकलाई ठगी गरेको आरोपमा सोमबार पक्राउ परेका हुन् । साहले प्रतिकेजी २५ रुपैयाँको धान स्थानीयस्तरमा खरिद गरेर भारतको वेस्ट बङ्गालको गुणस्तरीय धानको बिउ भन्दै १ सय २० रुपैयाँ प्रतिकेजीसम्ममा बिक्री वितरण गरेको पाइएपछि इलाका प्रहरी कार्यालय रङ्गेलीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

अहिले कृषकहरूले बर्खे धान भित्र्याएर हिउँदे धानको लागि बिउ राख्न सुरु गरेका छन् । यही मौका छोपेर धान चामलको व्यापार गर्ने साहले प्रतिमन एक हजारमा खरिद गरेको कान्छी मन्सुली धानलाई भारतको वेस्ट बङ्गालबाट ल्याएको नक्कली स्टिकर लगाएर ‘प्यान सिड्स प्रालि कोलकत्ता’ लेखेर बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर चन्द्रबहादुर खड्काले जानकारी दिए । ‘एक हजार प्रतिमनमा खरिद गरेको धान २५ केजीको बोरा बनाएर १ हजार ८ सयदेखि ३ हजार रुपैयाँसम्ममा बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको हो’ उनले भने, ‘अहिले यो घटनाको अनुसन्धान भइरहेको छ । कति ग्राहकलाई साहले ठगी गरेका छन् भन्ने विषयमा पनि हामीले अनुसन्धान थालेका छौँ ।’

प्रहरीले नक्कली स्टिकर, बोरा र धान पनि बरामद गरेको छ । साहको घर खानतलासी गर्ने क्रममा प्रहरीले धानको बिउ ३४ बोरा १ हजार १ सय १० केजी, झोलामा प्याकिङ गरेको तयारी धानको बिउ ५ झोला (३० के.जी.), स्टिकर १ सय ७५ थान, बोरा सिलाउने मेसिन १ थान, प्यारासुट सिलाइ धागो ४ थान, मल ५ के.जी., खाली जुटको सोही कम्पनी उल्लेखित बोरा १ सय २३ थान, थाल १ थान र बाल्टिन १ थान बरामद गरेको छ ।

डाइनियाँस्थित विजयकुमार साहले सञ्चालन गर्दै आएको मुकेश खाद बिज भण्डारबाट पनि सोही कम्पनी उल्लेखित बोरामा प्याकिङ गरिराखेको धानको बिउ २४ बोरा ६ सय केजी बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका साहलाई प्रहरीले मोरङ अदालतमा ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने भएको छ ।