सुनसरी । प्रहरीले नक्कली भ्याटबिलबाट राजस्व छल्ने कारोबारीमाथि निगरानी बढाएको छ । त्यस्ता कारोबारीहरूमाथि चेकजाँचसँगै निगरानी बढाएपछि सुनसरीका विभिन्न स्थानबाट अवैधानिक रूपमा राजस्व छल्ने व्यापारीहरूका सामान प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेको छ ।

सोही क्रममा सशस्त्र प्रहरी बल नेपाल सुनसरीले केहीदिनको अवधिमा ३३ लाख २२ हजार १ सय २५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको हो । जिल्लाको कोसी गाउँपालिका–८ तीनकुनेस्थित पूर्व–पश्चिम लोकमार्गमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट खटिएको टोलीले काठमाडौँबाट इटहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२४ च ६३६१ नम्बरको टाटा योद्धा गाडी चेकजाँच गर्ने क्रममा बिल विजकमा उल्लेखित रकम र भिसीटिएसमा उल्लेखित रकममा फरक परेपछि १५ लाख बढीको सामान बरामद ग¥यो । बिलविजकमा उल्लेखित रकम र भिसीटिएसमा उल्लेखित रकममा फरक परेपछि सशस्त्र प्रहरीले १५ लाख ५७ हजार ९ सय ३० रुपैयाँ बराबरको मोबाइल सेटका साथै १० लाख रुपैयाँ बराबरको पिकअप गाडी र चालक जिल्ला काभ्रे धुलिखेल नगरपालिका–१२ का २६ वर्षीय किरण बाग्ले र सहचालक सोही स्थानका २६ वर्षीय सुमन परियारलाई नियन्त्रणमा लिएको थियो । 

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानबाट खटिएको चेकप्वाइन्ट टोलीले धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोसी राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौँबाट धनकुटातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ख २३०४ नम्बरको यात्रुवाहक बसलाई शङ्का लागि चेकजाँच गर्दा विना बिल विजक ल्याउँदै गरेको अन्दाजी ९२ हजार बराबरको सुटको कपडा थान ३१ र लेदर ब्याग थान ३० बरामद ग¥यो । यस्तै धरान उपमहानगरपालिका–१३ फुस्रेस्थित कोसी राजमार्गमा धरानबाट सङ्खुवासभातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००१ ख १९६४ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्दा भिसीटिएस बिल विना लैजाँदै गरेको ७० हजार रुपैयाँ बराबरको लत्ताकपडाहरू नियन्त्रणमा लिई सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो ।

नक्कली भ्याट बिलबाट सुनसरी, मोरङ, झापासहित पूर्वका व्यापारीहरूले राजस्व छल्ने गरेको प्रहरीले प्रमाण फेला पारेको छ । सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीले चेकजाँचमा कडाइ गरेदेखि सुनसरीबाट पछिल्लो समयमा नक्कली बिलबाट राजस्व छल्ने कारोबारीका सामान बरामद हुन थालेको हो । ‘नक्कली भ्याट बिलबाट राजस्व छल्ने व्यापारीहरूको समान नियन्त्रणमा लिए पनि उनीहरू भने सम्पर्कमा आउने गरेका छैनन्’–सशस्त्र प्रहरी बल सुनसरीका प्रवक्ता डिएसपी प्रेमप्रसाद सिग्देलले भने । सुरक्षाकर्मीले चेकजाँचको क्रममा नक्कली भ्याट बिल प्रयोग गरिएको मालसामान बरामद गरे पनि फस्ने डरले व्यापारीहरू सम्पर्कमा आउन नचाहेका हुन् । नक्कली भ्याट बिल बनाएर राजस्व छल्ने र प्रहरीले पक्राउ गरेपछि त्यस्ता व्यापारी डरले सम्पर्कमा आउने गरेका छैनन् । आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्न सरकारले नक्कली भ्याटबिल बनाएर कर छली गर्नेविरुद्ध चेकजाँचलाई तीव्रता दिएको प्रवक्ता सिग्देलको दाबी छ । सामान्यरूपमा हेर्दा सबै प्रक्रिया ठीकजस्तै लाग्ने भएकोले यस्ता राजस्व छली रोक्न सूक्ष्म अनुसन्धानको आवश्यकता रहेको जानकार बताउँछन् ।