बिषय प्रवेशः
जब यो पृथ्वीको जन्म भयो, त्यसपछि सुरु भयो विभिन्न कालखण्डहरूको क्रमशः विकास र विनाश । यो संसार विचित्रको देखिन्छ, जहाँ जति यसको अध्ययन र वर्णन गर्दा पनि अपूरो र अधुरो नै रहि रहेको छ । कुरा गरौँ– फ्लोरा एन्ड फन्नाको कथादेखि लिएर चिम्पान्जी, होमो सेपिएन्स, नन्दर्थल आदिवासी, जाति, जात, समुदाय हुँदै एक व्यक्तिसम्मको चक्रीय प्राकृतिक र निर्माणात्मक मौलिकता र पहिचानहरूको मार्गहरूलाई अध्ययन र विश्लेषण गर्दा कम्ती आश्चर्यलाग्दो र ज्ञानबर्धक विषयवस्तुहरू भने छैनन् । जब मानिसहरू शिक्षित र साक्षर हुँदै गए, तब स्वतः आफ्नो मौलिकता, इतिहास, प्रथाजनित प्रणाली, कर्तव्य, अधिकार, समाज र विकासको बारेमा चिन्तन र मनन् गर्दै युगान्तकारी गतिमा आएको देखिन्छ । विश्वभरि नै आदिवासी र जातहरूको लिखितभन्दा पनि कथ्य सामग्रीहरू पाइन्छन् । नेपालका आदिवासीको सन्दर्भमा पनि कथ्य नै सामग्री बढी पाइन्छन् । आदिवासीहरूको बाक्लो बस्ती रहेको भूगोल भनेर चिनिन्छ नेपाललाई पनि जहाँ १ सय २५ जातजातिमध्येमा ६० जाति त आदिवासीहरू रहेका छन् । आदिवासीहरू हिन्दु वर्णाश्रम अन्तर्गत पर्दैनन् । वि. सं. १८०० शताब्दिदेखि नेपालका आदिवासीलाई राज्यसत्ताले दमन र हरण गर्दै आएको ज्ञात हुन्छ ।
के हो पहिचान ?
हरेक वस्तुको आ–आफ्नो अस्तित्व हुन्छ । अस्तित्वसँग आ–आफ्नो परिचय अन्तरघुलन भएको हुन्छ । पहिचान मूलतः प्राकृतिक र निर्माणात्मक हुन्छ । प्राकृतिक पहिचान भनेर जन्मसिद्ध निर्माण भएको हो भने निर्माणात्मक पहिचान भनेको उत्पत्तिपछि समयानुकूल नाम वा चिनारी विकास र विस्तारितरूपमा बन्दै आएको पहिचान हो । नेपालमा पछिल्लो कालमा पहिचान भन्ने बित्तिकै जातीय र नश्लीय भनेर बुझ्ने गरेको पाइन्छ । तर, पहिचान भनेको जसको आफ्नो छुट्टै इतिहास छ, जसको छुट्टै भूगोल छ, जसको छुट्टै समुदाय छ, जसको छुट्टै जीवन प्रणाली छ, जसको छुट्टै लेख्य र कथ्य प्रथाजनित प्रणाली छ, जसको आदिम कालदेखि स्थायीरूपमा बसोबास छ, जसको छुट्टै मातृभाषा छ, छुट्टै धर्म छ, छुट्टै लिपि छ, छुट्टै चालचनल छ आदि । यिनीहरूलाई नै पहिचान भनिन्छ । पहिचान भनेको चिनिनु हो, देखिनु हो, यो हो भनेर खुट्टिनु हो, अरूभन्दा फरक हुनु हो । यसरी पहिचान भनेको ज्ञानको भण्डारण हो । यसलाई सबैको लागि साझा स्रोत तथा सम्पत्तिको रूपमा हेरिनु पर्दछ । यति मात्र नभएर यो दृश्य–अदृश्य र लेख्य–कथ्यसमेत हुन्छ ।
नेपालमा पहिचानको धरातलः
विज्ञान र विभिन्न दर्शनले भन्छ कि हरेक वस्तुको आ–आफ्नो महत्व र अस्तित्व हुन्छ भनेर । तर, यो आफैमा कम्ती सौन्दर्यपूर्ण र वस्तुगत कुराहरू हैनन् । नेपाल विविधता नै विविधताले भरिएको देश हो । यसको महŒव राज्यसत्ताले वि. सं. १८०० को शताब्दिदेखि बुझ्न सकेन, जुन कुरालाई दुर्भाग्यपूर्ण रूपमा हेरिँदै आएको छ । अर्काेतिर, राज्यले बुझी बुझी पनि बुझ पचाएको प्रष्ट देखिन्छ । द्रव्य शाहको पालादेखि पृथ्वीनारायण शाहको पाला हुँदै अहिले २०८० सालसम्मको वस्तुगत अवस्था हेर्दा झन् झन् मौलिकता र अग्र्यानिक वस्तु तथा सामग्रीहरू खस्किँदो परिवेशमा देखिन्छ । सरसर्ती हेर्दा यो राज्यले नियोजित तवरले गरेको जस्तो पनि देखिन्छ । जब पृथ्वीनाराय शाहको खलकले करिब १ सय ४० वर्ष लगाएर नेपाललाई एकीकरण गरेको थियो तर, करिब २ सय ४० वर्षपछि फेरि आज गणतान्त्रिक र सङ्घीय मुलुक भएको छ । यसलाई विश्लेषण र संश्लेषण गर्नुपर्ने भएको छ । जब पृथ्वीनारायण शाहले वि.सं.१८३०–३१ सालदेखि वल्लो किरात, माझ किरात र पल्लो किरात भूमिमा बस्ने आदिवासीहरूको सर्वस्व हरण गरेका थिए, त्यो मितिदेखि आदिवासीको कालो दिन सुरु भएको देखिन्छ । वास्तवमा पृथ्वीनारायण शाहको गोरखा राज्यलाई विस्तार गरेर असली हिन्दुस्तान राज्य बनाउने उद्देश्य थियो । असली हिन्दुस्तान बनाएर आदिवासीहरूको जल, जमिन, जङ्गल, मातृभाषा, प्रथाजनित प्रणाली, इतिहास, विरासत, संस्कृति, धर्म, आस्था, आर्थिक र सामाजिक जीवन प्रणालीलाई नै बन्देज गराएर एक भाषा, एक भेष र एक धर्मको नीति लगाएको देखिन्छ । त्यसपछि आदिवासीको दैनिक जीवन झन् कठिन बनेको इतिहासबाट प्रष्ट हुन्छ ।
यसरी आफ्नो हकअधिकार प्राप्तिको लागि जनताहरू निरन्तर लड्दै आइरहेका छन् । तर, राज्यसत्ताले जायज र सत्य–तथ्य दस्तावेज र प्रमाणहरू देखेर पनि बुझ पचाएर बसेको जस्तो देखिन्छ । हुन त मौलिकताको बारेमा भन्नुपर्दा र वकालत गर्दा कतिपयले जातिवादको आरोप लाउने गरेको देखिन्छ तर, कुरा त्यसो हुँदै होइन ! नेपालमा जनताको अधिकार प्राप्तिको लागि धेरै पटक जनयुद्ध र जनअन्दोलन भएको पाइन्छ । अन्ततः सहिद र योद्धाहरूको बलिदान, त्याग र पसिनाले गणतन्त्र त आयो तर, तुलनात्मकरूपमा पहिलेको राजाभन्दा पनि गणतन्त्रकालीन गतिविधिहरू झन् दमनकारी र विलासी पाइन्छ । जहाँ सङ्कीर्णता भएको, नश्लीय चिन्तन भएको, एकात्मक राज्य प्रणाली चाहने, उच्च जातीय अहङ्कार भएको, नातावाद र चाकरीवादलाई निरन्तरता दिने, साम्प्रदायिक भावना भएको र अरूको मौलिक अधिकार हरण गर्ने नियत भएको नेता भएपछि आदिवासीले कसरी नैसर्गिक अधिकार र असली
पहिचानको पुनर्उत्थान गर्न सक्छन र ?
इतिहास नै हेर्ने हो भने चाहे हतुवागढीमा अटलसिङ वालाहाङ बान्तवा राईहरूले गरेको युद्ध किन नहोस् ! चाहे लखन थापा मगरले गरेको विद्रोह किन नहोस् ! चाहे २००४ सालमा ज्ञानबहादुर हेम्भ्या लिम्बू, दिलमानसिङ थापा मगर, के आई सिंह, श्यामकुमार तामाङहरूलगायतले गरेको युद्ध मोर्चा किन नहोस् ! चाहे २००६/०७ मा नारदमुनी थुलुङ राई, रामप्रसाद बान्तवा राई, बलबहादुर बायुङ राईहरूलगायतले गरेको जनयुद्ध किन नहोस् ! चाहे रामप्रसाद बान्तवा राईले सिंहदरबार कब्जा गरेको किन नहोस् ! चाहे वीर नेम्वाङहरूले गरेको युद्ध किन नहोस् ! चाहे रत्न बान्तवा राईहरूले गरेको आन्दोलन किन नहोस् ! चाहे गोपाल किराँती (साइँला) हरूले गरेको सशस्त्र युद्ध मोर्चा किन नहोस् ! चाहे २०६२/०६३ सालको जनआन्दोलन किन नहोस् ! चाहे मधेश आन्दोलन किन नहोस् ! चाहे पछिल्लो समयमा गरिएको प्रदेश नामकरणको नाम बारेमा किन नहोस् ! चाहे स्थानीय तहमा विभिन्न गाउँहरूको मौलिक नाम लाई उथलपुथल गरिएको बारेमा किन नहोस् ! प्रष्ट बुझिन्छ कि के स्टन्टबाजी गराइएको हो भनेर । हाम्रा पुर्खाहरूले आफ्नो इतिहास, मौलिकता, प्राचीनतम् र दरसन्तानको लागि ठूलो ठूला युद्धहरू लड्दै आएको देखिन्छ तर, उपलब्धि भनेको नगण्य देखिन्छ । किनभने स्थानीय तहदेखि प्रदेश तह हुँदै केन्द्रसम्ममा एकात्मक र नश्लीय राज्य व्यवस्था छ । अहिलेको राज्य व्यवस्था भनेको नामको गन्तव्य र सजावटी सङ्घीयता देखिन्छ ।
दुष्ट पितृ बन्ने कि इष्ट पितृ ?
नेपालको इतिहासमा आदिवासीहरूलाई यो दुई सय पचास वर्षभरि राज्यसत्ताले भारी बोकाउने काम मात्र गरायो । राज्यसत्ताले आदिवासीहरूलाई आदिवासीको थातथलोमा नै हली, गोठाला, खेताला, कमैया, हरुवा–चरुवा आदि बनाइदियो । साथै शिक्षा, सञ्चार, मातृभाषा, प्रथाजनित प्रणाली, संस्कार, आस्था, धर्म, मौलिकता र नैसर्गिक अधिकारबाट समेत बन्देज लगाई बञ्चित गरियो । यसरी राज्यसत्ता आदिवासीको लागि दुष्ट पितृ बनेको देखिन्छ । असम्भव भनेको केही छैन । हिजो द इष्ट इन्डिया कम्पनीले संसार भरि साम्राज्य फैलाएर बसेको थियो तर, आज आफ्नै प्राकृतिक र प्राविधिक स्थानमा बसेको छ । आज संयुक्त राज्यअमेरिका पनि विभिन्न देशहरूबाट लखेटिएको आभास हुन्छ । हिजोको दिनमा संयुक्त राज्यअमेरिकालाई पनि युके, स्पेन र पोर्चुगलले शासन र दमन गरेको भने होइन । अन्ततः अमेरिका स्वतन्त्र भएरै छाड्यो । अब आफ्नो मौलिकता, पहिचान र अस्तित्वको लागि वैचारिक, प्राविधिक, वस्तुगत र प्रयोगात्मक तवरले आन्दोलन, सङ्घर्ष र ठूलो ठूलो अभियान स्थानीय तहदेखि लिएर केन्द्रसम्ममा गर्नु आवश्यकता छ । यसरी नै इष्ट पितृ बन्न सकिन्छ । विश्व इतिहास हेर्दा, दुष्ट पितृ बन्नुभन्दा पनि इष्ट पितृ बनेको उत्तम देखिन्छ ।
विविधता नै राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्पत्ति होः
नेपालको विविधता भनेको राष्ट्रको सम्पत्ति हो । साथै विविधता भनेको अन्तर्राष्ट्रिय स्रोत, सम्पदा र सम्पत्ति पनि हो । मुख्यगरी नेपालको किरातको इतिहास, मैथिलीको इतिहास, खसानको (सिँजा) इतिहास, मगरातको इतिहास, मेचकोचको इतिहास आदिको बारेमा पढ्दा कम्ती चाखलाग्दो भने छैनन् । साथै भाषाको विविधता, आ–आफ्नो प्रथाजनित प्रणाली, आफ्नै जीवन प्रणाली, संस्कार, चालचलन, मठमन्दिर, गुम्बा, मस्जिद, गढी, कोट, जोङ, मौजा आदि यिनीहरू साझा सम्पत्ति हो र सबैको स्रोत हो । प्युठान जिल्लामा मात्र ४० वटा कोट छन् भने माझ किरातमा मात्र ४७ वटाभन्दा धेरै गढीहरू छन् तर, नेपालमा राज्यसत्ताले पछिल्लो समयमा नियोजित रूपले मौलिक नाम लाई क्रमशः औपनिवेशीकरण गर्दै आएको देखिन्छ । जस्तोः चोमोलुङ्मालाई सगरमाथा, मुक्कुमलुङ लाई पाथीभरा, सुकेटार एयरपोर्टलाई रविन्द्र अधिकारी एयरपोर्ट नामकरण गरेको छ । नेपालको प्रथाजनित गुठी प्रणालीलाई खारेज गर्ने कोशिस नगरेको भने होइन ! किरातीहरूको आस्थाको केन्द्र र ऐतिहासिक थलो खुवालुङ (वारिलाप्चो) लाई फुटाउने कोशिस गरेकै हो ! १ नं. प्रदेशको नामकरण गर्दा कौशिक ऋषिको नामबाट कोसी प्रदेश नामकरण गरेकै हो ! तिम्बुङ पोखरीलाई विष्णु पोखरी बनाएको नै हो ! बुद्धि ह्वङ्गुचा बायुङ राई र प्रेमकुमारी बायुङ राईका अनुसार ओखलढुङ्गा जिल्लामा फोक्सीलाई शीतलपुर, पुङ्गुलोलाई मानेखोला, मोप्लोद्याललाई अँधेरी, मिझिमलाई गैरीगाउँ, खिम्पापुमलाई असिने, मु–तु–वा (हावाले फुक्ने) डाँडालाई रमाइलो डाँडा, गोरुमारेभञ्ज्याङलाई मिलन चोक आदि स्थान नाम दिई तहस–नहस बनाएको प्रष्ट देखिन्छ । यसरी तीव्रताको साथ नेपालको मौलिकतालाई दबाउने काम भइरहेको छ । जानी जानी इतिहासको हरण गर्ने काम भएकोले नेपालको लिखित–अलिखित र दृश्य–अदृश्य स्रोत, सम्पदा र सम्पत्तिहरूको राज्यसत्ताले नै लोप गराउने काम गरेको देखिन्छ ।
हबको दृष्टिलेः
संसार भूमण्डलीकरण भएको हुनाले झन्–झन् सानो भएको देखिन्छ । सबैजनालाई ज्ञान आर्जन गर्न, अध्ययन अनुसन्धान गर्न सहज भएको छ । यसै क्रममा नेपालको विविधता भनेको स्रोतको रूपमा हेर्नुपर्ने हुन्छ । यी स्रोतहरूलाई स्थानीय तहदेखि राष्ट्रियस्तर हुँदै अन्तर्राष्ट्रिय तहसम्म चिनाउन र प्रचार–प्रसार गर्न लगाई नेपालीको विविधताले ठूलो टेवा पु¥याएको छ । अहिले जति पनि आन्तरिक र वाह्य पर्यटकहरू एक ठाउँबाट अर्को ठाउँमा आएका छन् । तिनीहरू ती ठाउँमा रहेका विविधता हेर्न, बुझ्न र पढ्न आएका देखिन्छन् । यसरी अर्थोपार्जन र रोजगारीको दृष्टिले पनि महŒवपूर्ण देखिन्छ । खोज अनुसन्धान गर्नको लागि पनि नेपालीको विविधता महŒवपूर्ण देखिन्छ । नेपालमा धेरै आदिवासी बसोबास गरेको हुनाले प्राकृतिक, अग्र्यानिक, रैथाने र मौलिक ज्ञान र स्रोत भएको हुनाले पनि सबैको ‘हब’ बन्दै छ । तर, राज्यसत्ताले खोला–नालाको नाम, स्थानको नाम, गाउँको नाम, वस्तुको नाम, हिमालका नामहरू क्रमशः मौलिक नामबाट संस्कृतमा आधारित नामहरू न्वारान गर्नमा व्यस्त देखिन्छ । मौलिकता मासिएपछि कसरी अग्र्यानिक क्षेत्र बचाउनु सकिन्छ ! २०७२ सालको संविधानले यी कुराहरूलाई संरक्षण र प्रबर्धन गरे तापनि नीतिगत रूपमा, वस्तुगत हिसाबले र प्रयोगात्मक रूपमा फरक–फरक पाइन्छ । नेपालमा आदिवासीहरूको लेख्य र कथ्य स्रोतहरूलाई नियोजितरूपमा लोप गराइएको देखिन्छ । अहिलेको सत्ता र शक्ति जनमुखी, इतिहासमुखी, मौलिकतामुखी हो भनेर जनताले महसुस गरेको देखिँदैन । जीवित विविधताहरूलाई समेत नियोजितरूपमा मासेपछि नेपालीको अस्तित्व कस्तो रहला ?
अन्तमा,
गणतन्त्र र सङ्घीयता आएको छ । तर, अहिलेको राज्यसत्ता राणातन्त्र र राजतन्त्रभन्दा धेरै निर्दयी, विलासी, अव्यवस्थित, भ्रष्टाचारी, एकात्मक राज्यप्रणाली, नातावाद आदिबाट प्रेरित भई मौलाएको देखिन्छ । गणतन्त्रमा ठूला–ठूला भ्रष्टाचार मौलाउँदै आइरहेको छ । गजबको कुरा के छ भने कर्मचारी र नेताहरूले सपथ खाँदा राष्ट्रको नाममा खान्छन् तर, नातावाद र भ्रष्टाचार नरोकिनुले प्रश्न उब्जिएको छ ! फेर्दा–फेर्दा गरेको कानून पनि आदिवासीको विरुद्धमा बनेकोजस्तो देखिन्छ । २०७२ सालमा पास गरिएको संविधान पनि खुल्ला मनबाट बनाइएको भन्दा पनि यति र उति नापतौल गरी बनाएको देखिन्छ । आदिवासीहरू मौलिक कुराहरूबाट अझै बन्देजमा बस्नुपरेको छ । २०७२ सालमा पास गरिएको संविधानका बारेमा भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई भन्छन्, ‘यो संविधान आधा ग्लास भरि र आधा ग्लास खाली छ ।’ नेपालको सर्वाङ्गीण विकास गर्नको लागि नीतिगत हिसाबले सबैको अपनत्व महसुस हुने गरी जीवित–अजीवित मौलिकता, प्राचीनता र संस्कृतिलाई संरक्षण र प्रबर्धन गरिएन भने औचित्यपूर्ण हुन्न । ‘आफू भलो त जगतै भलो’ भन्ने विचारले काम गर्नु आवश्यक देखिन्छ ।
[email protected]