धरान । धरान–१५ को बाँझगरा सामुदायिक वन उपभोक्ता समूहको कार्यालयपरिसरमा जमिनमुनि गाडेको अवस्थामा सखुवाको गोलिया काठ फेला परेको छ ।
धरानको पाँचकन्या सव–डिभिजन वन कार्यालयले २८ वटा गोलिया बनाएको अवस्थाको १ सय ८४ क्यूविक फिट काठ बरामद गरेको हो । वन कार्यालयले एक्साभेटर प्रयोग गरी जमिनमुनिको काठ निकालेको थियो । विशेष सूचनाका आधारमा काठ फेला पारिएको डिभिजन वन कार्यालयका डिभिजन प्रमुख महेशकुमार साहले जानकारी दिए । मङ्गलबार बरामद काठको विषयमा उपभोक्ता समूहलाई पत्राचार गरी राय माग्ने काम भइसकेको उनले बताए । ‘चिठी आज पठाइसकेको छ । जवाफ कस्तो आउँछ । त्यो आधारमा कारबाही अगाडि बढ्छ’ उनले फोनसम्पर्कमा भने, ‘रीतपूर्वक हो कि बेरीतपूर्वक हो; प्रक्रियागत त्रुटि पनि हुनसक्छ । अनुसन्धान भइरहेको छ ।’
यता जमिनमुनिबाट गोलिया काठ बरामदपछि यसबारे वन समूहका अध्यक्ष राजन मोक्तानलाई बुझ्दा काठ अनियमित नभई नियमित नै भएको बताए । उनका अनुसार समूहको वन पैदावार छपान समितिले वैशाख १६ गते बैठक बसेर टिप्पणी आदेश उठाई भोलिपल्ट अर्थात् वैशाख १७ गते काठ जमिनमुनि राखिएको अध्यक्ष मोक्तानले जानकारी दिए । ‘काम गर्ने शैलीले अनियमित गरेको देखिन्छ । तर, हाम्रो हिसाबले भने नियमित नै हो’–उनले भने । आर्थिक वर्ष २०७८/०७९ मा वन कार्यालयबाट समूहलाई करिब ३२ सय क्यूविक फिट दाउरा प्रयोजनका लागि सुख्खा, ढलापढा काट्ने अनुमति प्राप्त भएको थियो । समितिलाई दिएर उब्रिएको काठ चाहिँ घाटगद्दी गर्न नमिल्ने भएकाले पछिका लागि चाहिने भनेर समूहको छपान समितिको टिप्पणी आदेशका आधारमा वैशाख १९ गते कार्यसमितिमा अनुमोदन गर्ने गरी लुकाउनुपर्ने बाध्यता आइलागेको अध्यक्ष मोक्तानले बताए ।
तर, सो दिन समूहका उपभोक्ताले विवाद झिकेपछि कार्यसमितिको बैठक बस्न नसक्दा टिप्पणी आदेश अनुमोदन हुन नसकेको उनले जानकारी दिए । ‘हाम्रो भाषामा बोल्दाखेरि प्राविधिक त्रुटि भएको हो, तर, नियतवश लुकाइएको होइन’–उनले फोनसम्पर्कमा भने । यही बीचमा वन कार्यालयले जमिनमुनि गाडेको अवस्थामा भेटेपछि भने कार्यसमितिको मङ्गलबार बैठक बसी अनुमोदन गरेको उनले सुनाए । यसबारे स्थानीय उपभोक्ता निर्मला मगर तामाङले समूहका पदाधिकारीहरूले चोरी खाने, ठगी खाने नियतले नराखेको दाबी गरिन् । ‘चोरेर खाने भए त दिउँसो पनि राख्नुहुन्नथ्यो होला नि त, राति राति राखिन्थ्यो होला’ उनले भनिन्, ‘हामी यहाँ हुँदाहुँदै राखिएको हो । जमिनमुनि नै किन गाडिएको हो, त्यो चाहिँ उहाँहरू नै जानून् ।’
वन कार्यालयले यस विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । वन कार्यालयले सामुदायिक वन परिसरमै भेटिएकाले पदाधिकारीहरूकै संलग्नता हुने आशङ्का गरेको छ । यस्तोमा वन ऐन, नियमावली, कार्ययोजना, विधान बमोजिम कारबाही हुने डिभिजन प्रमुख साह बताउँछन् । उनका अनुसार कामको प्रकृतिका आधारमा कारबाही चल्ने भएकाले अहिले यही दफाअनुसार कारबाही हुन्छ भनेर भन्न नसकिने बताए । वन समितिलाई पनि आमभेलाले कारबाही गर्ने अधिकार रहेको उनले बताए ।