धरान । धरानको गोर्खा बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ३० जना शेयर सदस्यहरूलाई कृषिसम्बन्धी तालिम दिएको छ ।
सहकारीको सातवटा सिद्धान्तमध्ये पाँचौ नम्बरको सिद्धान्त ‘शिक्षा, सूचना र तालिम’ अन्तर्गत रहेर शनिबार र आइतबार कृषिसँग सम्बन्धित विभिन्न तालिम एक साथ दिएको अध्यक्ष मानबहादुर राईले जानकारी दिए । उनका अनुसार संस्थाको वार्षिक नीति तथा योजनामा पनि तालिम दिने कार्यक्रम राखिएको थियो ।
धरान–८ स्थित यलम्बर सामुदायिक वनको भवनमा दुई दिने तालिममा खसीबाख्रा, बङ्गुर, स्थानीय जातको कुखुरा, ब्रोइलर कुखुरा पालन, दाना बनाउने, रोग पहिचान तथा उपचारसम्बन्धी तालिम दिएको उनले जानकारी दिए । पहिलो दिन खसीबाख्रा, बङ्गुर, करेसाबारीको तयारी तथा व्यवस्थापन तालिम दिइएको छ ।
त्यस्तै दोस्रो दिन स्थानीय र ब्रोइलर जातको कुखुरा पालनसम्बन्धी, बङ्गुर पालनसम्बन्धी, रोग र उपचारसम्बन्धी तालिम दिइएको छ । आफ्ना शेयर सदस्यहरूलाई आत्मनिर्भर बनाउँदै जीवनयापनसँगै जीवनस्तर उकास्ने उद्देश्यले तालिम आयोजना गरिएको उनले जानकारी दिए ।
तालिममा पशु डाक्टर विर्खराज राई, प्रकाश यादव, प्राविधिकहरू सुमन विष्ट र किशोर त्रिखत्रीले सहजीकरण गरेका थिए । पशु तथा चौपाया पालन गर्दा अपनाउनुपर्ने सावधानी, रोगको पहिचान, रोग लागेपश्चात् उपचार गर्ने विषयमा जानकारी दिइएको थियो । त्यस्तै दाना बनाउँदा ध्यान दिनुपर्ने कुराहरू पनि जानकारी गराइएको अध्यक्ष राईले जानकारी दिए ।