बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा रहेको बुधबारे हाटमा लगभग २ सय ५० जना व्यवसायीको व्यवसाय सञ्चालनमा छ । नगरपालिकाको स्वामित्वमा रहेको १ बिघा ३ कठ्ठा जमिनमा उनीहरूले वर्षाैंदेखि व्यवसाय गर्दै आएका छन् ।
त्यस स्थानमा नगरपालिकाले बहुतले भवन निर्माण गर्ने योजना अघि सारेको छ । सवारी साधन पार्किङसहितको भवन निर्माण गर्ने नगरको विगत ६ वर्षदेखिको योजना भने पूरा हुन सकेको छैन । त्यहाँ व्यवसाय सञ्चालन गर्ने व्यवसायीले निर्माण गरेको संरचना नहटाएपछि आधुनिक व्यापारिक भवन निर्माण गर्ने नगरको योजना अलपत्र छ । बिर्तामोडमा सबैभन्दा ठूलो समस्या भनेको सवारी पार्किङको हो ।
पार्किङ गर्ने स्थान अभाव भएका कारण यहाँ सडकमा सवारी साधन राख्नुपर्ने अवस्था छ । यो अवस्थाको थोरै भए पनि अन्त्य गर्न नगरपालिकाले बहुतले भवन निर्माण गर्न लागेको हो । ‘नगर गौरव’ को आयोजनाका रूपमा रहने त्यो भवन निर्माण गर्न १ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । बिर्तामोड नगरपालिकासँग दोहोरो सम्झौता गरेर त्यस स्थानमा ७२ जना व्यवसायीले व्यापार सुरु गरेका थिए । खाली जमिन देखेपछि अन्य व्यवसायीले पनि टहरा निर्माण गरेर त्यस स्थानमा पसल थापे । तर, उनीहरूले नगरपालिकालाई मासिक भाडा भने तिर्दै आएका छन् । कति त अतिक्रमण गरेर समेत बसेको नगरपालिकाले जनाएको छ । अहिले अनुमति विना बसेका व्यवसायीले समेत ठाउँ नछोड्ने अडान राखेका छन् ।
त्यहाँका व्यवसायीले भवन निर्माण हुने निश्चित भएमात्र ठाउँ खाली गर्ने भन्दै नगरपालिकाको अनुरोधलाई बेवास्ता गरेका छन् । उनीहरूले व्यवसायीलाई अन्यत्र व्यवस्थापन गर्न माग गरेका छन् । नगरपालिकाले उपप्रमुख नगेन्द्र सङ्ग्रौलाको संयोजकत्वमा त्यहाँका व्यवसायीलाई अन्यत्र व्यवस्थापन गर्न प्रयास गरे पनि सफल हुन नसकेको जनाएको छ । नगरपालिका अब वैकल्पिक व्यवस्था गर्ने भन्ने सहमतिबाट पछि हट्दै ठाउँ खाली गराउन अग्रसर भएको जनाएको छ । तर, ठाउँ खाली गराउन कहिलेबाट सुरु गर्ने भन्ने नगरपालिकाले निश्चित गरिसकेको छैन ।
‘विकल्प खोज्ने जिम्मा नगरपालिकाको होइन’
नगेन्द्र सङ्ग्रौला
(उपप्रमुख बिर्तामोड नगरपालिका)
नगरपालिका उत्तरदायी हुने भनेको सम्झौता बमोजिम बसेका ७२ जना व्यवसायीसँग हो । उनीहरुलाई भवन निर्माण भएपछि व्यवसायका लागि स्थान दिने कुरामा हामी सकारात्मक छौँ । अतिक्रमण गरेर बसेका अरु व्यवसायीसँग नगरपालिकाको कुनै साइनो हुँदैन ।
विशेषगरी यहाँका राजनीतिक दलसँग सहमति गरेर ठाउँ खाली गर्न हामी अघि बढिसकेका छौं । हामीले पहिलो ३५, दोस्रो १५ र तेस्रो १० दिने सूचना प्रकाशन गरिसकेका छौँ । सूचनाको म्याद पनि पूरा भइसकेको छ । अब ठाउँ खाली गराउने प्रक्रियामा जान्छौँ । अवरोध गर्न कसैले पाउँदैन । बिर्तामोडमा १० देखि १५ हजार व्यवसायीले व्यवसाय गरिरहेका छन् । सबै व्यवसायीले कहाँ व्यवसाय गर्नुपर्छ भनेर ठाउँ खोज्ने जिम्मा नगरले लिन सक्दैन । उनीहरुले कहाँ र के व्यवसाय गर्ने भन्ने आफै निर्णय गर्नुपर्छ । नगरपालिकाको सम्पत्ति भनेको यहाँका १ लाख १६ हजार ३ सय ५५ जनाको साझा सम्पत्ति हो । यो सम्पत्ति कसैलाई अंश जसरी दिन मिल्दैन ।
केही राजनीतिक दल त्यहाँका व्यवसायीलाई उक्साउँदै ठाउँ खाली गर्न नदिने योजनामा छन् । म तिनीहरुलाई सोध्न चाहन्छु, ‘तपाईंहरुले कस्तो राजनीतिक संस्कार स्थापना गर्न लाग्नुभएको हो ? विकासमा बाधक बन्ने नै हो त ? खासगरी बिर्तामोड उद्योग वाणिज्य सङ्घले पनि महाभारतको शिखण्डीको जस्तो भूमिका निर्वाह गरेको छ । यस्तो अभिनय नगर्न म वाणिज्य सङ्घलाई अनुरोध गर्दछु । अब बन्न लागेको भवनमा ५ सय जना व्यवसायी अटाउँछन् । पार्किङको पर्याप्त स्थान भएका कारण व्यापारिक हब बन्न सक्ने सम्भावना हुन्छ । यस्ता सम्भावनालाई रोक्ने मान्छे समाजका लागि कलङ्क हुन् । त्यहाँका व्यवसायीलाई म समयभित्र सामान सार्न अनुरोध गर्दछु । अन्यथा नगरपालिका भनेको स्थानीय सरकार हो, सरकार अब चुप लागेर बस्दैन । आफ्नो सम्पत्तिको सुरक्षा गरेरै छोड्छ । हामीले प्रशासनदेखि आवश्यक पर्ने सम्पूर्ण निकायसँग समन्वय गरिसकेका छौं । अब चाँडै जमिन खाली गर्ने प्रक्रिया अघि बढ्छ ।
‘व्यवसायीलाई आतङ्कित नबनाऊँ’
श्रीप्रसाद सिटौला
(अध्यक्ष नेकपा एकीकृत समाजवादी बिर्तामोड)
केही समय पहिले बसेको सर्वदलीय बैठकमा हामीले कस्तो भवन निर्माण हुने भन्ने प्रपोजल माग्यौं । तर, प्रपोजल नै निर्माण भएको रहेनछ । नगरपालिकाको प्राथमिकता चाहिँ त्यहाँका व्यवसायीलाई जसरी पनि धपाउने भनेजस्तो देखिएको छ । हामी त्यो हुन दिँदैनौँ ।
नगरपालिका भनेको यहाँका सारा नागरिकको अभिभावक हो । नगरको जमिनमा सम्झौता गरेर बसेका व्यवसायीलाई नगरले नै भवन निर्माण नभएसम्मका लागि अन्यत्र व्यवस्थापन गर्नुपर्छ । त्यसका लागि व्यवसायीले तोकिएको भाडा बुझाउनु पर्छ । कतिको बैङ्कको ऋण छ, कतिको सहकारीको ऋण छ । साना–साना व्यवसायीहरु त्यहाँ छन् । अब व्यवसायीलाई झुण्डिने अवस्था सिर्जना गर्ने हो ? उनीहरुलाई नगरपालिकाले धम्कीको भाषामा आजै खाली गर, भोलि नै खाली गर भनेर दबाव दिन मिल्दैन । प्रहरी प्रशासनको बलमा ठाउँ खाली गराउने प्रयास गरियो भने त्यो दुर्भाग्य हुनेछ ।
‘पहिला व्यवस्थापन गरौँ’
राजु न्यौपाने
(वरिष्ठ उपाध्यक्ष, उद्योग वाणिज्य सङ्घ बिर्तामोड)
साना व्यवसायीले त्यहाँ व्यवसाय गरिरहेका छन् । उनीहरुलाई त्यतिकै झिटिगुण्टा बोकेर जाओ भन्न मिल्दैन । उनीहरुको उचित व्यवस्थापन गर्नुपर्ने कुरामा नगरपालिकाले प्रभावकारी भूमिका निर्वाह गरोस् भन्ने वाणिज्य सङ्घको भनाइ हो ।
वाणिज्य सङ्घ विकासमा बाधक बन्दैन । तर, हामीले यहाँका नागरिकको संरक्षण नगरले गर्नुपर्छ भन्ने कुरामा अडान राखेको हो । यहाँजस्तै बिर्ताबजारमा पनि समस्या थियो, त्यहाँका व्यवसायीलाई नगरले व्यवस्थापन गरेको छ भने यहाँका व्यवसायीलाई किन गर्न सक्दैन ? व्यवसायीलाई बल प्रयोग गरेर हटाउने प्रयास गरियो भने त्यो सकारात्मक हुँदैन । नगरले बेलैमा सोच्नुपर्छ ।