मोरङ । विराटनगर महानगरपालिकाले आज (शुक्रबार) देखि खुल्लारूपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाएको छ ।

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्लारूपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको महानगर प्रमुख नागेश कोइरालाले बताएका छन् । अभियानलाई सफल बनाउन बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको छ । महानगर प्रमुख कोइरालाले महानगर सरसफाइ, कर सङ्कलन, सडकबत्ती जडान, बिजुलीको पोलमा रङरोगनसहित नम्बरिङ, पार्किङलगायतका अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

उपप्रमुख शिल्पा निराला कार्कीले अभियानलाई सफल बनाउन अनुगमनलाई समेत तीव्र पारिने बताइन् । उनले अस्वस्थ मासुको सेवनले विभिन्न रोग लाग्ने हुँदा उपभोक्ता स्वयम् जागरुक हुनुपर्नेमा जोड दिइन् । अन्तरक्रियामा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले क्रमैसँग माछामासु व्यवसायलाई व्यवस्थित गर्दै लगिने बताए । शुक्रबारदेखि हाटबजार र चोकहरूमा खुल्ला रूपमा मासु बिक्रीवितरण गर्न रोक लगाएको उनले जानकारी दिए ।

यसअघि हाटबजारमा खाट र टेवलमाथि राखेर खुल्लारूपमा मासु बिक्री गर्ने गरिँदै आएको थियो । यस्तै भूइँमा समेत प्लाष्टिक ओछ्याएर मासु बिक्री गर्ने गरिएको छ । अबदेखि यसरी खुल्लारूपमा माछामासु बिक्री गर्नेलाई मासु जाँच ऐन–२०५५ अनुसार कारबाही हुने महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बताए ।