धरान : सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड धरान शाखाले विहिबार निःशुल्क स्थास्थ्य शिविर तथा खूल्ला रक्तदान आयोजना गरी बैंकको १६ औं वार्षिक उत्सव मनाएको छ ।
विराट मेडिकल सेन्टरको प्राविधिक सहयोगमा धरान-१७ स्थित पञ्चकन्या माध्यमिक विद्यालयको भवनमा निःशुल्क स्थास्थ्य शिविर सम्पन्न गरेको हो । शिविरमा १ सय ५० जनाले स्त्रीरोग, नाक/कान/घाटी, जनरल मेडिसिन विभागसँग सेवा तथा परामर्श लिएका छन् भने सुगर, प्रेशर तथा रगत परिक्षण गराएका छन् । बैंकका कोशी प्रदेश प्रमुख प्रदिप सेडाँइको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा विभिन्न रोगसँग सम्बन्धित औषधीहरु समेत निःशुल्क वितरण गरिएको सिटिजन्स् बैंक धरान शाखा प्रमुख तोणर्बहादुर कार्कीले जानकारी दिए ।
विहीबारै धरान-१७ स्थित रेल्वे चोकमा आयोजीत खुल्ला रक्तदान कार्यक्रममा ३९ पिन्ट रगत संकलन भएको विराट मेडिकल सेन्टर धरानका बजार व्यवस्थापक अपिल राईले जानकारी दिए । स्वास्थ्य शिविर र रक्तदानका लागि धरान-१७ वडा कार्यालयले प्रचार प्रसार र समन्वयमा सहयोग पुर्याएको शाखा प्रमुख कार्कीले बताए ।
सोही अवसरमा बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले उपचारमा ५० प्रतिशतसम्म छ्ुट पाउने गरी विराट मेडिकल सेन्टरसँग आपसी समझदारीपत्रमा हस्ताक्षर समेत गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्तअन्तर्गत समूदाय लक्षित कार्यक्रमहरु आयोजना गर्दै आएको र आगामी दिनमा समेत नाफामुखी मात्र नभइ समाजलाई सकारात्मक योगदान पुर्याउने गरी कार्यक्रम ल्याउने बैंकका धरान शाखा प्रमुख कार्कीले बताए ।