इनरुवा । लघुवित्त संस्थाले ज्यादती गरेको भन्दै आन्दोलनमा उत्रिएको महिला समूह र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ ।
सङ्घर्षमा उत्रिएका लघुवित्त पीडितले ११ बजेबाटै पूर्व पश्चिम राजमार्गको इनरुवा सडक–खण्ड अवरुद्ध पारेका थिए । सोही अवरोध खुलाउने प्रयासका क्रममा आन्दोलित पक्षसँग प्रहरीको झडप हुन पुगेको हो । प्रहरीले यातायात सञ्चालनमा अवरोध नगरी आन्दोलन गर्न सम्झाएको थियो ।
यद्यपि, आन्दोलनकारीले भने तीन घण्टाभन्दा बढी समय राजमार्गमा सवारी सञ्चालन हुन दिएनन् । आन्दोलित पक्षले अटेर गरी सुनेको नसुनै गरेपछि भने प्रहरीले उनीहरूलाई लखेटेर सडक खुलाएको थियो । सो क्रममा आन्दोलनकारी पक्षले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरेका थिए । त्यसपश्चात् भने प्रहरी समेतले बल प्रयोग गरेको थियो । सो क्रममा दुवैतर्फका केही सामान्य घाइते समेत भएका छन् ।
आन्दोलनमा सहभागीहरू अधिकांश महिला भएकाले समेत लामो समयसम्म पनि प्रहरीले संयमता अपनाएको थियो । अन्त्यमा बाध्य भएपछि भने सामान्य बल प्रयोग गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ । उता आफूहरूको आन्दोलनमा प्रहरी दमन भएको बताएका आन्दोलनकारीले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।
सङ्घर्ष समिति प्रदेश संयोजक सुशीला थापाले लघुवित्तविरुद्धको आफूहरूको आन्दोलन जारी रहने बताइन् । उनले आफूहरू निर्णायक आन्दोलनमा होमिएकाले आन्दोलन नरोकिने बताइन् ।
पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार लघुवित्तीय संस्थाविरुद्ध सङ्घर्ष समिति सुनसरीले पीडित महिलाहरूलाई सडक आन्दोलनमा उतारेको थियो । सो क्रममा उनीहरू टन्टलापुर घाममै सडकमा सुतेका थिए । आन्दोलनमा सहभागी हुन सुनसरी बाहिरका महिलाहरू समेत सहभागी थिए ।