भद्रपुर । कचनकवल गाउँपालिका–७ बालुवारीस्थित साना किसान कृषि सहकारी संस्थामा भएको हिनामिनाका बारेमा गाउँपालिका कार्यालयले छानबिन सुरु गरेको छ ।

सहकारीका प्रबन्धक युवराज खत्री र सहायक प्रबन्धक निरुमाया राजवंशीले १ करोड ४६ लाख रकम हिनामिना गरेको विषयमा गाउँपालिकाले छानबिन सुरु गरेको हो ।

सहकारीमा भएको हिनामिनाका विषयमा गाउँपालिकाको न्यायिक समितिमा उजुरी परेपछि पालिकाले छानबिन समिति बनाएर प्रक्रिया सुरु गरेको छ । गाउँपालिकाले सहकारी शाखा अधिकृत गौरव रिजालको संयोजकत्वमा साना किसान लघुवित्तका तीर्थ ओझा र राजस्व परामर्श समितिका संयोजक पञ्चानन राजवंशीसहितको छानबिन समिति बनाएको छ । सो समितिले प्रारम्भिक प्रतिवेदन बुझाइसकेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए ।

प्रतिवेदनमा धेरै रकम अपचलन भएको र प्रबन्धक खत्रीले बैङ्कबाट झिकेको १० लाख रकमसमेत नबुझाएको उल्लेख छ । हिनामिनामा संलग्न भनिएका खत्री र राजवंशीको परिवारलाई ७ दिनभित्र आफ्नो जवाफ पेश गर्न पत्र पठाइएको उपाध्यक्ष भट्टराईले बताए । वैशाख ४ गते कार्यालयमा छलफल राखिने उनले जानकारी दिए ।

छानबिन समितिले अझै अनुसन्धान गरिरहेको उपाध्यक्ष भट्टराईले बताए  । सयौं सर्वसाधारणको रकम डुबेकोले यसलाई टुङ्गोमा पु¥याउने उनको भनाइ छ । हिनामिना गर्नेलाई गाउँपालिका कार्यालयले कारबाही गर्न नसक्ने भएपछि त्यसलाई कानूनी कारबाहीका लागि प्रहरीमा पठाउने विषयमा सल्लाह भइरहेको जानकारी दिए ।

बचतकर्ताको रकम र लगानी डुब्न नदिइने उनको भनाइ छ । उनीहरूको अचल सम्पत्तिबाट भए पनि रकम असुल गरिने उनले जनाए । संस्थामा केही वर्षअघिको तथ्याङ्कमा ६ सय ६४ जना शेयर सदस्य रहे पनि हाल कम रहेको संस्थाकी अध्यक्ष लक्ष्मी सुब्बाले बताइन् । गाउँपालिकाबाट बनेको छानबिन समितिले कागजात अध्ययन गरिरहेकोले बाँकी विवरण छानबिन समितिबाट नै थाहा हुने उनले  जानकारी दिइन् ।

पहिलो चरणको प्रतिवेदन गाउँपालिकालाई बुझाइसकिएको छानबिन समितिका सदस्य तीर्थ ओझाले बताए । प्रमाण फेला पार्ने काम भइरहेको र छानबिन जारी रहेको उनको भनाइ छ । पूर्ण प्रतिवेदन आइसकेपछि सार्वजनिक गरिने उनले जानकारी दिए ।

कचनकवल–७ स्थायी ठेगाना भएका खत्री गत चैत ११ गतेदेखि रकम हिनामिना गरी फरार भएका छन् । तालिमका लागि पोखरा जान्छु भनी हिँडेका खत्री नफर्किएको बताइएको छ ।