भद्रपुर । साना किसान सहकारी कचनकवलका प्रबन्धक एक करोड ४६ लाख रुपैयाँ हिनामिना गरी फरार फरार भएको पाइएको छ ।

 कचनकवल गाउँपालिका– ७ बालुवारीस्थित साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक युवराज खत्री १ करोड ४६ लाख रकम हिनामिना गरी फरार भएका हुन् ।  कचनकवल ७ स्थायी ठेगाना भएका खत्री गत चैत ११ गतेदेखि रकम हिनामिना गरी फरार भएको संस्थाका  कर्मचारीले बताएका छन् । 

सहायक प्रबन्धक निरुमाया राजवंशीसँग मिलेर दुवैले रकम हिनामिना गरेको संस्थाकी अध्यक्ष लक्ष्मी सुब्बाले बताइन् । प्रबन्धक खत्री र सहायक प्रबन्धक राजवंशीले १ करोड ४६ लाख रकम हिनामिना गरेको कुरा स्वीकार गर्दै मन्जुरीनामा गरेको अध्यक्ष सुब्बाले बताइन् । सहायक प्रबन्धक राजवंशीलाई संस्थाले निलम्बन गरिसकेको छ ।

उनलाई निगरानीमा राखिएको छ । संस्थाको हरहिसाब हेर्ने काम भइरहेको अध्यक्ष सुब्बाले जानकारी दिइन् । सो संस्थामा ६६४ जना शेयर सदस्य रहेका छन् ।