विजयपुर । धरान उपमहानगरले मेयरकोष कार्यविधि नबनाई नगरप्रमुखको तोक आदेशमा खर्च गरेको महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय आर्थिक अवस्थासमेतको आधारमा बजेट तथा कार्यक्रमको प्राथमिकीकरणका आधार तयार गरी स्रोत अनुमान तथा सीमा निर्धारणका आधारमा अबण्डा नराखी आय–व्यय अनुमान पेश गर्नु पर्ने व्यवस्था छ ।

तर, नगरले नगरप्रमुख कोषमा चालुतर्फ २५ लाख र पुँजीगततर्फ ५० लाख रुपैयाँ गरी ७५ लाख अबण्डा बजेट व्यवस्था गरी विभिन्न ३८ वटा योजनामा ७२ लाख ४२ हजार ३२ रुपैयाँ ४४ खर्च गरेको छ । मेयरकोषको खर्च नियमविपरीत नदेखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा ‘मेयरकोषको बजेटमा मितव्ययिता, वित्तीय अनुशासन र पारदर्शिता कायम भएको छैन । तसर्थ बजेट खर्चलाई पारदर्शिता र पद्धतिमा आधारित बनाउँदै कार्यविधि बनाएर मात्रै खर्च गर्नुपर्दछ’–प्रतिवेदनमा भनिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ अनुसार वडा कार्यालयमा कार्यालय सहयोगी नियुक्त गर्न पाइँदैन । तर,  धरानका २० वटै वडा कार्यालयहरूले ७१ जना कार्यालय सहयोगी नियुक्त गरेका छन् । सबैभन्दा बढी कार्यालय सहयोगी वडा नं. ९ र १५ कार्यालयले ६ जना नियुक्त गरेका छन् । वडा नं. ५ र १६ को कार्यालयले ५–५ जना कार्यालय सहयोगी नियुक्त गरेका छन् । अन्य कार्यालयहरूले दुईदेखि चार जनासम्म कार्यालय सहयोगी नियुक्त गरेका छन् ।

वडाहरूका कार्यालय सहयोगीलाई १ करोड १५ लाख ११ हजार रुपैयाँ भुक्तानी गरेको छ । प्रतिवेदनले यसलाई अनियमित भुक्तानी गरेको देखाएको छ । नगरका कर्मचारीले नीतिविपरीत विभिन्न तालिममा आफै प्रशिक्षक बनेर भत्ता बुझेका छन् । प्रशिक्षक बनेर भत्ता बुझ्नेमा नगर कर्मचारीदेखि वडासचिवसम्म रहेको प्रतिवेदनले देखाएको छ ।

अर्थमन्त्रालयले जारी कार्य सञ्चालन निर्देशिका २०७७ अनुसार तालिम प्रतिष्ठानबाहेक अन्य निकायबाट सञ्चालित सबै प्रकारको तालिमका स्रोतव्यक्ति तथा प्रशिक्षकको पारिश्रमिक नगरपालिकास्तरीय भएमा कार्यक्रम बापत ८ सय र कक्षा सञ्चालन बापत ७ सय गरी १५ सय भुक्तानी गर्न सक्ने व्यवस्था छ ।

तर, नगरले सञ्चालन गरेको तालिममा सोही कार्यालयको स्रोत व्यक्ति भएको अवस्थामा कक्षा लिए बापतको पारिश्रमिक नपाउने व्यवस्था छ । पालिकाका कर्मचारीले प्रशिक्षक बनेर भत्ता लिएका छन् । निर्देशिकामा कार्यपत्र बापत ८ सय भुक्तानी दिनुपर्ने व्यवस्था भए पनि नगर तथा वडाका कर्मचारीले कक्षा लिए बापत भत्ता लिएका छन् । नगरले आफै प्रशिक्षक बनेर लिएको ६५ हजार ७ सय ९० सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने देखाएको छ ।

कर्मचारी नै प्रशिक्षक हुनेहरूमा आकृति राई, गङ्गा तामाङ, जनार्दन कोइराला, हिमाल गौतम, मदन खनाल, महेन्द्रकुमार पैकरा, प्रकाश यादव, धु्रवकुमारी राई, विर्खराज राई, किशोर त्रिखत्री, रेनुका तामाङ, लक्ष्मीप्रसाद पौडेल, उमेश मेहेता, रामकुमार राई, नगेन्द्र तामाङ, रविना कार्की, रोशन रेग्मी, मनोज भट्टराई, ध्रुवराज खड्का, नारद गुरागाईं, रमेश श्रेष्ठ, गङ्गा राई, चिनाशोभा राई र रामबाबु यादव, दीपा अधिकारी, राजकुमार खतिवडा, रूपेश आचार्य र विद्या शाक्य रहेका छन् ।