विराटनगर । विराटनगर महानगरपालिकाले गरेको पार्किङ निषेधको निर्णयको विरोधमा यहाँका व्यापारीहरूले पसल बन्द गरेका छन् । विराटनगर मेन रोडका व्यापारीले नो पार्किङको विरोध गर्दै बुधबार दिउँसो बजार बन्द गरेका हुन् । 

दुई महिना अगाडि विराटनगर महानगरपालिकाले  मेन रोडको  जलजला चोकदेखि ट्रफिक चौंकसम्म र  व्यस्त रहने भित्री सडकमा नो पार्किङको निर्णय गरेको थियो । पार्किङका लागि बैकल्पिक व्यवस्था गरेर मुख्य बजारमा नो पार्किङ  लागु गरिएको मेयर नागेश  कोइरालाले बताए  । तर व्यापारीले आफ्नो व्यापार  घटेको भन्दै सडकमा नै पार्किङ गर्न पाउनुपर्ने माग गर्दै आएका छन् । उनीहरुले महानगरपालिकाले व्यवस्थित रुपमा पार्किङको व्यवस्था मिलाइदिनुपर्ने बताएका छन् ।

पार्किङ निषेधको निर्णयको व्यापारीले अवज्ञा पनि गरेका छन् ।  व्यापारीले पार्किङ निषेधलाई अवज्ञा गरेपछि महानगरले सडक किनारमा राखेका सवारीलाई लक गरेर राखेको छ । पार्किङ निषेधित अभियानमा महानगरपालिका कठोर बनेपछि व्यापारीले प्रदर्शन गरेका हुन् ।

अनुगमन टोली पुगेपछि पससल बन्द 

मूल्य, तौल र गुणस्तरमा ठगिएको उपभोक्ताबाट व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा बुधबार संयुक्त बजार अनुगमन गरिएको छ । 

जलजला रोडस्थित बजरंग ज्वेलर्सको अनुगमन गर्दा कालीगढ तथा कामदारहरूलाई श्रम ऐनविपरीत हुनेगरी पारिश्रमिक दिएको पाइएको छ । आफ्नो पारिश्रमिकका विषयमा कामदारसमेत अनभिज्ञ रहेको र कामदारहरूको सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम नगरी श्रमिकहरूको अधिकारबाट वञ्चित रहेको पाइएको महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल जानकारी दिए । 

टोलीले खाद्य, लत्ताकपडा, सुनचाँदी, जुत्ताचप्पल, होटललगायतका पसलहरूको अनुगमन गर्ने कार्यक्रम भए पनि व्यापारीहरूले पसल बन्द गरेका कारण बुधबारको पूर्वनिर्धारित अनुगमनलाई स्थगित गरिएको थियो । अनुगमन टोली पुगेपछि व्यापारीहरूले पसल बन्द गरेका थिए ।

व्यापारीहरूले पार्किङको कारण देखाउँदै पसल बन्द गरेका थिए । ‘व्यापारीहरूले हामी पुग्ने बित्तिकै पसल बन्द गर्न थाल्नुभयो,’ पौडेलले भने, ‘यो नियमित र संयुक्त अनुगमन भएकाले महानगरले अघि सारेको पार्किङ व्यवस्थापनसँग यसको कुनै सम्बन्ध छैन । व्यापारी तथा व्यवसायीहरूले बुझिदिनुपर्छ । साथै व्यापारीहरु पनि उपभोक्ता नै हुन् । बजार सुशासन कायम गर्नका लागि उहाँहरुको सक्रिय सहभागिताको समेत हामी अपेक्षा गर्दछौं ।’  

अनुगमनमा महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, बजार निरीक्षण अधिकृत सरोजकुमार गौतम, महानगरका धीरज राई, गुणस्तर तथा नापतौल कार्यालयकी सुशीला तामाङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वीरेन्द्रकुमार दास, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका दीर्घबहादुर घिमिरे, उपभोक्ता हित संरक्षण मञ्चका तारानाथ भट्टलगायत तीनै तहका सरकारका कर्मचारी प्रतिनिधिको सहभागिता रहेको थियो ।