विराटनगर । विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना सञ्चालकहरू विरुद्ध ठगी मुद्दा दायर भएको छ । बचतकर्ताहरूले जम्मा गरेको करोडौं रुपैयाँ सहकारी ऐन विपरीत हिनामिना गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा मङ्गलबलार ठगीमा मुद्दा दायर गरेको हो ।

फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष  शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा, पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेविरुद्ध ठगीमा मुद्दा दायर भएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । बुधबारदेखि प्रतिवादीहरूको बयान सुरु हुनेछ । बयान सकिए सोहीदिन थुनछेक बहस हुनेछ । बहसपछि अदालतले आदेश गर्नेछ ।

सहकारीका अध्यक्ष शर्मासहित सञ्चालक र प्रबन्धकहरूले ६७ करोड ७६ लाख २१ हजार २ सय ६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ । जसमध्ये मोरङ प्रहरीमा १ हजार ३ सय ७ जनाले दिएको उजुरीको आधारमा मात्र ५० करोड ८८ लाख ७८ हजार ७ सय २८ रुपैयाँ ठगी गरेको देखिएको छ ।

अध्यक्ष शर्माले १६ करोड  ९७ लाख ४२ हजार ५ सय ४० रुपैयाँ सहकारीको श्रेस्तामा नै नचढाई हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ ।  उनीहरूलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (घ), (ङ), (च) र (ज) बमोजिम ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र उपदफा (१) को देहाय (घ) तथा (५) बमोजिम बिगो ५० करोड ८८ लाख ७८ हजार ७ सय २८ रुपैयाँ जाहेरवालाहरूलाई र बिगो १६ करोड ९७ लाख ४२ हजार ५ सय ४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई बिगो बमोजिम जरिबाना तथा कैद सजाय माग दाबी लिएर अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।

सहकारीका सञ्चालकहरूले ३ हजार ६३ जना सर्वसाधारणले जम्मा गरेको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । तुलसीको चारवटा शाखा रहेको छ । विराटनगरमा केन्द्रीय कार्यालयमा सहकारीका सबैभन्दा बढी सदस्य रहेका छन् । विराटनगरमा १ हजार ९ सय ७८ जनाले ६० करोड ४१ लाख ८ हजार ८ सय ६२ रुपैयाँ जम्मा गरेका छन् ।  उजुरी दिन आउनेहरू मोरङका मात्र हुन् ।

झापा, सिरहा र गाईघाट शाखाका बचतकर्ताले उजुरी दिन बाँकी रहेको छ । बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार रहेको हुँदा बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचतलगायत खाताहरूमा बचत भएको देखिएको प्रहरीले जनाएको छ ।

संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशतभन्दा बढी ब्याज, बोनसलगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा परी जाहेरवालाहरूले आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठूलो परिमाणमा रकम बचत गरेको देखिएको छ ।