धनकुटा । धनकुटा नगरपालिका वडा नं. ३ मा रहेको चिउरीबारी फलफूल नर्सरी उद्योगले धनकुटाको बसपार्कमा अत्याधुनिक फलफूल कृषिजन्य उत्पादन तथा जुस पसल सञ्चालनमा ल्याएको छ ।

धनकुटा नगरपालिकाको आ.व. ०७८÷७९ एभोकाडो प्रवद्र्धन कार्यक्रमको ५ लाख आर्थिक सहयोग र उद्योगको ३ लाख ५० हजार लगानीमा उद्योग सञ्चालनमा ल्याइएको प्रोप्राइटर जितेन्द्र आठपहरियाले बताए । उनले हालसम्म निजी लगानीसहित ८ लाख ५० हजारमा चिउरीबारी फलफूल नर्सरी उद्योग धनकुटा–३ लाँकुरेले अत्याधुनिक सजावटमा फलफूल तथा जुस पसल सञ्चालनमा ल्याएको बताए । 

उनले धनकुटा नगरपालिकाको अनुदान र आफ्नो निजी लगानीबाट फलफूल राख्नको लागि फ्रिज १ लाख ५० हजार, जुस बनाउने मेसिन ६५ हजार, ग्लाण्डर २ थान २५ हजारको दरले ५० हजारमा खरिद गरेका छन् । त्यसैगरी मिक्सचर १ वटा ५ हजार, पसलको डेकोरेसन गर्दा कोटेशनमा २ लाख ४० हजार, सिसा ८२ हजार, इलेक्ट्रिक बोर्ड १७  हजार ५ सय, सिसाको शोकेस १५ हजार ५ सय र अन्य आवश्याक सामग्री २ लाख २० हजारमा खरिद गरेका छन् । आठपहरियाले गत माघ महिनामा वसन्त पञ्चमीदेखि पहिलो पटक धनकुटामा फलफूल कृषिजन्य उत्पादन तथा जुस पसल सञ्चालनमा ल्याएका हुन् ।

उनको कृषिजन्य फलफूल तथा जुस पसलमा एभोकाडो, अनार, सुन्तला, स्याउ, खर्वुजा, उखु, अङ्गुर, आँपको सिजनमा आँपको जुस उपलब्ध हुन्छ । अहिले जितेन्द्रको जुस पसलमा एभोकाडोको जुस सिजनको सुरुमा १ सय रुपैयाँ प्रतिगिलास, सिजन अफ हुँदै गएपछि १ सय ५० ले बिक्री हुन्छ । त्यसैगरी उनको पसलमा सुन्तलाको जुस प्रतिगिलास १ सय, अनारको जुस २ सय, स्याउ÷खर्वुजाको जुस १ सय, आँपको जुस १ सय र उखुको जुस ५० रुपैयाँमा पाइन्छ । गर्मीयाम सुरु भएसँगै विशेष गरेर एभोकाडोको जुस सबैभन्दा बढी बिक्ने गरेको आठपहरिया बताउँछन् । तर, सामान्यतया चैत अन्तिमदेखि एभोकाडोको सिजन नै सकिने भएकाले ग्राहकको रोजाइअनुसारको एभोकाडोको जुस उपलब्ध गराउन नसकिने सञ्चालक आठपहरियाले बताए ।

उनले धनकुटामा भदौ, असोज महिनादेखि चैतसम्म एभोकाडोको जुस ग्राहकलाई खुवाउन सकिने उनले बताए । धनकुटामा स्थानीय फलफूलहरूमध्ये सिजनमा एभोकाडो, आँप, सुन्तलाको र बाह्रै महिनाजस्तो उखुको जुस उत्पादन गर्न सकिन्छ । स्याउ, खर्वुजा, अङ्गुर र अनारको भने बजारमा उपलब्ध भएअनुसार जुस उत्पादन गर्न सकिने सञ्चालक आठपहरियाले बताएका छन् ।

उनले जुस पसलमा काम गर्नको लागि २ जना कामदार पनि राखेका छन् । गत माघ महिनाको वसन्त पञ्चमीदेखि सुरु गरिएको जुस पसलबाट जितेन्द्रले चैत १५ सम्म करिब २ महिनाको अवधिमा एभोकाडोबाट मात्र ५० हजार र अन्यबाट १ लाख ५० हजार गरी जम्मा २ लाखभन्दा बढी कमाएका छन् । धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले नगरभित्रको उत्कृष्ट एक जना फलफूल उत्पादन गर्ने उद्यमीलाई सहयोग गर्ने योजना अनुसार आ.व.०७८/७९ को एभोकाडो प्रवद्र्धन कार्यक्रममार्फत् चिउरीबारी फलफूल तथा नर्सरी उद्योगलाई सहयोग गरिएको बताए ।