इनरुवा । गर्दा के नै हुन्न र ! मात्र इच्छाशक्ति र जाँगर चाहिन्छ । जसको उदाहरण बनेका छन् सुनसरीको भोक्राहाका जब्बासा मियाँ ।
रोजगारीका लागि खाडी मुलुक पुगेका उनी त्यहाँ भनेजस्तो काम र कमाइ नभएपछि स्वदेश फर्किएर माटोसँग खेल्न थाले ।
फलस्वरूप स्वदेशमै उनको त्यो श्रम र मेहनत अनि उनले बगाएको पसिनाले आज उनी स्वयम् मालिक बन्न पुगेका छन् । इनरुवा–८ मा १३ बिगाहा जमिन भाडामा लिएर एकल लगानीमा व्यवसाय थालेका जब्बासा यतिबेला तेस्रो वर्षमा खेती गरिरहेका छन । जसले कुनै बेला ऋण काढेर विदेश होमिएका मियाँलाई आज करोडपतिको किसान बनाइसकेको छ ।
मौसमी खेती गर्दै आएका जब्बासाले यतिबेला खेतभरि काँक्रा र भाण्टा फलाएका छन । भाडाको जग्गामा केरा खेतीसँगै विभिन्न सागसब्जीको उत्पादन बेच्न उनलाई भ्याई नभ्याई छ । उनले मासिक २० हजारसम्म तलब दिएर २० जना कामदारलाई रोजगारीसमेत दिएका छन् ।
आफ्नो खेती पेशामा दङ्ग उनी उब्जाउलाई विस्तार गर्ने सोचमा छन् । उनी भन्छन्, ‘अर्काको अनुशासनमा बस्न र दुःख झेल्न किन विदेश जाने ? आफ्नै माटोमा श्रम बगाए यहीँ छ सबकुछ । परिवार, पैसा अनि शान्ति ।’
विदेशमा भनेजस्तो कमाइ र काम नपाएपछि फर्केर किसानी पेशामा लागेको बताउने जब्बासा वार्षिक १ करोड हाराहारीको आमदानी गर्ने गरेको सुनाउँछन् । उनी भन्छन्, ‘केरा खेतीमा मनग्य आम्दानी छ । तरकारीमा खर्च कटाएर चार भागको तीन भाग आम्दानी गर्न सकिन्छ । कोही कसैले सिक्न चाहे आफूले जानेको सिकाउन सदैव तयार छु ।’
जब्बासाले उत्पादन गरेको तरकारी अधिकांशजसो पूर्वका ठूला बजारमा पुग्ने गर्छ । तर, पनि उनी अझै सन्तुष्ट भने छैनन् । किनकि स्थानीय बजारमा भारतीय व्यापारीको रजाइँ छ । नेपाली उत्पादनले ठाउँ नै नपाउँदा आफूजस्ता किसान मर्कामा पर्ने गरेको उनको दुःखेसो छ ।
उनी भन्छन्, ‘सरकारले हामीजस्ता किसानलाई हेरिदियोस् । सकेको अनुदान दियोस् । जसले वैदेशिक रोजगारीका लागि बाहिरिने युवाशक्तिलाई स्वदेशमा श्रम गर्ने वातावरणको सिर्जना गराओस् ।’