विराटनगर । विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारीको रकम हिनामिना गरी ठगी मुद्दामा मोरङ प्रहरीले लेखा परीक्षण गर्ने चार्टर एकाउन्टेन्ट (सिए) लाई पनि पक्राउ गरेको छ ।
सहकारीको लेखा परीक्षणका क्रममा मिलेमतो गरी ठगीमा सहयोग गरेको आरोप लागेपछि फरार रहेका सिए सितल चन्दलाई मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो ।
चन्दसहित यसअघि पक्राउ परेका सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई ठगी मुद्दामा मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
सहकारीका सञ्चालकहरूलाई पक्राउ गरेपछि उनीहरूविरुद्ध मोरङ प्रहरीमा ठगीमा उजुरी दिने बचतकर्ताको सङ्ख्या पनि बढेको उनले बताए । सोमबार साँझसम्म १ हजार २ सय ३७ जनाले ४८ करोड ४६ लाख रुपैयाँ ठगी गरेको भन्दै मोरङ प्रहरीमा उजुरी दिएका छन् । यो सङ्ख्या अझै वृद्धि भएर जाने उनले बताए । ‘अहिले पनि सयौंको सङ्ख्यामा सहकारीविरुद्ध उजुरी दिन आउने बचर्तकर्ताहरूको भीड लागेको छ’ डिएसपी दहालले भने, ‘यो सङ्ख्या अझै बढ्नेछ ।’
सर्वसाधारणले बचत गरेको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारी संस्थाका अध्यक्ष शर्मासहित ८ जना सञ्चालकविरुद्ध मोरङ प्रहरीले ठगी मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । फरार अध्यक्ष शर्माको खोजी कार्य पनि प्रहरीले तीव्र बनाएको छ ।
सहकारीका सञ्चालकहरूले २१ हजार ७ सय १३ जना सर्वसाधारणको जम्मा गरेको एक अर्ब ४८ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । उजुरी दिन आउने मोरङको मात्र हो । झापा, सिरहा र गाईघाटको विवरण आउनै बाँकी छ ।
‘बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार रहेको हुँदा बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचतलगायत खाताहरूमा बचत भएको देखिन्छ’ मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले भने, ‘संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशतभन्दा बढी ब्याज, बोनसलगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा परी जाहेरवालाहरूले आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठूलो रकम बचत गरेको देखिएको छ ।’
सहकारीका ८ जना सञ्चालकविरुद्ध उजुरी परेको छ । त्यसमध्ये प्रबन्धक खवास, उपाध्यक्ष गौतम र सचिव न्यौपानेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । फरार सूचीमा अध्यक्ष शर्मा, सञ्चालक सदस्यहरूमा आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, अविजाल विश्वकर्मा र बन्टि अधिकारी रहेका छन् । उनीहरूको हकमा मोरङ प्रहरीले आइतबार पक्राउ अनुमति मोरङ अदालतसँग गरेको छ ।
तुलसी सहकारीबाट ठगीमा परेका पीडितहरूको लागि मोरङ प्रहरीले जुनियर अफिसरको नेतृत्वमा छुट्टै निवेदन दिने काउन्टर राखेर जाहेरी लिन थालेको छ । सहकारीमा सर्वसाधारणको १ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ निक्षेप छ । मुख्य कार्यालय विराटनगर रहेको यस सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा शाखा कार्यालय छन् ।