विजयपुर । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीसँग उद्योगी व्यवसायीहरूले अन्तरक्रिया गरेका छन् । शुक्रबार सुनसरी उद्योग वाणिज्य सब्घको आयोजनामा विभागका महानिर्देशक मैनालीसँग उद्योगी व्यवसायीहरूले आफ्ना समस्याका विषयमा अन्तरक्रिया गरेका हुन् । सब्घका सल्लाहकार कृष्णकुमार अग्रवालले उद्योगी व्यवसायीका समस्याहरू महानिर्देशक मैनालीलाई राखेका थिए ।
अग्रवालले मुलुकको पुँजीगत खर्च न्यून हुँदा अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने बताए । उनले धितो बजारमा उद्योगी व्यवसायीको १५ सय अर्ब गिरावट आएको र विभागको ८ सय अर्बमा मात्रै गिरावट आएको बताउँदै भने, 'गाडी दुर्घटना भएमा सबैभन्दा बढी उद्योगी घाइते हुन्छन् ।’ उनले महानिर्देशक मैनालीसँग कारोबार नै नगरेका व्यवसायीसँग कर असुल गर्ने गरेको गुनासो गरे । उनले व्यवसायीको नियन्त्रणमा लिएको खाता तथा रसिदहरू समयमा फिर्ता नगरी समस्यामा पार्ने गरेको बताए ।
अग्रवालले व्यवसायीका समस्या समाधान गर्न माग गर्दै ध्यानाकर्षण पत्र पनि बुझाएका छन् । सुनचाँदी व्यवसायी मोहनकाजी शाक्यले सुनचाँदी व्यवसायीको नीति नबनेसम्म राज्यलाई अपेक्षाकृत राजस्व सब्कलन नहुने बताए । उनलेभने, 'राज्य आफ्नै नीतिका कारणले समस्यामा पर्दै आएको छ ।’ सुनचाँदी व्यवसायीलाई सुरक्षा संयन्त्रदेखि विभिन्न सरकारी निकायले दुःख दिने गरेको बताउँदै भने, 'हाम्रा सामान परीक्षण गर्ने अधिकार कसको हो ? श्वेतपत्र जारीगर्नुपर्ने आवश्यकता छ ।’
उनले नीतिगत समस्याका कारणले अवैधानिकरूपमा धितोको कारोबार पनि हुने गरेको बताए । उनले सरकारले व्यवसायीलाई सेवा नदिई राजस्व मात्रै असुल गर्ने नीति अख्तियार गरेको बताए । प्लास्टिक व्यवसायीले राज्यका निकायदेखि नै पनि बक्यौता भुक्तानी नगर्दा समस्या झेल्नुपरेको बताए ।
आन्तरिक राजस्व कार्यालय धरानका कर अधिकृत गोविन्दराज आचार्यले ५० लाखभन्दा माथिको व्यवसायमा अनिवार्यरूपमा मूल्य अभिवृद्धि कर लाग्ने बताए । उनले भने, '५० लाखभन्दा बढीको कारोबार भएमा भिएटीमा दर्ता हुनैपर्छ ।’ आन्तरिक राजस्व विभागका निर्देशक मैनालीले नीतिगतरूपमा सञ्चालित उद्योगी व्यवसायीलाई कुनै समस्या नभएको बताए ।
उनले समयमा राजस्व भुक्तानी नगर्ने, नीतिगतरूपमा नचलेका व्यवसायीलाई मात्रै समस्या हुने बताए । उनले भने,'म व्यवसायीको सहजताका लागि काम गरिररहेको छु । अनावश्यक दुःख दिने कर अधिकृतहरूलाई लिखित स्पष्टीकरण पनि सोधेको छु ।’ उनले उद्योगी व्यवसायीका समस्या समाधान गर्न पहल गर्ने बताए । सब्घका उपाध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका निर्देशक जीवनराज ज्ञवाली, सब्घका पूर्वअध्यक्ष तथा पदाधिकारी, उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो ।