धरान । धरान रङ्गशालामा जारी धरान एक्स्पो शनिबार समापन भएको छ । सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा सम्पन्न एक्स्पोको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले समापन गरे ।

उनले यस्ता एक्स्पोले आर्थिक चलायमान बनाउने बताए । सुनसरी क्षेत्रको व्यावसायिक, औद्योगिक, कृषि, साहित्य, शिक्षा, सूचना तथा प्रविधि, पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फागुन ११ गतेदेखि एक्स्पो सुरु भएको थियो ।

एक्स्पोको उद्घाटन प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । एक्स्पोका संयोजक गोपाल श्रेष्ठका अनुसार एक्स्पोमा सोचेअनुरूपको कारोबार भएन । तर, यस एक्स्पोले धरानको आर्थिक गतिविधिलाई चलायमान बनाउने काम भने गरेको उनले बताए । उनका अनुसार नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान गरी १ सय १६ वटा स्टल सञ्चालनमा थिए ।

त्यस्तै मनोरञ्जनात्मक खेल तथा रोटेपिङलगायतको सुविधा रहेको थियो । त्यस्तै हरेक साँझ स्थानीय तथा राष्ट्रिय कलाकारले प्रस्तुति दिएका थिए ।

एक्स्पोमा समिर श्रेष्ठ, छेवाङ लामा, राजेशपायल राई, आस्था राउत, डिल्ली फोम्बो, दीपक लिम्बू, सुगम पोखरेल, ‘सबिन राई एन्ड फारोह’ र ‘द इमिमेन्ट्स’ ले प्रस्तुति दिएको आयोजकले जनाएको छ । एक्स्पो अवधिभर ‘स्वरोजगार तालिम’ र ‘पर्यटन गोष्ठी’ कार्यक्रम गरिएको थियो ।