धरान । आइतबार राति आएको हावाहुरीका कारण धरान एक्स्पोको करिब ४२ वटा स्टलहरूमा आंशिक र पूर्ण क्षति पुर्याएको छ ।

एक्स्पो मूल आयोजक समितिका संयोजक गोपाल श्रेष्ठका अनुसार करिब ४२ वटा स्टलमा क्षति पुर्याएको छ । त्यसमध्ये झण्डै ३० वटामा पूर्णरूपमा क्षति पुर्याएको हो भने बाँकीमा आंशिक क्षति पुर्याएको हो । उनले भने, ‘उत्तरपट्टिको १६ वटा स्टल त सबै नै सखाप पार्यो । खानेकुराहरू पनि क्षति पुग्यो । बीचको पोल पनि लडाइदियो ।’ उनका अनुसार करिब ५० लाखको हाराहारीमा क्षति भएको अनुमान गरिएको छ । उनका अनुसार सबैभन्दा बढी स्टल बनाउनेको सामानमा क्षति पुगेको छ । त्यस्तै गेटहरूमा पनि क्षति पुगेको छ ।

कार्यपालिकाले खेलबारे गरेन निर्णय
धरान एक्स्पोमा सञ्चालित मनोरञ्जनात्मक खेलहरूबारे धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको छैन । सोमबार बसेको कार्यपालिका बैठकले सम्पूर्ण अधिकार नगरप्रमुखलाई रहने गरी जिम्मेवारी दिएको कार्यपालिका सदस्य दिनेश गजमेरले जानकारी दिए । उनले भने, ‘एक्स्पोको मनोरञ्जनात्मक खेलका विषयमा प्रस्ताव आएको थियो । कार्यपालिका सदस्यहरूले सम्पूर्ण अधिकार मेयरलाई नै दिएका छौँ ।’

कार्यपालिकाका अधिकांश सदस्यहरूले एक्स्पोको अनुमति कार्यपालिकाको बैठकबाट निर्णय भएर नदिएकाले पनि यस विषयमा थप बोल्नु नपर्ने देखिएको भन्दै पन्छिएका थिए । प्रशासनले अनुमति दिएकाले प्रशासन नै सबै कुराको जिम्मेवार रहने र नगरप्रमुखलाई ‘जे ठीक लाग्छ, सोहीअनुसार जानेगरी’ अधिकार दिइएको उनले जानकारी दिए । यता मेला संयोजक श्रेष्ठले भने कार्यपालिका बैठकबाट मनोरञ्जनात्मक खेलको अनुमति दिएको दाबी गरे । ‘आजको बैठकले मनोरञ्जनात्मक खेलहरू खेलाउने अनुमति दिइसकेको छ’ –उनले भने । तर, कार्यपालिका सदस्यहरूलाई यस विषयमा बुझ्दा सम्पूर्ण अधिकार नगरप्रमुखलाई नै दिएको बताएका छन् ।

कार्यपालिका सदस्यहरूले ‘कार्यपालिकाको बैठकबाट अनुमोदन भएको पनि होइन, यसको तजबिजी अधिकार तपाईं (नगर प्रमुख)मै रहने गरी’ भनेपश्चात् निर्णय हुन सकेन ।

नगरप्रमुख हर्कराज राईलाई सम्पूर्ण अधिकार दिएसँगै मनोरञ्जनात्मक खेलमा अनुमति दिइएको छ । सोमबारबाट रोटेपिङ सञ्चालनमा आएको छ । अनुमति नलिई सञ्चालनमा ल्याउन लागिएको भन्दै एक्स्पोको पहिलो दिनबाट नै पालिकाले रोटेपिङमा रोक लगाएको थियो । ‘आवश्यक प्रक्रिया पूरा गरे पनि पालिकासँग समन्वय हुन बाँकी रहेको थियो, त्यसलाई हामीले पूर्णता दिएका छौँ’ एक्स्पो संयोजक श्रेष्ठले भने, ‘पालिकाबाट अनुमति प्राप्त भएसँगै आजबाट एक्स्पोमा रोटेपिङ सञ्चालनमा आएको छ ।’