झापामा ट्रान्सपोर्टको गाडीमा नक्कली कपालको तस्कारी हुने गरेको पाइएको छ । सशस्त्र प्रहरी वल बैगुनधुराको टोलीले झापा गौरादह नगरपालिका ७ ग्वालडुब्बाबाट बुधवार राती नक्कली कपाल बोकेको ट्रक नियन्त्रणमा लिएपछि कपाल तस्करी हुने गरेको खुलेको हो ।

राती १० बजेको समयमा झापाको ग्वालडुबाबाट काठमाण्डौतर्फ जादै गरेको ना ७ ख २१९६ नम्बरको ट्रकबाट बिलविजक नभएको ३३ पोकामा रहेको ९९० केजी नक्कली कपाल र अन्य विलविजक भएका समेत काठका सामान, कपि र कपडाहरु प्रहरीले वरामद गरेको छ ।

उक्त विल विजक नभएको नक्कली कपालको मुल्य ३९ लाख रुपैँया पर्ने समेत शसस्त्र प्रहरी वलका २ नम्बर गण झापाका डिएसपी प्रेम भण्डारीले बताए । उक्त ट्रक निलकण्ठ ढुवानी सेवाको भएको र उक्त वरामद सामान र ट्रकलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको भण्डारीले बताए ।

बिर्तामोडबाट काठमाण्डौका लागि हिडेको उक्त ट्रक पुन बाटोमा नक्कली कपाल लोड गरेर राती काठमाण्डौ तर्फ जान लाग्दा विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।