बिर्तामोड । झापामा एक भारतीय नागरिकसहित चारजना लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले बुधवार दिउसो सवा २ बजे भद्रपुर नगरपालिका– ३ स्थित झोलुङ्गे पुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेको भारत पश्चिम बङ्गाल दार्जिलिङ थाना खोरीबारी भेलकोजोत निवासी निखिल विश्वासलाई ३ ग्राम ८०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

त्यस्तै लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बुधवार बेलुका ७ बजे बिर्तामोड नगरपालिका–२ स्थित चारपानेबाट सोही ठाउँका बद्री राजवंशीलाई ३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

बुधवार राती ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–९ स्थित ईटाभट्टाबाट को २९ प २२३४ नम्बरको मोटरसाइकलमा सवार गौरादह नगरपालिका १ बस्ने भीमबहादुर श्रेष्ठ र सोही ठाउँका मोहन सिलवाललाई २५ ग्राम ब्राउन सुगर र नगद १० हजारसहित पक्राउ गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । पक्राउ परेका चारैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको डीएसपी पाठकले बताए ।