विजयपुर । धरान–१४ स्थित पिण्डेश्वरमा जल चढाउन आउने भक्तजनहरूलाई आक्रमण गरी लुटपाट गर्ने २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–४ का विवेश राई र चक्रमान राई रहेको इलाका प्रहरी कर्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार रकमसहित ४ वटा मोबाइल र सुनको सिक्री लुटपाट गर्दागर्दै नै पक्राउ गरेको हो । उनीहरूको समूहका अन्यलाई भने खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
सोमबार मन्दिरमा जल चढाउन आएका भक्तजनलाई धारिलो हतियारले आक्रमण गरी लुटपाट गरेका थिए । प्रहरीका अनुसार ४ वटा मोबाइल लुटेका छन् । जसमध्ये एउटा मोबाइल भने फेला परेको छ ।
पीडितहरू जल चढाउन सुनसरीको झुम्का, पकली, रामधुनी, प्रकाशपुर र इटहरीबाट चतरास्थित सप्तकोसी नदी पुगेर जल लिई धरान–१४ स्थित पिण्डेश्वर बाबाधाम आएका थिए ।
जल चढाएर बूढासुब्बा मन्दिरको उत्तरपूर्व झोलुङ्गे पुलमा घुम्न गएको बेला आइतबार राति १ः३० बजे पुलमा लुटेराहरूले लुटेको पीडितले बताएका थिए । पीडितका अनुसार ७ जनाको समूहले लुटपाट गरेको थियो । लुटेराले गीता चौधरीको नगदसहित मोबाइल, निखिल चौधरी, अमिर चौधरी र चन्दनकुमार सिंहको नगदसहित मोबाइल लुटेको पीडितले बताए ।