विराटनगर । नेपालको पहाडी जिल्लामा उत्पादन हुने जाँगाको भारततीर तस्करी हुने क्रमम मौलाएर गएको छ । गाँजाको तस्करी धन्दामा लाग्ने गिरोहले अनेक जुक्ति लगाएर भएपनि भारत तस्करी गर्न खोज्ने गरेको पाइएको छ ।

भारत तस्करी हुन लागेको १५६ केजी गाँजा बरामद गरेको एक साता बित्न नपाउँदै प्रहरीले फेरी ३६ केजी गाँजासहित एक जना भरियालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरले सोमबार मध्यरातमा भारत तस्करी हुन लागेको ३६ केजी गाँजासहित एक जना भरियालाई पक्राउ गरेको हो ।

मोरङ जहदा गाउँपालिका –२ हरीनगरा स्थित भारत तर्फ तस्करी हुन लागेको ३६ केजी प्लास्टिकमा प्याक गरी टाउकोमा बोकी लादै गरेको गाँजासहित २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेको गुरुङ भरिया हुन् । उनले निश्चित रकम पाउने लोभमा तस्करीको गाँजा गन्तव्यसम्म पु¥याउने जिम्मा लिएका थिए । प्रहरीले बरामद गरेको गाँजा इप्रका रानीबाट करिब ७ किलोमिटर पूर्व पर्दछ । पक्राउ परेका गाँजा र गुरुङलाई पक्राउ गरी इप्रका रानीले मङ्गलवार मोरङ अदालतमा लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्नेछ ।

प्रहरीले शुक्रबार मात्र बन्दा कोपी बोकेर भारततिर जान लागेको ट्रकबाट १५६ केजी गाँजा बरामद गरेको थियो । प्रदेश १ –०२– ००१ ख ८६७७ नम्बरको ट्रकमा लोड गरी बन्दा कोपी बोकेर हिँडेको ट्रक भित्रबाट प्रहरीले गाँजा र चालकलाई पक्राउ गरेको थियो ।

पूर्वी नेपालको पहाडी जिल्लामा उत्पादन भएको गाँजा भारतमा महँगो मूल्यमा बिक्री वितरण हुने भएकोले यसको तस्करी हुने गरेको छ । बारीमा किसानले १ किलोको २५ सय देखि चार हजार रुपैयाँसम्म पाउँछन् । विराटनगर आइपुग्दा २० हजार पुग्छ भने भारत पुग्दा ४० देखि ५० हजार भन्दा बढीमा कारोबारी हुने भएकोले गाँजाको तस्करी हुने गरेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् ।