सुनसरी । भारतबाट नेपालतर्फ एकजना नाबालिकालाई तस्करी गराउँदै गरेको अवस्थामा भारतीय एसएसबीले तीनजनालाई पक्राउ गरेको छ ।

ती नाबालिकालाई प्रलोभन दिई भारतीय नम्बर प्लेटको स्कारपियो गाडीमा उपचारको बहानामा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारतीय एसएसबीले उनीहरूलाई भारत बिहार राज्यको सुपौल जिल्लास्थित भीमनगरबाट मङ्गलबार नियन्त्रणमा लिएको थियो ।

मानव बेचबिखन आरोपमा पक्राउ परेकामध्ये नावेद अन्सारी अररिया जिल्लाको बसमतिया पञ्चायतका मुखियाका श्रीमान् हुन् । भारतीय सीमा सुरक्षा बल एसएसबीको ४५ औं बटालियनले पक्राउ गरेका अन्सारी सीमावर्ती क्षेत्रमा गाँजालगायतका विभिन्न सामान तस्करी गराउँदै आएको स्रोतको भनाइ छ ।

भारतीय प्रहरीका अनुसार विभिन्न समयमा सीमावर्ती क्षेत्रबाट नावेदको संलग्नता रहेको गाँजासहित दुईवटा गाडीलाई समेत सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । मानव बेचबिखन आरोपमा नावेदसँगै अमजद आलम र एकजना महिलालाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेकाहरूमाथि मानव बेचबिखन मुद्दामा एफआईआर दर्ता गरिएको भारत वीरपुरका एसडीपीओ पङ्कजकुमार मिश्रले बताए । भारतीय सीमा सुरक्षा बल एसएसबी ४५ औं बटालियनका निमित्त कमान्डर आलोक कुमारका अनुसार नाबालिकालाई विभिन्न प्रलोभन दिई नेपालतर्फ लाँदै गरेको सूचना प्राप्त भएकोले सोही सूचनाअनुसार चेकजाँच गर्दा सीमास्तम्भ नम्बर २०६ र ७ नजिकैबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका आरोपितहरू बिआर ११ एएक्स नम्बरको रोनाल्ड काइजर नाम गरेको ट्रेन गाडीमा सवार थिए ।

खुला सीमाको फाइदा उठाएर हुँदै आएका यस्ता चेलीबेटी तथा मानव बेचबिखन कार्य रोकथाम गर्न नेपाली र भारतीय सुरक्षाकर्मीका साथै सरकारी तथा विभिन्न गैरसरकारी निकाय सीमा क्षेत्रमा केन्द्रित छन् । तर, छोटो समयमा अपरिचित व्यक्तिलाई विश्वास गर्ने, सम्बन्ध जोड्ने, नियमित सम्पर्कमा बस्ने, राम्रो जागिर दिने, प्रेम तथा विवाह गर्ने जस्ता प्रलोभन दिई युवतीलाई सीमा कटाउने गिरोह सक्रिय रहेकाले सतर्क बस्नुपर्ने आवश्यकता रहेको कोकन नेपालका हेमन्तराज पौडेल बताउँछन् ।

खासगरी सुनसरी जिल्लाको कोसी गाउँपालिका वडानम्बर ८ भण्टाबारीको सीमा नाका हुँदै यस्ता मानव तस्करी बढेपछि रोकथाम गर्न सूचना केन्द्र स्थापना गरिएको छ । सो सूचना केन्द्रले सन् २०१७ देखि २०२२ हालसम्म  विभिन्न प्रलोभनमा परी बेचबिखन गर्ने उद्देश्यले लाँदै गरेका विभिन्न १७ जिल्लाका विभिन्न उमेर समूहका १ सय १८ जनाको उद्धार गरेको जनाएको छ ।