भद्रपुर । झापाका एक व्यक्तिले ३ वर्षभित्रमा ५ करोडभन्दा बढी रकम जुवा खेलेर सकाएको सार्वजनिक भएको छ ।
झापा गाउँपालिका–३ सिमलवासीका ४० वर्षीय अशोक राईको जुवाले सर्वस्व गुम्नुका साथै ज्यानै जोखिममा परेपछि प्रशासनबाट समेत असुरक्षित भएको भन्दै पत्रकार सम्मेलन गरेपछि घटना सार्वजनिक भएको हो ।
जुवा खेलाउने समूहले उक्साउने र महँगो मिटर ब्याजमा पैसा लगानी गरी चेक काट्न लगाएर चेक बाउन्स गर्नुका साथै पैसा असुल्नका लागि अपहरण र कुटपिटसमेत गर्ने गरेको पीडितको आरोप छ । जुवा खेलाउने र मिटर ब्याजीलाई प्रहरीकै संरक्षण रहेको समेत राईले आरोप लगाएका छन् । दमकको एक घरमा जुवा खेल्न बोलाई केही पैसा सापट दिएको र पछि मिटर ब्याज जोडेर साँवा र ब्याज रकम तिरिसक्दा समेत थप ८ लाख रुपैयाँको चेक काट्न लगाएको पीडित राईले पत्रकार सम्मेलनमा बताएका छन् ।
केही दिनअघि दमकको एक होटेलमा मरणासन्न हुने गरी कुटपिटसमेत गरेको उनले बताए । एउटा चेक बनाउन लगाएर मरणासन्न हुने गरी कुटपिटका कारण कानको जाली फुटेर बी एण्ड सी र धरान घोपामा उपचार गराएको उनको भनाइ छ । दमकको घरजग्गा, सुरुङ्गाको भिटासँगै भएभरको सम्पत्ति बुझाउँदा पनि मिटर ब्याजका हिसाबले ४ लाखको ६ लाख बुझाउँदा पनि प्रहरी प्रशासनसमेतको संरक्षणमा मिटरब्याजीहरूले लखेटिरहेको उनको आरोप छ । अहिले ज्यान नै जोखिममा परेको उनले बताए ।
दमकका नाम चलेका जुवाडेले खेलाएको जुवा खालबाट ३ वर्षभित्रमा ५ करोडभन्दा बढी रकम सकाएको राईले बताए । यस बीचमा दमकमा रहेको घर डेढ करोडमा बिक्री गरेको तथा कन्काई नगरपालिका–३ मा रहेको २ कठ्ठा जमिन, झापा गाउँपालिका–३ मा रहेको १ बिगाहा जमिनसमेत बिक्री गरेर सबै पैसा जुवामा सकाएको पीडित राईले बताएका छन् । सो गिरोहले सुरुमा जति पनि पैसा सापटी दिने र पछि प्रहरीसमेतको संलग्नतामा महँगो ब्याज जोडेर चेकमा सही गर्न लगाउने गरेको उनको भनाइ छ । महँगो मिटर ब्याजको रकम उठाउन प्रहरी र गुण्डाको प्रयोग उक्त गिरोहले गर्ने गरेको राईले बताए ।
सादा पोसाकमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी भीम श्रेष्ठ नेतृत्वको टोली र रकम लिने समूह शनिबार बिहान ४ बजेको समयमा पुगी जबरजस्ती राईलाई धकेल्दै गाडीमा लैजान खोजेपछि घरपरिवार र स्थानीयवासीले प्रतिकार गरेको राईका बाबु दीपक राईले बताए ।
चेक बाउन्सको मुद्दा लिएर प्रहरी र बाउन्स गराउने समूह नै राईलाई पक्रन पुगेपछि गाउँलेसँग झडप भएको थियो । गाउँलेको टोलीले प्रतिकार गर्दा सो समूह भागेको राईले बताए । त्यसपछि मात्र राईका परिवारले जुवा र मिटर ब्याज काण्ड थाहा पाए । पक्राउ गर्न दमक–५ का विशाल पौडेल गाउँलेले प्रतिकार गर्दा सामान्य घाइतेसमेत बनेका थिए । कुटपिटबाट बिरामी भएकाले घरमै औषधि गरेर बसिरहेको बेलामा तिरिसकेको रकमको समेत चेक बाउन्स गरेर प्रहरीसमेतलाई आर्थिक प्रभावमा पारेर राति घरमै नियन्त्रणका लागि आएको राईकी श्रीमती कमला लिम्बूले बताइन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख दिलिप गिरीले उजुरी दमकमा परेका कारण प्रहरी चेक बाउन्सको पक्राउ पुर्जीको कार्यान्वयन गर्न गएको बताए । प्रहरीले त्यहाँको स्थानीय प्रहरीसँग सञ्चार सेटबाट समन्वय गरेको समेत गिरीले बताए ।
अदालतको आदेशअनुसार प्रहरीले काम गर्ने जिल्लाका डिएसपी एवम् प्रवक्ता वसन्त पाठकले बताए । आरोपित व्यक्तिले बाहिर बोल्दै हिँड्नुभन्दा अदालतमा गएर प्रमाण पेश गर्नु पर्ने डिएसपी पाठकको भनाइ छ । प्रहरीले संरक्षण दिएको विषयमा प्रमाण पु¥याउन उनले सुझाए ।