विराटनगर । अपहरणमा परेको भनिएको मोरङको बुढीगंगा गाउँपालिका–१ का दीपेन्द्र यादवको एक वर्षीय छोरीलाई प्रहरीले भारतबाट उद्धार गरेर ल्याएको छ ।
मोरङ प्रहरीबाट खटिएको प्रहरीले भारतको दरभङवाबाट उद्धार गरेर आज बिहान विराटनगर ल्याएको हो । बच्चालाई लिएर जाने अञ्जली साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले भारतको दरसङमा आफन्तको घरमा बच्चालाई राखेकी थिइन् । प्रहरीले दरभङवाबाट बालिकालाई सकुशल उद्धार गरेर ल्याएको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले जानकारी दिए ।
‘के कारण बच्चालाई अपहरण गरेको हो भन्ने खुलेको छैन, अहिले बच्चालाई र लैजानेलाई नियन्त्रणमा लिएका अनुसन्धान भइरहेको छ,’ डिएसपी कार्कीले भने, ‘थप अनुसन्धानपछि बच्चा लैजानुको कारण खुल्नेछ । अहिले हामी अनुसन्धानको क्रममा रहेका छौँ ।’
साउन २ गते सोमबार अञ्जली रेड शेष चौबाट प्रेमी दीपेन्द्रलाई झुक्काएर बालिकालाई लिएर फरार भएकी थिइन् । बच्चालाई लिएर जाने अञ्जली दीपेन्द्रको प्रेमिका रहेको खुलेको छ ।
पेशाले मेकानिकल इन्जिनियर रहेका यादव तीन वर्षअघि सप्तरी राजविराजकी ममता यादवसँग विवाह भएको थियो । छोरी जन्मिएपछि ममता बिबिए पढ्न काठमाडौँ गइन् । एक वर्ष तीन दिनकी छोरीलाई हजुरबुवासँगै छोडेर उनी काठमाडौँ गएकी थिइन् । ममता र उनका श्रीमानबिच निरन्तर संवाद र भेटघाट भइरहेको थियो ।
श्रीमती बाहिर गएको बेला यादवले सामाजिक सञ्चालनमार्फत अञ्जली सँग भेट भएको थियो । त्यसपछि उनीहरू नजिकिएका थिए । प्रेम सम्बन्धमा बाँधिएका यादव र अञ्जलिबिच निरन्तर भेटघाट हुने गरेको थियो । दुवै जना प्रेममा गाँसिएपछि यादवलाई अञ्जलीले निरन्तर बोलाउने गर्थिन् । भेटघाट बाक्लै हुँदै थियो ।
अञ्जलीले यसरी लिएर गएकी थिइन एक वर्षीय बालिका
दीपेन्द्र र अञ्जली प्रेमी प्रेमिका हुन् । दीपेन्द्रलाई अञ्जलिले छोरीलाई लुगा किन्दिने बहाना निकालेर घरबाहिर निस्किन आग्रह गरेकी थिइन् । यादव बिहानै घरबाट आफ्नो कारमा एक वर्ष तीन दिनकी छोरी निकिसालाई चोक घुमाउने भन्दै अञ्जलीलाई भेट्न विराटनगर–१२ रोड शेष चोकनजिक आएका थिए । अञ्जलीले छोरीका लागि लुगा किनेर ल्याएकी थिइन् ।
उनी रोड शेष र बसपार्कको बिचमा नै यादवको कारमा चढिन् । कारमा नै बच्चाको लुगा समेत फेरिदिइन् । बच्चाको लुगा फेरिदिएपछि चिया र खाजा खान अञ्जलीले प्रेमी यादवलाई आग्रह गरिन् । दुवै जना सहमतिमा नै रोडशेषस्थित एक खाजा पसलमा पुगे । अञ्जली नै दुई कप चिया अर्डर गरिन् । तर चिया भने नखाई औषधी किन्ने बहानामा बच्चालाई लिएर बाहिर गइन् ।
मास्क लगाएकी अञ्जली बच्चालाई लिएर बाहिरिन । यादवले चिया र चुरोट खान लाग्दा अञ्जलीले यादवको एउटा मोबाइलसमेत लिएर गइन् । ‘साथीहरूलाई फोन गर्नुपर्ने भन्दै’ मोबाइल लिएर अञ्जली गएको यादव परिवारले प्रहरीमा जानकारी गराएका छन् ।