भद्रपुर । बैंकिङ् कसुरको मुद्दामा अदालतबाट पक्राउ पुर्जीको आधारमा गएको प्रहरीले स्थानीयको अवरोधका कारण आरोपितलाई नियन्त्रणमा लिन नसकेको पाइएको छ ।  इलाका प्रहरी कार्यालय दमकबाट खटिएका सादा पोसाकका प्रहरीले झापा गाउँपालिका ३ बस्ने अशोक राईलाई नियन्त्रणमा लिन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

राईको घरमा आइतबार बिहान ४ बजे ३ जना प्रहरीसहित पाँच जनाले घर घेरा हालेका थिए । अन्य दुई जना भने कार चालक र रकम पाउने व्यक्ति थिए । एकाबिहानै अचानक नौलो मान्छेहरूले घर घेरा हालेपछि घरभित्र रहेका परिवारमा खैलाबैला मच्चियो । होहल्ला भएपछि स्थानीयवासी राईको घरमा जम्मा भए । प्रहरीले गुण्डागर्दी शैलीमा परिवारका मान्छेलाई दुर्व्यवहार गरेको भन्दै स्थानीयहरू जाइलागेका थिए । त्यस क्रममा प्रहरी र स्थानीयवासी बिच झडप भएको थियो । झडपका क्रममा रकम पाउने दुर्गा पौडेलका छोरा विशाल पौडेल घाइते भएका थिए । घाइते विशाल पौडेल र गाडी चालक जसोतसो गाडी लिएर भाग्न सफल भए । बाँकी तीन जना सादा पोसाकका प्रहरीलाई गाउँलेले आफ्नो नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा रहेका सई केशव मगर , कृष्ण कार्की र गजेन्द्र रायमाझीलाई पछि कुमरखोद इलाका प्रहरी कार्यालयको टोलीले उद्धार गरेको थियो 

घट्नापछि इलाका प्रहरी कार्यालय कुमरखोद केही बेर तनावपूर्ण बनेको थियो । सुरक्षा व्यवस्था कडा पार्दै थप सुरक्षाका लागि सशस्त्र प्रहरी बल र जिल्लाबाट इन्स्पेक्टरसहितको प्रहरी टोली झिकाइएको थियो । बैंकिङ् कसुरको मुद्दामा अदालतबाट पक्राउ पुर्जी भएता पनि पक्रिने शैली गलत भएको स्थानीयको भनाइ छ । 

बैङ्किङ कसुर मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएता पनि अशोक राईलाई पक्राउ नगरी आफै अदालतमा उपस्थित हुनु भनी सई केशव मगरले अनुरोध गरेका थिए । छलफलमा जनप्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो । बाउन्स चेक दिने बैङ्किङ कसुरका व्यक्तिलाई अदालतले दिएको पक्राउ पुर्जीका आधारमा प्रहरी गएको जिल्लाका डिएसपी वसन्त पाठकले जानकारी दिए । पक्राउ पुर्जी जारी भइसकेपछि आरोपित आफै या प्रहरीले अदालत उपस्थिति गराउन पर्ने कानुनमा नै रहेको डिएसपी पाठकको भनाइ छ । नौलो मान्छे आएका कारण अपहरण या अन्य कुनै घट्न हुने डरका कारण स्थानीय भेला भएको उनको भनाइ छ । आरोपितलाई तत्कालका लागि पक्राउ नगरिएको उनले जनाए ।