भद्रपुर । भारतबाट अवैध रुपमा लुकाइछिपाई नेपाल भित्राइएको करिब १ लाख ३५ हजार मुल्य बराबरको पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ ।  नेपालमा प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ (पटाका) सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट पृथ्वीनगरबाट खटिएको टोलीले तिरुपति चिया उद्योगको पश्चिम चिया बगानबाट बरामद गरेको सशस्त्र प्रहरी २ नम्बर गण झापाले जनाएको छ । 

बरामद गरिएको पटाकाहरू किङ कोब्रा इलेक्ट्रिक क्रेकर बम एक हजार प्याकेट , राउन्ड क्रकेर बम ५० प्याकेट,  रकेट बम ५० प्याकेट र ग्राउन्ड चक्कर ब्रान्डको बम ५० प्याकेट रहेको बिओपी पृथ्वीनगरका इन्स्पेक्टर मान बहादुर कटुवालले जानकारी दिए ।

बरामद गरिएको पटाकाहरूलाई शुक्रबार बिहान जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, नेपाल प्रहरी र पत्रकारको रोहबरमा नष्ट गरिएको उनले बताए । विशेष गरी दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी भित्राइने बारुदजन्य पटाकाहरू असार महिनामा भित्रिन थालेपछि सशस्त्र प्रहरीले त्यसतर्फ निगरानी बढाएको हो ।

चाड पर्व शुरु हुन तीन महिना अगावै तस्करले बारुद्धजन्य पदार्थको अवैध कारोबार शुरु गर्न थालेका छन् । भारतबाट अवैध तवरले नेपाल भित्र्याइएका यस्ता पदार्थ काठमाडौसम्म पुग्ने गरेका छन् ।