विराटनगर । व्यापारीको गोदाममा प्रहरीले छापा मार्दै तस्करीको खाद्यवस्तु बरामद गर्न थालेको छ ।

विशेष सूचनाको आधारमा भारतबाट अवैध रूपमा भन्सार छली गरी क्यारिङमार्फत् तस्करी गरी खाद्यवस्तु ल्याएको पत्तो पाएपछि प्रहरीले छापा मारेर त्यस्ता खाद्यसामग्री समात्न थालेको हो ।

प्रहरीले शुक्रबार मोरङको दुई छुट्टाछुट्टै स्थानबाट छापा मारेर अवैध सामान बरामद गर्यो । व्यापारीले क्यारिङ गर्नेलाई निश्चित रकम दिने र उनीहरूले भनेको गन्तव्यसम्म पुर्याउने जिम्मा दिने गर्दछन् । त्यसबापत व्यापारीले भन्सारलाई बुझाउनुपर्ने भन्दा आधा रकम क्यारिङ गर्नेलाई दिएर गोदामसम्म पुर्याउन लगाउने गरेका छन् ।

यसरी अवैध रूपमा खाद्य सामग्री राखेको सूचना प्रहरीले पाएपछि विराटनगर–६ का खाद्यान्नको कारोबार गर्ने व्यापारी विनोद केशरीको गोदामबाट २ लाख ३० हजार मूल्य बराबरको सामान बरामद गरेको छ । प्रहरीले चिनी ४७ बोरा (२ हजार ३ सय ५० केजी), मटर ३२ बोरा (९ सय ६० केजी), छोकडा ५ बोरा (२ सय ५० केजी), पानीपुरी १० कार्टुन, रसगुल्ला ४ कार्टुन बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले छापा मारेर केशरीको गोदामबाट अवैध सामान बरामद गरेपछि उनी फरार भएका छन् । स्रोतका अनुसार व्यापारी केशरीले क्यारिङमार्फत् भारतीय बजारबाट अवैध रूपमा खाद्या सामग्री ल्याउने र पूर्वका बजारमा पठाउने गरेका थिए । व्यापारीले केशरीले क्यारिङ गर्नेलाई निश्चित रकम दिएपछि उनले भनेको ठाउँमा तस्करी गरी खाद्य सामग्री पुर्याउने गरेका थिए । त्यसपछि केशरीले पूर्वका बजारमा पठाउने गरेको स्रोतको भनाइ छ ।

यसैगरी मोरङ प्रहरीले शुक्रबार रतुवामाईबाट ३४ बोरा अवैध चिनी बरामद गरेको छ । प्रहरीले आमबारी रतुवामाई–६ सौंठाका चिरञ्जीवी पोखरेलको घरबाट २३ बोरा चिनी नियन्त्रणमा लिएको छ । यस्तैगरी आमबारीस्थित दुर्गा बास्कोटाको घरबाट तस्करी गरि ल्याएको ११ बोरा चिनी, ९ बोरा खैनी र २ काटुर्न बिँडी बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले झापाको मेचीनगर नगरपालिका–५ स्थित तिरिङ–काँकरभिट्टा सडक खण्डबाट अवैध सुपारीसहित सवारी साधन बरामद गरेको छ । शनिबार बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी गस्ती टोलीले काँकरभिट्टातर्फ आउँदै गरेको मे.१ च ४९८० नम्बरको पिकअप गाडी चेकजाँच गर्दा करिब ७ सय केजी अवैध सुपारी अन्दाजी २ लाख ८८ हजार ४ सय रुपैयाँ मूल्य बराबरको बरामद गरेको हो ।

बरामद गरिएको उक्त सुपारी, सवारी साधन र चालक ४८ वर्षीय दानबहादुर पोख्रेलसमेतलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ ।