विजयपुर । खोटेहाङ गाउँपालिकामा जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई सरकारी सुविधा नदिन माग गरिएको छ ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा सञ्चालित १ महिने जनचेतानमुलक कार्यक्रमको समापनमा जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई सरकारले प्रदान गर्ने कुनै सेवा नदिन माग गरिएको हो । कार्यक्रम जेठ २२ बाट खोटेहाङ १ लिकुवापोखरीबाट सुरु गरिएको राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटेहाङका सचिव युवराज कालिकोटेले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम खोटेहाङ ७ खोटाङ बजारमा समापन गरिएको हो । उनले भने, ‘जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्न माग गरेका छौँ ।’ उनले प्रत्येक वडामा दलित समुदायको क्षमता विकास, आर्थिक विकासका लागि बजेट विनियोजन गर्न पनि माग गरेको बताए ।
उनले कार्यक्रममा दलित समुदायका १८ जनालाई १० हजार बराबरको औजार र २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको सचिव कालिकोटेले जानकारी दिए । श्याम कुमार राईलाई सम्मान पनि गरिएको छ । उनले जातीय विभेद नगर्ने प्रतिवद्धता गरेकाले सम्मान गरिएको हो । कार्यक्रममा राईले सबै मान्छे एकै भएकाले कसैले कसैलाई विभेद नगर्न आव्हान गरे ।