बेलबारी । मोरङको रङ्गेली नगरपालिका–१ बिर्ताबजारमा आफ्नै श्रीमान्ले मट्टितेल छर्किएर आगो लगाउँदा एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति करिब १० बजे स्थानीय तिल्का मल्लिकले आगो लगाएपछि जलेर गम्भीर घाइते भएकी ३१ वर्षीया बबिता मण्डलको मृत्यु भएको हो । श्रीमतीको हत्या आरोपमा प्रहरीले उनका श्रीमान् तिल्का मल्लिकलाई पक्राउ गरेको छ ।

घरायसी विवादका क्रममा तिल्काले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर शैलेस न्यौपानेले बताए ।

गम्भीर घाइते भएकी मण्डलको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बबिताको शरीरका अधिकांश भाग आगोले जलेको थियो । दाजु जगदीश मल्लिकको मृत्यु भएपछि तिल्काले ५ वर्षअघि बबितालाई विवाह गरेका थिए ।

दाजु जगदीशको ७ वर्षअघि मृत्यु भएको थियो ।  आगजनीका क्रममा घरभित्रको लत्ताकपडा, भाँडाकुँडा र खाद्यान्नसमेत जलेको छ ।