विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ घर भई बूढीगङ्गा बस्ने २९ वर्षीया एक महिला चिकित्सकमाथि गर्भ खेर जाने गरी आक्रमण भएको खुलेको छ ।

६ हप्ताको गर्भ खेर जाने गरी विराटनगर महानगरपालिका–३ का २५ वर्षीय अभिषेक झासहित उनको परिवारले हातपात गरेको भनी पीडिताले प्रहरीमा उजुरी दिएपछि घटना बाहिरिएको हो । अप्सरा नेपाल (परिवर्तित नाम) गरेकी चिकित्सकमाथि आक्रमण भएको हो । झाको परिवारविरुद्ध पीडिताले मुद्दा हालेको घटनासँग जोडेर गत जेठ ९ गते झासहित परिवारले पेटमा लात्ती, मुक्का प्रहार गरेको उजुरीमा उल्लेख छ ।

कोसी अस्पतालमा जेठ १६ गते स्वास्थ्य परीक्षण गर्दा गर्भ खेर गएको रिपोर्ट आएको छ । कुटपिटका कारणले गर्भपतन भएको अस्पतालको रिपोर्टले पुष्टि गरेपछि झासहित पाँचजना विरुद्ध मोरङ प्रहरीमा ‘गर्भ संरक्षणविरुद्धको कसुर’ मा जाहेरी दिएकी छन् । पीडिताले जेठ १७ गते मोरङ प्रहरीमा जाहेरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान गर्दै आएको जनाएको छ ।

गर्भ रहेको पेटमा हिर्काइरहे
पारिवारिक नाता जोडिएकी पीडिताले परिवारका एक सदस्य विरुद्ध नै मुद्दा हालेपछि हातपात गरेको पीडिताले बताइन् । बेग्लै मुद्दाको सुनुवाइपश्चात् जिल्ला अदालत मोरङबाट फर्कंदै गर्दा अदालतका कर्मचारीकै सामुन्ने गालीगलौज र अपशब्द बोल्दै पेटमा लात्ती, मुक्का हानी मोबाइलसमेत खोसेको उनले बताइन् ।

आक्रमणको घटना गत जेठ ९ गतेको हो । घटनापश्चात् आक्रमणका कारण लगातार रक्तस्राव भएपछि जेठ १३ गते मोरङ अदालतमा घाउ जाँच केश फारम गरिपाऊँ भनी निवेदन दिएको उनले बताइन् । सोही दिन नै घाउ जाँचको आदेश भएपछि कोसी अस्पतालमा परीक्षणका लागि पठाइयो । अस्पतालले जेठ १६ गते मात्रै रिपोर्ट दिएको उनले बताइन् ।

रिपोर्टमा गर्भपतन भएको उल्लेख भएपछि जेठ १७ गते आफूले प्रहरीमा उजुरी दिएको पीडिताले बताइन् । गर्भ रहेको थाहा हुँदाहुँदै गर्भपतन गराउने उद्देश्य र मनसायले नै कुटपिट गरेकाले मुलुकी अपराध संहिता २०७४ को दफा १८८ विरुद्धको कसुर भएकोले पक्राउ गर्न भन्दै झासहित उनको परिवार विरुद्ध उजुरी दिएको उनले बताइन् । प्रहरीमा उजुरी दिएपश्चात् अहिले दैनिक ज्यान मार्ने धम्की दिँदै आएको उनले बताइन् ।

जेठ २३ गते अदालतको काम र घाउँजाचको प्रतिलिपि लिएर आफ्नो डेरातर्फ जाँदै गर्दा अभिषेक चढेको गाढीले ठक्कर दिएको उनले बताइन् । ‘अदालतको काम सकेर सिटी सफारी चढेर डेरातर्फ जाँदै थिएँ । भट्टाचौक पुगेपछि अभिषेक र उनका मामा चढेको गाडीले ठक्कर दियो । त्यसपछि सिटी अनियन्त्रित भयो ।  गाडी फरार भयो । त्यो सिसी टिभीमा पनि देखिन्छ । आफू भने भाग्यले बाँचे ।’

प्रहरीले गरेन पक्राउ
घटनामा संलग्न आरोपीलाई प्रहरीले हालसम्म पक्राउ नगरेको पीडिताले गुनासो गरिन् । ‘विराटनगरको फुटबल चौकमा गर्भपतन गराउने अभिषेकसहितका उनका परिवार घरमै छन्’ पीडिताले भनिन्, ‘प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याउने चासो देखाएको छैन ।’

यता मोरङ प्रहरीका डिएसपी राजन कार्कीले ‘गर्भ संरक्षण विरुद्धको कसुर’ मा उजुरी दर्ता भएकाले अहिले अनुसन्धान भइरहेको बताए । ‘यस घटनालाई हामीले गम्भीर रूपमा लिएका छौं’ डिएसपी कार्कीले भने, ‘घटनामा संलग्न व्यक्तिहरू फरार छन् । अहिले हामीले खोजी कार्यलाई तीव्र बनाएका छौं ।’