कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका अभियुक्त गभिरबहादुर दनुवारलाई सुनसरी प्रहरीले आठ वर्षपछि पक्राउ गर्यो । २०७१ मङ्सिर १ गते भोजपुर हसनपुरका १९ वर्षीय चित्रकुमार मग्रातीको हत्यामा उनी संलग्न भएको जिल्ला अदालत सुनसरीले फैसला गरेको थियो ।

प्रहरीका अनुसार धरानको विष्णुपादुका स्मृति पार्कमा वनभोज खाने क्रममा विवाद बढ्दै जाँदा मग्रातीलाई दनुवारसहित सङ्खुवासभा फाकुवाका विक्रम राई मिली कुटपिट गरी हत्या गरेका थिए । फरारमध्ये विक्रमलाई २०७१ मङ्सिर १४ गते भोजपुरको दिङ्लाबाट पक्राउ गरी प्रहरीले कर्तव्य ज्यान मुद्दा चलायो ।

सुनसरी अदालतले २०७१ पुस ८ मा विक्रमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । फरार दनुवारलाई सुनसरी प्रहरीले असार १० गते काठमाडौँबाट पक्राउ गरेको जनाएको छ । सुनसरी भोक्राहाका ४५ वर्षीय वसन्त खत्वेले

आफ्नै नातिनी हत्या गरेको १२ वर्षपछि प्रहरीले पक्राउ ग¥यो । वसन्तले २०६६ मा घाँटी बटारी नातिनीको हत्या गरेका थिए । कर्तव्य ज्यान मुद्दामा प्रतिवादी वसन्तलाई सुनसरी अदालतले २०७४ वैशाख २४ गते २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । घटनापछि फरार वसन्तलाई प्रहरीले २०७८ साउन १७ गते पक्राउ गरेपछि अहिले उनी झुम्का कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

सुनसरी दुहबी नगरपालिका–४ का गुल्वा भन्ने गुलाम मियाँले २०५४ सालमा छिमेकी रसु चौधरीलाई जग्गाको विषयमा विवाद हुँदा बाँसको भाटाले हानी हत्या गरेका थिए । हत्या गरेपछि उनी फरार रहेका थिए । कर्तव्य ज्यान मुद्दामा सुनसरी अदालतले २०६० माघ २६ गते २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

हत्या गरेपछि फरार भएको २४ वर्षपछि मियाँलाई सुनसरी प्रहरीले २०७८ साउन ३० गते पक्राउ गरेको थियो । अहिले उनी पनि झुम्का कारागारमा कैद भुक्तान गर्दै आएका छन् । जघन्य अपराधका फरार अपराधीलाई सुनसरी प्रहरीले ‘रेकी’ गर्दै आएको छ । चालु आर्थिक वर्षको असार १३ गतेसम्म सुनसरी प्रहरीले ८ सय ४१ फरार अभियुक्तलाई पक्राउ गरिसकेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । फरार पक्राउ पर्ने अभियुक्त कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी, डाकालगायत मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको उनले बताए ।

घटना घटाएर २४ वर्षसम्म फरार भएका प्रतिवादीलाई सुनसरी प्रहरीले विशेष प्रहरी खटाएर पक्राउ गरेको एसपी थापाले जानकारी दिए । उनले भने, ‘एकै दिनमा १ सय १६ जनासम्मलाई पक्राउ गरी अदालतमा बुझाएका छौँ ।’

‘फरार पक्राउ’ अभियानअन्तर्गत प्रहरीले चालु आर्थिक वर्षको साउन १ गतेदेखि २०७९ वैशाख ३० गतेसम्म ६ सय १३ जना फरार प्रतिवादीहरू पक्राउ गरेको थियो । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनपछि २ सय २८, असारको १३ दिनमा २ सय १७ र असार १२ गते एकैदिन १ सय १६ जना फरार अभियुक्त पक्राउ गरी अदालत बुझाएको एसपी थापाले जानकारी दिए । प्रहरीले ८ सय ४१ फरार अभियुक्तले १ सय ८२ वर्ष ८ महिना ५ दिन कैद भुक्तान र १ करोड १४ लाख ३६ हजार ५ सय २० रुपैयाँ राजस्व असुली गरेको छ । सुनसरीमा ३ हजार ८ सय फरारमध्ये ८ सय ४१ पक्राउ परेका हुन् ।

फरार अभियुक्त पक्राउ गर्नेमा सुनसरी प्रहरी देशभरिमै अगाडि रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन शाखाको अभिलेखमा देखिन्छ । प्रदेश १ भरिमा चालु आर्थिक वर्षको पुससम्ममा १ हजार १ सय ६८ जना फरार अपराधी पक्राउ परेका छन् । १४ जिल्ला रहेको प्रदेशमा जम्मा पक्राउ परेकाध्ये आधाभन्दा बढी सुनसरी प्रहरीले पक्राउ गरेको छ । ‘ढिलो चाँडो गलत काम गर्नेहरू कानूनी दायरामा आउनैपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौं’ एसपी थापाले भने, ‘अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरारी पक्राउ अभियान सुरु गरिएको हो ।’

अभियानका माध्यमबाट अपराध गरेर जतिदिन लुकिछिपी बसे पनि तोकिएको कैद वा जरिबाना भुक्तान नगरी छुट छैनन भन्ने सन्देश पनि दिएको एसपी थापाले बताए । जिल्लाको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुँदै कानूनप्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभूति दिलाउन लागिपरेको उनले बताए ।