विराटनगर । विराटनगर महानगरपालिकाभित्र नेपाल टेलिकमको तामाको तार चोरी गर्ने क्रम बढेको छ ।
विराटनगर क्षेत्रमा बिजुलीको पोलमार्फत् लगिएको टेलिकमको तार चोरी गर्ने क्रम बढेको नेपाल टेलिकम विराटनगरका निमित्त कार्यालय प्रमुख लक्ष्मण महर्जनले जानकारी दिए । टेलिकमको तार चोरीको घटना बढेपछि जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको उनले बताए ।
‘अहिले एकपछि अर्को गर्दै विराटनगर क्षेत्रमा टेलिकमको तार चोरीको घटना बढेको छ’ उनले भने, ‘यसरी टेलिकमको तार चोरी हुँदा निश्चित एरियामा टेलिफोन सम्पर्क विच्छेद हुने गरेको छ ।’ विराटनगरमा जस्तै बिर्तामोडमा पनि टेलिफोनको तार चोरीको घटना बढेको छ । ‘विराटनगरमा जस्तै बिर्तामोडमा पनि टेलिफोनको तार चोरीको घटना बढेको छ’ उनले भने, ‘विराटनगरमा जस्तै गरी बिर्तामोडमा पनि चोरी हुने गरेको कर्मचारीहरूले बताएका छन् ।’
तामाको तार हुने भएकाले किलोका हिसाबले बिक्री हुने गरेको कर्मचारी बताउँछन् । बजारमा १२ सय देखि १५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको जानकार बताउँछन् ।
तार चोरी आरोपमा दुई पक्राउ
प्रहरीले तामाको तार चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले चोरी आरोपमा विराटनगर–१४ का रसिता खातुन र मोहम्मद अस्तावलाई आइतबार पक्राउ गरेको हो । उनीहरूमाथि नेपाल टेलिकमको तार चोरी गरेको आरोप छ ।
खातुनले तामाको तार चोरी गरेपछि अस्तावले चलाएको को.२ ह ७२२४ नम्बरको आटोमा लोड गरी भारतर्फ लैजाने क्रममा इलाका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।