बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–४ को वडा कार्यालय नजिक रहेको ह्युम पाइपमा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

अन्दाजी ३५–४५ उमेर समूहको जस्तो लाग्ने युवकको शव आइतबार साँझ स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । अनुहारमा चोटले नचिनिने अवस्था भेटिएको र ३/४ दिन पहिलेकै जस्तो भएकोले शव भेटिएको ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।

शरिरको अन्य भागमा निलडाम तथा धारिलो वस्तु प्रयोग गरेको चोट नभएको कुँवरले बताए । आइतबार साँझ स्थानीयले बोराबाट गन्ध आइरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हालसम्म प्रहरी कार्यालयमा कोहीपनि हराएको भनेर निवेदन समेत नआएको प्रहरीको भनाई छ ।