धनकुटा । नौ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा धनकुटाको महालक्ष्मी नगरपालिका–४ बाट एक वृद्ध पक्राउ परेका छन् ।

प्रहरीले ७६ वर्षीय विर्खबहादुर पौडेललाई पक्राउ गरेको हो । गत शुक्रबार विद्यालयबाट घर फर्कंदै गरेकी ती बालिकालाई पौडेलले यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । चारजना बालबालिका विद्यालयबाट घरतर्फ फर्कंदै गर्दा तीनजनालाई पानी लिन पठाएर एक बालिकालाई ती वृद्धले यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे गत सोमबार मात्र बालिकाका अभिभावकलाई थाहा भएपछि घटना बाहिरिएको थियो । सोमबार नै बालिकाकी आमाले पौडेलविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

सोही दिन घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । पौडेललाई सोमबार अदालतमा म्याद थप गरी पुर्पक्षको लागि थुनामा राखेर आवश्यक अनुसन्धान भइरहेको एसपी अधिकारीले बताएका छन् ।

उनीविरुद्ध बाल यौन दुरुपयोग मुद्दामा अदालतमा मुद्दा अघि बढाएको एसपी अधिकारीले बताए । बालिका महालक्ष्मी नगरपालिकाको एक विद्यालयमा कक्षा–५ मा अध्ययनरत छिन् ।