विराटनगर । मोरङको कटहरीमा एसिड लागेर सह–चालकसहित पाँच जना यात्रु घाइते भएका छन् । को.१ ख ३९८१ नम्बरको यात्रुवाहक बसमा एसिड पोखिएपछि सह–चालक र चार जना यात्रु मङ्गलबार घाइते भएका हुन् ।

घाइते हुनेहरूमा सुनवर्षी नगरपालिका–४ की २२ वर्षीया नीता राजवंशी, धनपालथान गाउँपालिका–५ का ४२ वर्षीय ओमनारायण राजवंशी, भोजपुर घर भई विराटनगरमा बस्दै आएका सह–चालक २० वर्षीय विनोद परियार, सुनसरीको वराहक्षेत्र नगरपालिका–८ चक्रघट्टीकी ४० वर्षीया सुमित्रा उराँव र सुनवर्षी नगरपालिका–९ डाइनियाकी २२ वर्षीया सबिया खानम घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

घाइते हुनेहरूको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ । एसिड लागेर टाउको, घाँटी, हात र खुट्टाको छाला पिल्सिएको छ ।

विराटनगरको हाटखोलाबाट रङ्गेलीतर्फ जाँदै गरेका एक जना यात्रुले बियरको बोतलमा एसिड बोकेको र उक्त बोतल फुटेपछि एसिड लागेर घाइते भएका हुन् । एसिड बोक्ने व्यक्ति फरार छन् । प्रहरीले एसिड बोक्ने व्यक्तिको खोजी कार्य तीव्र बनाएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

gaita-2