डम्बर कार्की । देउराली 
 इलाका प्रहरी कार्यालय धरानले शनिबार विभिन्न घटनामा पक्राउ परेकाहरूलाई सार्वजनिक गर्‍यो । जसमा कार्यालयले आर्थिक वर्ष २०७८–०७९ को जेठ मसान्तासम्मा ७५ जनालाई विभिन्न लागु औषधसहित पक्राउ गरेर ४९ वटा मुद्दा प्रक्रिया अघि बढाएको जनाएको छ । 
विगत ५ वर्षको तथ्याङ्क हेर्ने हो भने कार्यालयमा दर्ता भएका लागु औषध सम्बन्धीका मुद्दाको सङ्ख्या निरन्तर घट्दो छ । जसलाई आधार मान्ने हो भने धरानमा कुनै समय टाइम बमको रूपमा हेरिएको लागु औषध दुर्व्यसनी निष्क्रिय हुने यात्रा उन्मुख छ । 

आर्थिक वर्ष २०७४–०७५ मा १ सय २५ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७५–०७६ मा ८७ वटा मुद्दा मात्र दर्ता भएको पाइन्छ । त्यस यता ०७६–०७७ मा ६४, ०७७–०७८ मा ५७ र ०७८–०७९ को जेठ मसान्तसम्म ४९ वटा मात्र मुद्दा दर्ता भएका छन् ।

 डिएसपी ढुण्डिराज न्यौपाने इलाका प्रहरी कार्यालयको प्रमुखबाट बिदा हुँदै गर्दा धरानलाई लागु औषधको ट्रान्जिट भनेर धरानलाई बदनाम गराउन खोजिएको बताएका थिए । धरानमा लागु औषध प्रयोग कर्ता धेरै भए पनि कारोबार न्यून रहेको डिएसपी न्यौपानेको बुझाई रहेको थियो । 

सम्भवतः २०३५ सालमा पहिलो पटक लागु औषध प्रयोग कर्ता पक्राउ परेको बताउने प्राध्यापक डाक्टर राजेन्द्र शर्मामा पछिल्लो समय लागु औषधसँग सम्बन्धित हुने गतिविधिहरूमा पहिलेको तुलनामा केही कमी रहेको मान्छन् । उनी भन्छन् ‘ ०४०–४१  साल तिर धरानमा विगविनै सुरु भएको थियो । त्यो समय देखी निरन्तर बढ्दै गएको थियो पछिल्लो समय केही कम भएको जस्तो महसुर गर्न सकिन्छ ।’

धरानमा लागु औषध नियन्त्रणमा लामो समय देखी काम गरिरहेका कमल तिगेला पनि पछिल्लो समय लागु औषध दुर्व्यसनीको अवस्था  सुधारोन्मुख रहेको बताउँछन् । उनका अनुसार पछिल्लो समय सामाजिक चेतना र सुधार केन्द्रहरूको स्थापना भएपछि सुधार हुँदै गएको हो ।  तिगेला भन्छन् " धरामा ठ्याक्कै यति नै प्रयोग कर्ता छन् भन्ने त्यस्तो कुनै तथ्याङ्क त छैन तर पछिल्लो समय सुधार हुँदै आएको चाही हो ।  "
२०५२ देखी ०५५ साल सम्म बढ्दो अवस्थामा रहेको लागु औषधको दुर्व्यसनी त्यसयता केही वर्षा स्थिर रहे पनि पछिल्लो समय भने घट्दो क्रममा रहको तिगेला बताउँछन् । ५२ सालमा गरिएको अनुसन्धानमा ५ हजार प्रयोग कर्ता देखिएकोमा अहिले हजार जनाको आसपासमा हुनसक्ने उनको दाबी छ । 

एमएस नेपाल र केवाइसी पुनर्जिवन केन्द्रले ०५६–०५७ मा सर्वेक्षण गर्याे र धरानकाे लागु औषाध समस्यालाई 'टाइम बम'काे रूपमा निस्कर्ष निकाल्याे ।

विगतकाे अवस्था
सन १९७० को दशकपछि नेपालमा हिप्पी संस्कृतिको प्रवेशसँगै नेपालमै पाइने भाङ, धतुरो, गाँजाको दुरुपयोग बढेसँगै लागु औषधको प्रयोगको सुरुवात भएको मानिन्छ । घर पालुवा जनावरको उपचारकालागी प्रयाग हुने र साधु सन्तले सेवन गर्ने संस्कृति रहँदै आएकोमा उक्त समयबाट नेपालमा गाँजा, चरेसबाहेक कोका, अफिमबाट उत्पादित अन्य लागु औषधहरूको आयात र दुरुपयोगको सुरुवात भएको जानकारहरू बताउँछन् ।
धरानमा पनि यही दशकबाट नै लागु औषधको सुरुवात भएको प्राडा शर्मा बताउँछन् । उनी भन्छन् ‘ नेपालमा हिप्पी भित्रिसकेपछि नै लागु औषधको सुरुवात भएको मानिन्छ । २०३५–३६ सालमा गायक बब मार्ली प्रभावित हुनेहरू पिन धेरै थिए । त्यस बेला कडा खाले लागु औषध भन्दा पनि गाँजा  खाने गरेको पाइन्छ । र त्यो समय गाँजालाई ग्रास भन्ने गर्थे ।’  

पूर्वी पहाडी जिल्ला तथा ग्रामीण इलाकामा उत्पादित गाँजा र चरस धरानको बाटो हुँदै तराई जाने र तराईबाट महँगा खाले लागु औषध धरान आउने गरेको प्राडा शर्माको भनाई छ ।  उनका अनुसार प  आमाबुबा दैदेशिक राेजगारकाे सिललिसमा हङकङ, सिङ्गापुर  बेलायत लगायतका अन्य देशहरमा रहने  र हजुबुबा हजुरआमा पनि पहाडमै छुटेर धरानमा अध्यानका लागि बसेका युवाहरू र धरानमा रहेका सम्पन्न वर्गका  युवामा महँगा खाले लागु औषधको प्रयोग हुने गरेको र तल्लो वर्गले सजिलै उपलब्ध हुने लागु औषध प्रयोग गर्ने गरेको गर्दथे ।
  ४० काे दसकबाट  बिगबिगी सुरू भएकाे धरानमा प्रयागकर्ता संख्यामा बृद्धि हुँदै  ०५२ देखी ०६१ सम्म चरम अवस्थामा पुगेकाे पुनर्जिवन केन्द्रका निर्देशक  तिगेला बताउछ् । उनका अनुसार याे समय विभिन्न सर्वेक्षणहरू पनि भएकाे पाइन्छ । यहि समयबाट धरानमा सुधार गृहकाे स्थापना भएकाे तिगेला बताउछन् । 

 तिगेला भन्छन् ‘ २०५१ –५२ सालमा अत्यधिक मात्रामा लागु औषध सेवन कर्ताहरू बढेका थिए । कारोबार पनि अत्याधिक मात्रामा थियो । त्यो समय धरान देश भरी नै लागु औषधको हबका रूपमा हेरिने गरिन्थ्यो । नजिकका ठाउँहरूबाट पनि प्रयोगकर्ताहरू धरान आउने गरेको पाइन्थ्यो । ’
०५२ सालमा तात्कालिन नगरपालिका,  स्पाेक नेपाल र पुर्नजिवन केन्द्रले मिलेर लागुऔषाधकाे अवस्थाका बारेमा अध्यायन गरेकाे तिगेला बताउछन् । उनि भन्छन्  " हामीले अध्यानबाट धरानमा लागु औषाध गम्भिर समस्याका रूपमा पाएका थियाै पछि एमएस नेपाल र केवाइसी पुनर्जिवन केन्द्रले ०५६–०५७ मा सर्वेक्षण गर्याे र धरानकाे लागु औषाध समस्यालाई 'टाइम बम'काे रूपमा निस्कर्ष निकाल्याे ।"

तिगेलाका अनुसार  स्पाेक नेपाल र पुर्नजिवन केन्द्रले गरेकाे अनुसन्धानमा  धरानमा २० प्रतिसत संख्या रहेकाे लाहुरे समुदायमा  ४० प्रतिसत  समूया रहेकाे थियाे भने बाँकी  ६० प्रतिसत अन्य समुदायमा रहेकाे थियाे । 
पछि  उक्त प्रतिवेदन आ इसकेपछि ब्रिटिस गाेर्खा बेल्फेर धरानमा बुझाएकाे र समस्या समाधान गर्न सहयाेग नर्न आ ग्रह पनि गरेकाे उनले बताए  । उनले भने " टाटा आइसकपछी हामीले तपाइहरूकाे समुदायमा पनि ४० प्रतिसत समूया देखिएकाे छ केही गर्नु पर्या  भनेका थियाै ।  "

प्रतिबन्धित औषधि सहित पक्राउ गरेकालाई  प्रहरी लागु औषध मुद्दा चलाउन नसक्ने भएका कारण पछिल्लो समय यो बढी मात्रामा बरामद हुने गरेको डिएसपी श्रेष्ठ बताउँछन् ।

ट्रेन्ड चेन्ज
 गाउँघरमै पाइने गाजाबाट सुरू गरेर अन्य विभिन्न प्रकारका ओरल लागु औषाधको प्रयाग हुँदै  मेडिसियन ट्यावलेट तथा सिरिन्जको प्रयोग  गर्ने गरेका लागुऔषाध प्रयाेगकर्ताहरू पछिल्लो समय लागु औषधका रूपमा प्रयोग हुने गरेको फमुर्ला भने चिन्ताजनक रहेको डिएसपी बुद्ध श्रेष्ठको चिन्ता छ । प्रतिबन्धित औषधिको मात्रा मिलाएर प्रयाग गरिने फर्मुलाले लागु औषध कै काम गर्ने भए पनि प्रतिबन्धित औषधि सहित पक्राउ गरेकालाई  प्रहरी लागु औषध मुद्दा चलाउन नसक्ने भएका कारण पछिल्लो समय यो बढी मात्रामा बरामद हुने गरेको डिएसपी श्रेष्ठ बताउँछन् । 

प्रतिबन्धित लागु औषध प्रहरीले पक्राउ गरे कडा कारबाही भोग्नुपर्ने हुन्छ । तत्काल जेल सजाय हुने भएका पनि पछिल्लो समय त्यसको विकल्प खोजिन थालेको डिएसपी श्रेष्ठ भन्छन् ।  यो आर्थिक वर्षको आँकडा हेर्दा इलाका प्रहरीले बरामद गरेको प्रतिबन्धित लागु औषधिको मात्रा भन्दा  प्रतिबन्ध औषधिको परिमाणमा ठुलो अन्तर देखिन्छ ।
लागु औषधको नियन्त्रणमा प्रहरीले बढाएको सक्रियता सँगै खरिद र उपभोगमा झन्झटिला र महँगा लागु औषधको उपभोगमा कमी आएको कार्यालयले जनाएका छ । कार्यालयका अनुसार पछिल्लो समय सजिलै पाउन सकिने गाँजा र प्रतिबन्धित औषधिको  उपभोग बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७८–०७९ को  जेठ मसान्तसम्म इलाका प्रहर कार्यालयले प्रतिबन्धित लागु औषध एभिल ८० एम्पुल, लुपिजेक्सन ९५ एम्पिल, डाईजेल्याव ९४ एम्पिल, फेनारगन ३७ एम्पुल, डाईलेक्स डि.सी. १८ बेतल र खैरो हेरोईन (ब्राउन सुगर)  ५५ ग्राम ६ सय मिलिग्राम र गाँजा ६ केजी ३५० ग्राम फलेपारेको तथ्याङ्क छ । तर प्रतिबन्धित औषधि स्पास्पेन १८८४६, ओप्टाप ४३६, डेकोलक २३८८, ट्रमाओल ५१०७ ट्रमाडोल १३९९५, टपेन ४० ट्रमास्ट ५५ र इस्पास्मो प्रोक्सोभन १४२६ क्याप्सुल बरामद भएको छ । यो तथ्याङ्क तयार पारिरहँदा धरान ५ बाट दुई जना महिलालाई प्रहरीले २ केजी गाँजासहित पक्राउ गरेको छ ।

३६ जनालाई नियन्त्रित लागु औषधसहित पक्राउ गरेको जनाएको कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूलाई कार्यालयमा मुद्दा दायर नगरी विराटनगर स्थित औषधी व्यवस्था विभाग पठाएको डिएसपी श्रेष्ठ बताउँछन् ।  उनी भन्छन् ‘ प्रतिबन्धित औषधिमा लागु औषधको मुद्दा लगाउन मिल्दैन त्यसैले हामी औषधी विभागमा बढाउँछौ तर त्यहाँ बरामद मात्राका आधारमा धरैटिमा रिहा हुने गरेकाले रिहा भएर आएकाहरू पुनः प्रयोग गरेको र कारोबार गरेको पनि पाएका छौँ । ’  
पछिल्लाे समय गाजाकाे प्रयाेग पनि उत्तिकै बढ्दाे रहेकाे डिएसपी श्रेष्ठ बताउछन् । 

प्रयोगकर्ताहरू नै कारोबारी
इलाका प्रहरी कार्यालयका डिएसपी बुद्ध श्रेष्ठ भन्छन् ‘ हामी मुख्य कारोबारीसम्म पुग्न सकेको अवस्था छैन । तर धरानमा हामीले नियन्त्रणमा लिएकाहरूमा अनुसन्धान गर्दा अधिकांश प्रयोग कर्ताहरू नै कारोबारी रहेको भेटिएको छ । ’
लागु औषधको कारोबार मुख्यतया ५ तहमा हुने गरेको भए पनि प्रहरी तेस्रो तहसम्म पुग्ने गरेको इन्स्पेक्टर गजेन्द्र राय बत्ताउँछन् । उनका अनुसार डिलर, होलसेल, रिटेलर, प्रयोगकर्ता कारोबारी र प्रयोगकर्ताहरूमा तह गत कारोबार हुने गरेको भए पनि धरानमा भने प्रयोगकर्ता नै कारोबारीका रूपमा भेटिएको छ । यो वर्ष यस्ता खाले २५ जना भन्दा बढी कारोबारी पक्राउ गरेको कार्यालयले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएकाहरुसंगको प्राप्त भएको परिमाणका आधारमा अनुसन्धान गर्ने हो भने पहिलो साथी, दोस्रो घुमन्ते विक्रेता, तेस्रोमा औषधी पसल, अन्य पसल  र चौथोमा इन्टरनेट र अन्य स्रोतको प्रयोग गरेको प्रहरीले जनाएको छ । 
तिगेलागा अनुसार पुर्नजिबन केन्द्र  सहित तीनबटा संस्थाले गरेकाे अध्यानमा आफू नखाने र बिक्रीमात्र गर्ने बिक्रता वा काराेबारी पनि धरानमा ठूलाे संख्यामा रहेका थिए । 
लागू औषध सेवनकर्ता चाहिँ बढी हो तर लागु औषधको बेचबिखन हुने कारोबार भने त्यस्तो ठुलो परिमाणमा छैन

लागु औषधको ट्रान्जिट हैन 
२०७३ सालमा तत्कालीन इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी  केन्द्र खतिवडाले लागू औषधका डिलर मानिएका एक जनालाई पक्राउ गरेका थिए । धरान ११ स्थित उनकै घरबाट प्रहरीले ठुलो मात्रमा लागु औषध बरामद गरेको थियो । त्यस यता पनि धरानमा ठुलो मात्रमा लागु औषध बरामद भएको थियो । त्यही समय धरानमा लागु औषधको कारोबार गर्ने विराटनगरका २ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
२०७५ साल चैतमा धनकुटाबाट लिएर आएको २० केजी गाँजासहित ४ जनालाई धरानमा पक्राउ गरिएको थियो भने पक्राउ गरिएकाहरूलाई छुटाउन ५० हजार घुस लिएर विराटनगरबाट आएका एक कारोबारी पनि पक्राउ गरिएको थियो ।
२०७६ साल असोजमा धरान १० बाट ठुलो मात्रामा लागु औषधसहित एक कारोबारीलाई पक्राउ गरिएको थियो । पक्राउ परेका उनी धरानमा कोठा भाडामा लिएर पूर्वी बजारमा लागु औषधको कारोबार गर्ने गरेको बताइको थियो । हातहतियार सहित पक्राउ परेका उनी त्यस अघि पनि दुई पटक मुद्दामै पक्राउ गरिएको थियो ।

धरानमा केही वर्ष अघिको जस्तो अवस्था  अहिले नरहेको बताउने कमल तिगेल धरानलाई ट्रान्जिट वा हब मान्न तयार छैनन् । पछिल्लो अवस्था सुधारोन्मुख रहेको उनको बुझाई छ । लागु औषधका मुद्दाको सङ्ख्या पनि निरन्तर घट्दो दरमा रहेको छ । प्रयोगकर्ताले नै सामान्य कारोबार गर्ने गरेको इलाका प्रहरी कार्यालयको बुझाई छ ।

तर पछिल्लो समय ठुलो परिमाणमा प्रतिबन्ध औषधि बरामद हुने गरेकोले कारोबार त्यातर्फ मोडिएको हुनसक्ने आशंका गर्न सकिने प्रहरी नै बतउँछन् । मंगलबार मात्र ठुलो मात्रामा प्रतिबन्धित औषधी सहित धरान ५ झोरापाटाबाट २ जनालाई पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरीले स्पासपाम १६१० ट्याब्लेट र ट्रामडोल १५० र १२९० ट्याव्लेट बरामद गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । 
पछिल्लो समय धरानमा बरामद भएका प्रतिबन्धित लागु औषध तथा प्रतिबन्धित औषधि धरान भन्दा बाहिर कारोबार हुने भन्दा पनि धरान भित्रै खपत हुने गरेको हुनाले र बाहिरबाट ल्याइने हुनाले ट्रान्जिट वा हब भन्न नमिल्ने डिएसी श्रेष्ठ बताउँछन् । 

डिएसपी ढुण्डिराज न्यौपाने इलाका प्रहरी कार्यालय धरानको प्रमुख हुँदा धरानमा लागु औषध प्रयोगकर्ताहरू धेरै भए पनि कारोबार भने न्यून रहेको बताएका थिए । लागु औषध सम्बन्धी जनचेतना मूलक कार्यक्रम समेत चलाएका डिएसपी न्यौपानेले एक पत्रकार सम्मेलनमा भनेका थिए ‘ धरानलाई जसरी अहिले लागु औषधको हब ट्रान्जिट भनेर भनिन्छ त्यो अवस्था चाहिँ म इलाका प्रहरी कार्यालय प्रमुखको रूपमा देख्दिन । यहाँ लागू औषध सेवनकर्ता चाहिँ बढी हो तर लागु औषधको बेचबिखन हुने कारोबार भने त्यस्तो ठुलो परिमाणमा छैन । ’
सेवनकर्ताहरूले थोरै मात्रामा खुला सिमानाको फाइदा उठाएर केही परिमाणमा ल्याएर बेचबिखन गरेको भेटिए पनि ठुलो मात्रामा कारोबार हुने गरेको भने नभेटिएको उनको भनाई थियो । 
धरान ५ अति जोखिम

रेड जोन
प्राडा राजेन्द्र शर्माका अनुसार धरानमा धेरै लागु औषधको बिगबिगी २०४१ –४२ सालबाट सुरु भएको हो । उनी भन्छन् ‘ त्यो समय नविन नाम गरेका एक इन्स्पेक्टर हुनुहुन्थ्यो वहाँले हामलाईलाई बोलाएर छलफल गराउनु भएको थियो  । चौकिबारी रत्न चोक भोटेपुललाई रोड जोनमा राखिएको थियो । ’ त्यस यता निरन्तर लागु औषधका घटनाहरूमा वृद्धि हुँदै गएको जानकारहरू बताउँछन् ।
इलाका प्रहरी कार्यालय धरानले हाल पनि ६ बटा वडालाई रेड जोनमा राखेको छ । इन्स्पेक्टर गजेन्द्र रायका अनुसार धरान ५ लाई अति जोखिम मानिएको छ भने अन्य वडा ११, १४,१४, १६ र १७ लागु औषध प्रयोगकर्ताको हिसाबले रेड एरिया हुन् ।

अपराधहरूमा ९० प्रतिशत लागु औषध जोडिने 
 अपराध
आतंकवाद जस्तै गम्भीर प्रकृतिको अपराधको सूचिमा सूचिकृत लागू औषध अपराधसँग निकट अन्य सङ्गठित अपराधहरू, मानव तस्करी अवैध हातहतियार र अन्तर्राष्ट्रिय आतंकवादका गतिविधि समेत क्रमिकरुपमा विश्व समुदायमा बढ्दो छ । धरानमा पनि विभिन्न खाले अपराधहरूमा ९० प्रतिशत लागु औषध जोडिने गरेको इन्स्पेक्टर राय बताउँछन् ।
उनका अनुसार हत्या, ज्यान मार्ने उद्योग, चोरी, डकैती, अभद्र व्यवहार, कुटपिट अङ्गभङ्ग लगायतका मुद्दामा लागु औषध पनि जोडिने गरेको छ ।  

व्यक्ति, परिवार, समाज र स्वास्थ्य
लागु औषधको दुर्व्यसनले स्वयं व्यक्ति स्वयमलाई मानसिक रूपमा क्षति गर्छ नै यसको दुष्प्रभावबाट सिङ्गो राष्ट्रको समग्र आर्थिक, सामाजिक, नैतिक, सांस्कृतिक एवं आम जनस्वास्थ्यका क्षेत्रमा तत्कालीन र दीर्घकालीन नकारात्मक असर पार्दछ ।
 लागु औषध प्रयोगकर्ताकी एचआइभी पोजेटिभ श्रीमती यौन व्यवसायमा

दुर्व्यसनका कारण एचआइभी (एड्स), हेपाटाइटिस (बी), जस्तो प्राणघातक रोगहरू लाग्ने गर्दछन् । धरानमा लागु औषध सम्बन्धी पछिल्लो समय कुनै अनुसन्धान नभएको हुने दुर्व्यसनमा फसेकाहरूमा कतिमा त्यो प्रकारको रोग छ र तिनको अवस्था कस्तो छ भन्ने यकिन तथ्य भेटिँदैन तर त्यससँग सम्बन्धित काम गरिरहेका संघ संस्थाहरूका अनुसार धरानमा त्यस्ता रोगीको सङ्ख्या पनि उल्लेख्य छ ।
धरानमा एचआइभी पोजेटिभ भएकाहरू १२ सय भन्दा बढी रहेको एक संस्थाले जनाएको छ । जसमध्ये लागु औषध प्रयोग कर्ताहरूको सङ्ख्या पनि उल्लेख्य रहेको संस्थाको दाबी छ । बिरामीहरूबिच विश्वास हट्ने भएकाले पहिचान खुलाउन नचाएका एक संस्थाका अध्यक्ष भन्छन् । लागु औषध प्रयोगकर्ताकी एचआइभी पोजेटिभ श्रीमती यौन व्यवसायमा लागेकी छिन् ।

पुर्नजिवन केन्द्रका निर्देशक तिगेलाका अनुसार २०६१ तिर लागु औषध प्रयोग कर्ताहरूमा गरिएको एचआइभी परीक्षणमा ५० प्रतिशत भन्दा बढी सङ्क्रमित भेटिएका थिए । उनले भने ‘ त्यो बेला प्रयोगकर्तामा अत्यधिक एचआइभी भेटिएपछि हामीले सिरिन्ज एक्सचेन्ज कार्यक्रम गरेका थियौ । प्रयोग कर्ताले प्रयोग गर्ने सिरिन्ज हामीलाई दिन्थे र हामी उनीहरूलाई  नयाँ सिरिन्ज दिन्थ्यौ । यसो गर्दा एउटै सिरिन्जको धेरै प्रयोग हुनबाट बच्थ्यो र त्यसको परिणाम पनि राम्रो आएको थियो । ’

श्रीमान्– श्रीमती नै दुर्व्यसनमा फसेकाले उनीहरूबाट जन्मेका सन्तानहरू सडक बालबालिका हुने गरेको पाइएको इन्स्पेक्टर राय बताउँछन् । समाज भित्रै लागु औषध प्रयोगकर्ता भए पनि विभिन्न खाले डरका कारण छिमेकीहरूले उनीहरू विरुद्ध उजुरी गर्न नसकेको र सामाजिक विकृति झन् बढ्ने गरेको धरान ६ स्थित आसरा सुधार केन्द्रकी संञ्जालक समिति सदस्य शिला बज्राचार्य बत्ताउँछिन् । जसका कारण समाजमा बिखण्डन्, र अपराध मैलाउने गरेको उनको भनाई छ ।  
 पारिवारीक नियन्त्रण र चेतना कमजोर भएको भएको साथी संगत धरानको प्रमुख कारण

दुर्व्यसनीमा फस्नुको कारण
व्यक्तिहरू साथी संगतिको लहैलहैमा लागेर गाँजाबाट सुरु भएको लागु औषधको अन्तिम अवस्थामा जताततै पाइने रक्सीमा पुग्ने र त्यो अवस्थाबाट रिकभर गर्न पनि निकै गाह्रो हुने गरेको पाइएको छ ।
सुरुमा लहैलहैमा लागेर प्रयोग गर्ने गरेको भए पनि पछि क्रमशः उत्सुकता जागेर, रमाइलाका लागी, पारिवारिक तथा व्यक्तिगत समस्याका कारणले लागू औषधको दुर्व्यसनी बनेको देखिन्छ ।

धरानमा भावनामा आउने विचलनका करण लागु औषध दुर्वसनीमा फस्ने गरेको बढी पाइने गरेको तिगेला बताउछन् । उनि भन्छन्  " पारिवारीक नियन्त्रण र चेतना कमजोर भएको भएको साथी संगत धरानको प्रमुख कारण बन्यो तर पछिल्लो समय धरै चेताना आइसकेको छ । "

२०७६ सालमा प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहले लेखेको एक लेखलाई आधार मान्ने हो भने दुर्व्यसनीहरुको शैक्षिक स्थिति हेर्दा सामान्य शिक्षित ७.७५, प्राथमिक शिक्षा पासका २१.२५ माध्यमिक शिक्षा पासका ४.८९५, प्रमाण पत्र तहका २१.६५ र उच्च शिक्षा हाँसिल गरेका ०.७५ रहेका छन् ।

इलाको प्रहरी कार्यालयले  लागु औषध मुद्दामा पक्राउ गरेको र आसर सुधार गृहमा रिकभरका लागि आउने गरेकाहरूको उमेर समूह पनि १६ देखी ४० भित्रका अत्याधिक रहेको पाइएको छ । जसमध्ये पनि धरानमा १८ वर्ष देखी २५ वर्ष उमेर समूहका बढी दुर्व्यसनीमा रहेको बज्राचार्य र राय बताउँछन् ।
पछिल्ला २ स्थानीय तहको निर्वाचनमा हेर्ने हो भने दुर्व्यसनीबाट रीकभर भएकाहरूलाई समाजले जनप्रतिनिधि समेत बताएका छन् ।

रीकोभरी
धरानमा रीकभरको अवस्था पनि उत्तिकै राम्रो छ । बज्रर्चायका अनुसार पछिल्लो र दोस्रो पटक सुधार ग्रहमा गएकाहरू प्राय रीकभर भएका छन् । तर, ३ पटक भन्दा धेरै सुधा गृह बसेकाहरू भने सुध्रन गाह्रो हुने उनी बताउँछिन् ।  धरानमा रीकभर भएकाहरू विभिन्न क्षेत्रमा उत्तिकै अब्बल रूपमा काम गरिरहेका छन् । समाजले पनि रीकभर हुनेहरूलाई सजिलै स्वीकार गरेको अवस्था छ । पछिल्ला २ स्थानीय तहको निर्वाचनमा हेर्ने हो भने दुर्व्यसनीबाट रीकभर भएकाहरूलाई समाजले जनप्रतिनिधि समेत बताएका छन् । कतिपय रीकभरहरु सुधार गृह सञ्चालन गरेर बसेका छन्  ।

स्थानीय सरकारको भूमिका
पुर्नजिवन केन्द्रको सुरुवाती समयका धरान उपमहानगरपालिकाले घर भाडा उपलब्ध गराई दिएको स्मरण गर्दै केन्द्रका अध्यक्ष तिगेला भन्छन् ‘ मनोज म्यानेङ्वो मेयर हुँदा पुर्नजिवन केन्द्रको घर भाडा नगरपालिकाले तिरिदिन्थे । त्यतिखेर विभिन्न सचेतनाका कार्यक्रमहरू पनि भएका थिए । तर पछि कर्मचारीहरूले नगरपालिका चलाउन थालेपछि लागु औषध दुर्व्यसनीको नियन्त्रणका लागी कुनै काम भएको देखिँदैन ।’
पछिल्लो समय लागु औषधले धरानको बदनाम गरेको भन्ने धारण बनाए स्थानीय सरकारले त्यसको निर्मूल गर्न चासो नदिएको तिगेलाको भनाई छ ।
धरान उपमहानगरपालिकाका नवनिर्वाचित उपमेयर आइन्द्र विक्रम बेघा भन्छन् ‘ धरानमा खानेपानी पछिको ठुलो समस्या भनेका लागु औषध हो । यसको नियन्त्रणका लागि विशेष कार्य योजना बनाएर उपमहानगर अगाडी बढ्ने छ । ’ 

धरानमा लागु औषध ठुलो समस्याका रूपमा पहिचान भए पनि त्यसको नियन्त्रणका लागी स्थानीय सरकारले अनुसन्धान मूलक कुनै कार्य गरेको देखिँदैन जस कारण प्रयागकर्ता तथा कारोबारहरूको सङ्ख्या  आर्थिक, सामाजिक, पारिवारिक तथा मानोविज्ञा , स्वास्थ्य अवस्था लगायतका पक्षहरूको बारेका जानकारी हुँदैन । यस्तो जानकारी बिनै यसको नियन्त्रणमा ल्याइएका कार्यक्रमहरू प्रभावकारी नहुने देखिन्छ । लागु औषधको नियन्त्रण गर्न सबैभन्दा पहिला यसको गहिराइ मा पुग्नु आवश्यक देखिन्छ ।