सुनसरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोसी ब्यारेजबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा तेलसहित भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ ।
युपी ७५ एम ३६९५ नम्बरको भारतीय मालवाहक ट्रकमा लोड गरेर लाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प भारदहबाट इन्स्पेक्टर किसमान तामाङको नेतृत्वमा खटिएको टोलीले चेकजाँचको क्रममा शुक्रबार सो परिमाणमा अवैध रिफाइन्ड पामआयल बरामद गरेको हो ।
नेपाली कागजात र बिल विजक केही नभएको १५ सय टिन अवैध रिफाइन्ड पामआयलसहित भारतीय ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल सप्तरीका प्रमुख एसपी प्रदीप खड्काले जानकारी दिए ।
उक्त तेलको बजार मूल्यअनुसार ५४ लाख ९६ हजार र ट्रकको ५५ लाख गरी १ करोड ९ लाख ९६ हजार मूल्याङ्कन गरी भन्सार कार्यालयमा बुझाएको उनको भनाइ छ ।
चेकजाँचको क्रममा सशस्त्र प्रहरीले भन्सार नतिरेको ठूलो परिमाणमा तेल बोकेको मालवाहक ट्रकसहित चालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त देहान बस्ने ३८ वर्षका अवध बाबु र सह–चालक २३ वर्षका धीरज कुमारलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरू जोगबनी नाकाबाट नेपाल प्रवेश गरेको बुझिएको छ ।