विराटनगर । मोरङको जहदा गाउँपालिका–४ मुखिया टोलीकी एक वृद्धा महिलाको शव पोखरीभित्र भेटिएको छ ।
घरबाट माइत जान भनेर हिँडेकी जहदा गाउँपालिका–४ स्थित पोखरीको पानीमा डुबेर मृत्यु भएको अवस्थामा ६५ वर्षीया नीरबुधियादेवी मुखियाको शव शनिबार फेला परेको हो । मृत्युको कारण प्रष्ट नभएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
शुक्रबार साँझ ७ बजेतिर जहदा–४ सोहलस्थित माइत जाने भनेर घरबाट हिँडेकी महिला पोखरीभित्र मृत फेला परेपछि घटनाको अनुसन्धान थालिएको श्रेष्ठले बताए । घोप्टो परेको अवस्थामा बिहान ७ः३० बजेतिर शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पोखरी स्थानीय बटेश्वर मुखियाको हो । पोखरी निकै गहिरो रहेको स्थानीयले बताएका छन् ।
डिएसपी श्रेष्ठका अनुसार माइतीपक्ष सम्पर्कमा नआएका कारण वृद्धा माइती घर पुगिन् कि पुगिनन् भन्ने बारेमा खुल्न सकिरहेको छैन । शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल पठाएर इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर शैलेश न्यौपाने नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ ।
‘माइत हिँडेकी महिला पोखरीभित्र मृत फेला परे पनि मृत्युको कारण प्रष्ट भइसकेको छैन । घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ’ डिएसपी श्रेष्ठले भने, ‘शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । पोष्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण यकिन हुनेछ ।’