भद्रपुर । झापाको पूर्वीनाका काँकडभिट्टा स्थित मेचीभन्सारबाट पास भएका ३ वटा भारतीय नम्बरको ट्रकको प्रज्ञापन पत्र नक्कली भएको पुष्टि भएको छ ।
एघार दिनअघि मेचीनगर जोरसिमलबाट नियन्त्रणमा लिएका ३ वटा मालबाहक भारतीय ट्रकको प्रज्ञापन पत्र नक्कली भएको पुष्टि भएको हो । गत जेठ २२ गते राति १२ वजे मेची भन्सारको मुल गेटबाट जोरसिमल हुँदै पश्चिम गइरहेको आलु र विरुवा बोकेको ३ वटा भारतीय नम्बरको ट्रकको प्रज्ञापन पत्र नक्कली भएको राजस्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ ।
आलु र विरुवा बोकेको ३ वटा भारतीय ट्रकको प्रज्ञापन पत्र नक्कली भएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थ खनालले पुष्टि गरेका छन् । नियन्त्रणमा लिएका ट्रकहरू डब्लुबी ३७ वि ७३८३, एनएल ०१ जी ९९५२ र डब्लुबी १९ जे ७९२० का ट्रक र सामान जफत गरिएको उनले जानकारी दिए ।
जफत गरिएको विरुवा नष्ट गरिएको र केहि आलु कुहिएको थियो भने करिव ८ लाख रुपैयाँको आलु बिक्री गरिएको खनालको दावी छ । नक्कली प्रज्ञापन पत्रसँगै सो सामान भन्सार गरेर पठाउने व्यक्तिको पान बिल समेत सुरक्षित रहेकोले भारतबाट सामान पठाउने र काँकडभिट्टाबाट सामान पश्चिम पठाउने एजेन्टका विषयमा अनुसन्धान भईरहेको खनालले जानकारी दिए ।
लालिगुँरास फर्मका विषयमा अनुसन्धान भईरहेको खनालले वताए । आरोप पुष्टि हुने वित्तिकै पक्राउ गरिने उनको भनाइ छ । मेची भन्सारमा कुनै अभिलेख नदेखिएको भन्सारले जनाएको उनले बताए ।
प्रज्ञापन रहेको ट्रकहरूमा क्रमशः ६ हजार ५ सय ९३, ६ हजार ५ सय ९३ र ६ हजार ५ सय ५३ रुपैयाँ भन्सार दाखिला भएको रसिद काटिएको सशस्त्र प्रहरी २ नम्बर गण झापाका प्रवक्ता डिएसपी प्रेम भण्डारीले बताए ।
प्रज्ञापन पत्र नक्कली हो भन्ने कुरा थाहाँ नभएको डिएसपी भण्डारीले बताए । आशङ्का लागेपछि मात्र चेकजाँच गरिने र ट्रकभित्र सामान कति छ, के के छ, भनेर हेर्ने अधिकार प्रहरीलाइ नभएको उनको भनाइ छ ।
मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओलीले ३ वटै ट्रकको प्रज्ञापन पत्र कार्यालयको सिस्टममा नभएको दावी गरे । भन्सार कागजात नक्कली बनाएर गाडी लाने विषयमा सम्बन्धीत कार्यालयलाई अनुसन्धानका लागि परिपत्र पठाईसकिएको ओलीको भनाई छ ।
मेची भन्सार कार्यालयबाट जाँचपास गरी राजस्व तिरेर छुटेका ३ वटै भारतीय नम्बर प्लेट भएका ट्रकहरु सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट काँकडभिट्टा र राजस्व अनुसन्धान कार्यालय इटहरीको संयुक्त टोलीले जोरसिमलबाट नियन्त्रणमा लिएको थियो ।