विराटनगर । भन्सार छली गरी ल्याएको मकैसहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । 

विराटनगर–६ केसलियाबाट भन्सार छलेको पाँच बोरा मकैसहित ट्रक मोरङ प्रहरीले बुधवार राति नियन्त्रणमा लिएको हो ।

२३ लाख ७५ हजार मूल्य बराबरको ट्रकमा लोड भएको सामान भन्सार छलेको आशंका मोरङ प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । 

ना ४ ख १६७८ नम्बरको ट्रकमा लोड गरेर ल्याएको मकै भन्सार छलेको आशंका गरी नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसी दिपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीले बरामद गरेको मकै सुनसरीको देवानगञ्ज ५ का शिव कृषि जन्य बस्तु खरिद बिक्री केन्द्रको रहेको प्रहरीले जनाएको छ । प्रहरीलाई झुक्याउन नक्कली बिलबिजक बनाएको पाइएको छ । शिव कृषि जन्य बस्तु खरिद बिक्री केन्द्रले भारतदेखि भरिया प्रयोग गरी तस्करीको मकै देवानगनञ्जमा ल्याएर राख्ने र त्यसपछि नक्कली बिलबिजक बनाएर बजार पठाउने गरेको पाइएको छ । मोरङ प्रहरीले बरामद गरेको मकै सुनसरीको दुहबी पठाउँदै गर्दा केसलियादेखि नियन्त्रणमा लिएको हो ।

यस्तै गरी विराटनगर–१२ स्थितबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउँदै गरेको १ लाख ९४ हजार मूल्य बरावरको विभिन्न प्रकारका लत्ता कपडा पनि प्रहरीले बरामद गरेको छ । बरामद गरेको कपडा तस्करी धन्दामा लागेका गुढु भन्ने व्यक्तिको रहेको बुझिएको छ । उनले क्यारिङमार्फत प्रहरीको आँखा छली गरी भारतदेखि तस्करी गरेर कपडा बजार पुर्‍याउने गरेका छन् । उनले क्यारिङ गरेबापत निश्चित रकम लिने गरेका छन् ।