सुनसरी । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजबाट खटिने गस्ती टोलीले  चिनी बरामद गरेको छ ।

भारतीय बजारबाट सीमामा तैनाथ सुरक्षाकर्मीको आँखा छलेर ल्याइने चिनीसहितको विभिन्न सामान भन्सारबाट खटिने गस्ती टोलीले धमाधम बरामद गर्न थालेको हो ।

सुनसरी भन्सार कार्यालयबाट केही दिनअगाडि खटिएको गस्ती टोलीले भोक्राहा–नरसिंह गाउँपालिकामा पर्ने फूलचोकबाट सार्वजनिक यातायातको साधनमा लोड गरेर लगेको ३९ हजार बराबरको १३ बोरा ६ सय ५० केजी चिनी रामधुनी नगरपालिका–३ मा पर्ने कान्छी चोकबाट बरामद गरेको थियो ।

शनिबार राति कोसी गाउँपालिका–८ स्थित भण्टाबारी चोकबाट २४ हजार बराबरको चिनीसहित, जिरा प्याक, भूजिया, तोरी तेल, धनियाँ गरी ३२ हजार ६ सय ७० रुपैयाँ बराबरको सामान भन्सार कार्यालयले बरामद गरेको छ ।

भारतीय बजारबाट चोरीपैठारी गरी ल्याएर भन्सार छल्ने क्रम बढेको हुँदा आफूहरूले गस्ती गर्ने क्रममा पछिल्लो समय चिनीसहितका सामानहरू नियन्त्रणमा लिने क्रम बढेको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजका निमित्त प्रमुख भन्सार अधिकृत पर्शुराम दाहालले जानकारी दिए ।